अपडेट 
२०७७ कार्तिक ९, आईतवार १०:५५

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कुनै पनि अस्पतालको गेटभित्र प्रवेश गरेका बिरामी उपचारबिना फर्कनु नपर्ने बताउनुभएको छ । उहाँले बिरामी उपचारबिना फर्कनु नपरोस् भनेर गरीब, विपन्न र अलपत्र व्यक्तिको आकस्मिक उपचार निःशुल्क गर्नेगरी व्यवस्था मिलाइएको जानकारी दिनुभएको हो ।

बडादशैंको अवसरमा शुभकामना दिँदै मन्त्री ढकालले परिस्थितिको बाध्यतानुरुप चाडपर्व मनाउन आग्रह समेत गर्नुभएको छ । कोरोना रोगको रोकथाम तथा नियन्त्रणका लागि मास्कको उचित प्रयोग, भौतिक दुरी कायम र पटक–पटक साबुनपानीले हात धुने वा स्यानिटाइजरको प्रयोग गर्नु नै उचित उपाय भएको स्मरण गराउनुभएको छ । ‘दशैँ लामो समयदेखि हामीले मनाउँदै आएको एकता र पुनःर्मिलनको चाड हो, आफन्तका बीचमा भेटघाट र शुभकामना आदानप्रदान गरेर अत्यन्तै हार्दिकता र मित्रताका साथ मनाइने आशीर्वाद लिने र दिने मानवीयताको चाड हो ।’ मन्त्री ढकालले भन्नुभएको छ, ‘यस्ता चाड मनाइरहँदा विगतमा पनि हामीले स्वास्थ्य, मित्रता र सामाजिक शान्तिलाई ध्यान दिने तथा छिमेकीलाई प्रतिकूल नहुने गरी मनाउने गरेका हौँ । यस पटक कोरोना महामारीका कारण अझै बढी ध्यान दिनुपर्ने देखिएको छ ।’

मन्त्री ढकालले स्वस्थ्य नागरिकाको उत्पादनमा ध्यान दिँदै निरोगी नेपालका लागि काम अघि बढाइएको पनि जनाउनुभएको छ । उहाँले संविधानमै सुनिश्चित स्वास्थ्यको मौलिक हकको पूर्ण कार्यान्वयनका लागि सरकारले काम गरिरहेको र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्पूर्ण नागरिकको जीवन रक्षाका लागि सदैव प्रतिबद्ध रहेको स्पष्ट गर्नुभएको छ । उहाँले सबै सरकारी, निजी तथा समुदायबाट सञ्चालित अस्पताललाई कोभिड–१९को परीक्षण तथा उपचार र अक्सिजन, आवश्यक औषधि तथा उपकरणको अभाव हुन नदिन मन्त्रालयले ठोस योजनासहित प्रभावकारी व्यवस्था मिलाएको जानकारी दिनुभएको छ ।

Comment


Related News