सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकाले अत्यावश्यक बाहेकका सबै सेवा स्थगित गरेकाे छ । ३१ जनामा काेराेना संक्रमण देखिएपछि कार्तिक १८ गतेसम्मका लागि अत्यावश्यक बाहेकका सेवा स्थगित गरेको हो ।
नगरपालिकाले बुधवार सूचना जारी गर्दै कात्तिक ४ र ७ गते गराइएको परिक्षणमा संक्रमण देखिएपछि रोकथाम तथा नियन्त्रणका लागि सेवा स्थगित गरेको हो । कार्यालय मातहतका वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि स्थगित गरिएको जनाएको छ । यसैगरी, समुदायस्तरमा फैलिएको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न वडा नम्वर १० र ११ मा पूर्ण रुपमा लकडाउन र सिल गरिएको सूचनामा उल्लेख छ ।
अर्को सूचना जारी नभएसम्म कोरोनाबाट जोगिन उच्च सतर्कता अपनाउन तथा स्वास्थ्य मापदण्डको पालना गर्न पनि नगरपालिकाले आग्रह गरेको छ ।