अपडेट 
२०७७ कार्तिक ७, शुक्रबार ०६:३७

जनकपुरधाम । बडादशैँ पर्वको सातौ दिन शुक्रबार (आज) शक्तिपीठहरुमा फूलपाती भित्र्याउने भएको छ ।

जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीसहित ग्रामीण क्षेत्रमा पनि शुक्रबार नै फूलपाती भित्र्याउने भएको हो । राजदेवी मन्दिरमा शुक्रबार बिहान बेल टिप्ने कार्यक्रम गरिने छ । बिहीबार निमन्त्रणा गरेको बेल टिपेर पूmलपाती कार्यक्रम गर्न लागेको हो । राजदेवी मन्दिरका समेत पुजारी रहेका राममन्दिरका महन्थ राम गिरी वैष्णवको नेतृत्वमा बाजागाजासहित को श्रद्धालुभक्तजनको टोली गएर बेल टिपेर ल्याउने छन् । सो अवसरमा धनुषाका स्थानीय प्रशासन, सुरक्षानिकायका प्रमुख, नेपाली सेनाको टोली, सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि, राजनीतिक दल, स्थानीय युवा क्लव लगायत श्रद्धालुभक्तजनको सहभागीता हुने गरेको छ । कोरोना महामारीका कारण बढी भिडभाड नगरेर बेल टिप्ने कार्यक्रम गरिन भएको छ । रामानन्द चोक लगायत जनकपुर र ग्रामीण क्षेत्रमा पनि धार्मिक विधि अनुसार शुक्रबार नै बेल टिप्ने कार्यक्रम गर्न लागेको हो । यसअघि बिहीबार राजदेवीसहित मिथिला क्षेत्रमा ‘बेलन्यौती’ विधि सम्पन्न गरिएको छ ।

देवी दुर्गाका प्रतिमा बनाइएका देवी दुर्गाको आँखा उघार्ने प्रयोजनका लागि ‘बेलन्यौत’ विधि गरिने मैथिल परम्परा रहँदै आएको छ । ‘बेलन्यौत’ को अर्थ ‘बेललाई निम्ता दिनु’ भन्ने हुन्छ । मिथिला क्षेत्रमा बडादशैँ पर्वमा माटो मुछेर बनाइएका देवी प्रतिमाको आँखा सप्तमीका दिन खोल्न (उघार्न) बेल (फल) को भेट्नो प्रयोग गरिने परम्परा छ । यसका लागि एक दिनअघि षष्ठी तिथिका दिन मध्याह्नपछि बस्ती नजिकको बेलको रुखमा चढेर एउटा बेल फललाई रातो रुमालले बाँध्ने विधिलाई मिथिलामा ‘बेलनौत’ भन्ने गरिन्छ । षष्ठीका दिन मिथिलाका प्रत्येक गाउँ÷नगर बस्तीमा यो विधि सम्पन्न गर्ने तयारी छ । दशहरा (दशैँ) पर्वको छैटौँ दिन यो विधि उत्सवमय वातावरणमा मनाउने मिथिलाको परम्परा छ । यद्यपि यसपालि कोभिड–१९ सङ् क्रमण जोखिमले बाजागाजा र भीडभाड केही नगरी केही प्रतिनिधिले बेलको रुखमा पुगेर यो विधि सम्पन्न गर्नेछन् । सङ् क्रमण जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले भीडभाड नगर्न, नियमित पूजा आराधनाबाहेक देवी शक्तिपीठ र मन्दिरमा मेला उत्सव लगाउन नपाउने गरी नवरात्रभरिका लागि घटस्थापनाकै दिन निषेधाज्ञा जारी गरिसकेको छ ।

षष्टीका दिन वैदिक मन्त्रोच्चारणसहित निम्ता गरेर बाँधिएको बेलको फल भेट्नुसहित सप्तमीका दिन टिपेर सोही फलको भेट्नुले प्रतिमाको आँखा कोट् याएर उघार्ने मिथिला परम्पराअनुसार ‘बेलन्यौत’बिहीबार सम्पन्न गरिन लागिएको हो । षष्टीका दिन निम्ता गरिएको बेल टिपेर ल्याई निर्मित देवी प्रतिमाको आँखा बेलको भेट्नुले खोस्रेर उघारिएपछि सर्वसाधारणको दर्शनका लागि खुला गरिने परम्परा रहेको छ । पर्व विशेषमा माटो मुछेर बनाइएका प्रतिमाबाहेक अघिदेखि नै काठ वा धातुका देवी प्रतिमाका लागि आँखा उघार्न आवश्यक नभएकाले त्यस्ता प्रतिमास्थलमा बेलनौत विधि आवश्यक नरहेको मिथिला संस्कृति परम्पराका ज्ञाता बताउँछन् । यद्यपि देवी पूजनमा प्रयोग हुने बेलपत्रका लागि देवी मन्दिर व्यवस्थापनले पनि यो विधि आयोजन गर्दै आएका छन् ।

पर्व विशेषमा बनाइएका देवी प्रतिमा विजयादशमीका दिन धार्मिक महत्वका नदी वा तलाउमा विसर्जन गरिने मैथिल परम्परा छ ।

Comment


Related News

Latest News

Trending News