बाढीको प्रलयलीला भोग्दै आएका कमला नदी किनारका वासीहरु यस नदीलाई अभिशापको रुपमा मान्दै आएका छन् । अभिशाप अर्थात् श्राप । जसले दुःखमात्र दिन्छ । कमला, कोशी, बलानलगायतका नदीहरुको बाढीलीलाबाट आक्रान्तहरुको पिडा सुरुदेखि नै साहित्यको विषय बन्दै आएको छ । साहित्यकार विपी कोइरालाका कथा र उपन्यासहरुमा कोशी बाढीको त्रासदीको सुन्दर चित्र हेर्न पाईन्छ ।
मैथिली कथाकार राजकमल,यात्रीलगायतका साहित्यकारहरुले पनि कोशी र कमला नदीको त्रासदीलाई वर्णन गरेका छन् भने डा.धीरेन्द्रको ‘ डाईनकोशी’ नामक एकांकी अत्यन्तै लोकप्रिय छ । यस भेगका लोकगीत, लोकजिवन तथा लोक व्यावहारमा समेत यी नदीहरुको वर्णन छ । मलाहा विनहरु कमला र कोईलालगायतका देवी देवताहरुलाई जातीय देवताको रुपमा स्वीकार गरी पूजा अर्चनासमेत गर्दै आएका छन् । स्थानीय लोकविश्वास अनुसार डाईनबोक्सी ) भनिएका यी नदीहरुको नियन्त्रण , बाढी पिडितहरुको व्यवस्थापन तथा जलसम्पदाको सदुपयोग नेपाल र भारतमा चुनावी नारासमेत बन्ने गरेको हामील ेखेकै हौं । पानी विद्युत अर्थात् ईन्धनको सबभन्दा सस्तो र सुलभ श्रोत हो । सिंचाई, पशुपालन, ठुलठुला उद्योग , यातायातका साथै भूतलको पानी सक्दै गएको वैश्विक अवस्थामा खानेपानीको मुहानको रुपमा समेत यी नदीहरुको पानीलाई सदुपयोग गर्न सक्ने सम्भावना छ । नदी,नाला,झडना,समुद्रलगायतका पानीका श्रोत विश्वमा बरदानको रुपमा व्याख्या गरिए पनि कमला, कोशी, बलान, बागमतीजस्ता ठुल ठुला नदीहरु नेपाल र भारतमा अभिशापको रुपमा किन व्याख्या गरिन्छ ?
यो मननीय विषय हो । यसमा दुईमत हुनै सक्दैन कि नेपाल र भारतमा बाढीको प्रलयलीला मचाउने यी नदीहरुको वैज्ञानिक व्यवस्थापन तथा सदुपयोग दुबै देशका सरकारले हालसम्म गर्न सकेका छैनन् । दुबै देशका सरकारको अदूरदर्शी नीति तथा अवैज्ञानिक कार्ययोजनाका कारण बरदान हुनु पर्ने यी नदीहरु आमनागरिकको लागी अभिशाप बन्न पुगेको हो । भारतका ठुला नदीहरुलाई एउटै मुहानमा जोड्ने दीर्घकालीन योजनामाथि काग्रेस सरकारले नै काम थाली सकेको छ भने नेपालमा कमला–कोशी डायभर्सन योजना बारे वर्षौदेखि सुनिदै र लेखिदै आएको छ तर दुबै देशका यी योजनाहरु हालसम्म पूरा हुन सकेको छैन । कुरा कमलाको गरौं । मूल बहाव(धार ) परिवर्तन गर्ने ठुला नदीहरुका चरित्र हुन् । धनुषाकै कुरा गरौं भने जलाद र कमला नदीले पटक पटक आफ्नो धार परिवर्तन गरेको हामीले देखेकै हौं । नदीहरु मूल प्रवाह परिवर्तन गर्नुको अर्थ गाउ“ र घर परिवार विस्थापित हुनु तथा पुराना धार वगरमा परिवर्तन हुनु हो । पछिल्लो पटक २०६५ सालमा आएको बूढी बाढीको कारण कमला नदीले आफ्नो मूल प्रवाह परिवर्तन गर्यो । मूल प्रवाह परिवर्तन गरेपछि सोनापाडादेखि ईनर्वासम्मका एक दर्जन गाउ“का सर्यौ घर परिवार विस्थापित भए ।
झण्डै १४ हजार विगहा खेती योग्य जग्गा बगर भन्नौ वा नदी उकासको रुपमा परिवर्तन भयो । नदीले घर खेत बगाएका सर्यौ परिवार रातारात सुकुम्बासी बने । २०६५ पछि बग्न थालेको कमला नदी नियन्त्रण गर्न भारत सरकारको सहयोगमा तटबन्ध निर्माण गरिए पनि बेला बेला तटबन्ध भत्किने अनि आम नागरिकको घर खेत बर्बाद गर्ने क्रम रोकिएको छैन । अचेल यिनै १४ हजार नदी उकास जग्गालाई सदुपयोग गर्न नया“ योजनामाथि गृहकार्य सुरु भएको छ । कमला नगरपालिका र जनकनन्दनी गाउ“पालिकामा रहेको यस नदी उकास जग्गालाइ माछापालन,तरकारी खेती,मखाना,सिंघाराआदि जलमा हुने बालीको खेती तथा कृषि पर्यटनको रुपमा विकसित गर्ने योजनामाथि काम थालिएको छ । कमला किनारकै पूर्व मन्त्री रामचन्द्र झाको पहलमा सुरु भएको यो योजना सफल भयो भन्ने पूर्वी धनुषाको आर्थिक गतिविधि ह्वातै बढने पक्का हो । संघीय,प्रदेश तथा स्थानीय सरकारको संयुक्त पहलमा यो बहुउद्येशीय योजना सफल हुने कुरामा स्थानीयवासी विश्वस्त देखिन्छन् । पहिलो चरण संघीर र प्रदेश सरकारका मत्स्यविज्ञहरुले कमला किनारका नदी उकास जग्गाहरुको स्थलगत निरीक्षण तथा सम्भाव्यता अध्ययन गरी सकेर संघीय कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुषाललाई बुझाई सकेको छ ।
मन्त्री भुषालका अनुसार विज्ञहरुले दिएको सुझाव सकारात्मक छ । यस योजनामाथि काम गर्न सकिन्छ । मन्त्री भुषाले स्वयं पनि कमला उकास जग्गाको स्थलगत निरीक्षण गरे अनि नदी उकास १४ हजार विगहा जग्गाको सदुपयोग गर्न राष्ट्रिय गौरवको आयोजना बनाउने प्रतिवद्धता समेत व्यक्त गरे । स्थलगत निरीक्षणमा सहभागी प्रदेश २ का भूमि व्यवस्थामन्त्री शैलेन्द्र साहलगायतका मत्स्य विज्ञहरु पनि सकारात्मक देखिए । प्राविधिक रुपमा योजना कार्यान्वयन हुनसक्ने प्रयाप्त संभावना भए पनि व्यावहारिक रुपमा भने झंझटिलो अवश्य छ । कारण १४ हजार विगहा जग्गाका हजार अधिक जग्गाधनि छन् ।
आयोजना सहकारी मोडलमा लगिने कुरा हुदै छ तर जग्गाधनिहरुलाई योजनाको मोडल,जग्गाको स्वामित्वआदि बारे चिन्ता भने अवश्य छ ।