अपडेट 
२०७७ कार्तिक ९, आईतवार २०:१७

अतिवादी इस्लामिक संगठन अलकायदाका वरिष्ठ नेता अबु मुहसिन अल मास्री अफगानी सेनाको कारबाहीमा मारिएका छन् । अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले शनिबार ट्वीटमार्फत यसको जानकारी दिएको हो ।


मास्री अमेरिकी गुप्तचर निकाय एफबीआईको मस्ट वान्डेट सुचीमा थिए । अमेरिकाले उनीविरुद्ध विदेशी आतंकवादी संगठनलाई भौतिक सहयोग र स्रोत उपलब्ध गराएको र अमेरिकी नागरिकहरुको हत्याको षड्यन्त्र रचेको अभियोग लगाएको थियो । अल कायदाका दोस्रो ठूलो नेता मानिने अल मास्री घान्जी प्रान्तमा भएको विशेष कारबाहीका क्रममा मारिएको निर्देशनालयले जनाएको छ । यस विषयमा अमेरिकी टिप्पणी गर्न एफबीआईले भने अस्विकार गरेको छ । एफबीआईका अनुसार अल मास्रीको अर्को नाम हुसम अबद अल रउफ हो र उनी इजिप्टका नागरिक थिए । गत महिनामात्रै अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अल कायदाका २ सयभन्दा कम  कार्यकर्तामात्रै अफगानिस्तानमा बाँकी रहेको दाबी गरेका थिए । 

यही महिना, अमेरिकाले तालिवानी शासकहरुलाई अफगानिस्तानमा सत्ताच्युत गरेको १९ वर्ष पुुगेको छ । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा हमला गर्ने अलकायदालाई तत्कालीन समय तालिवानले संरक्षण गरेको थियो । यद्यपी, अहिले तालिवानलाई सत्तामा फर्कनका लागि अमेरिकाले नै सघाइरहेको छ, गत फेब्रअरीमा तालिवानसँग वार्ता गरेपछि अमेरिकाले निरन्तर रुपमा अफगानिस्तानबाट आफ्ना सेना फर्काइरहेको छ ।अमेरिका–तालिवानबीचको सहमतिअनुसार अफगानिस्तानबाट मेइ २०२१ सम्म विदेशी सेना फिर्ता हुनेछन्, यसको बदलामा तालिवानले आतंकवादी गतिविधिको प्रतिरोध गर्ने ग्यारेन्टी गरेको छ ।

स्थायी युद्धविराम गर्ने र अफगान सरकारसँग तालिवानले पावर सेयरिङ गर्ने सहमति बनिसकेको छ । यही सहमतिमा टेकेर अन्तर अफगान शान्ति प्रक्रिया गत महिनाबाट दोहामा सुरु भएको थियो । वार्ताका र शान्ति प्रक्रियाका बाबजुद अफगानी सेना र तालिवानबीच पछिल्ला साताहरुमा लडाइँ पनि चलिरहेको छ । गत साता अमेरिकी विशेष दूत जाल्मे खलिलजादले  प्रतिवद्धताहरु पालना गरेर देशमा हिंसा कम गर्न तालिवान सहमत भएको जनाएका थिए । 

Comment


Related News

Latest News

Trending News