अपडेट 
२०७७ कार्तिक १४, शुक्रबार १६:४३

बारामा प्रहरी र स्थानीयबीच भएको झडपको बारेमा सत्यतथ्य छानबिन गर्न समिति गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाराले घटनाबारे छानबिन गर्न प्रशासकीय अधिकृत सुरेन्द्र यादवका संयोजकत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत प्रहरी निरीक्षक सुरेन्द्र यादव, सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका सशस्त्र प्रहरी निरीक्षक राजेश्वर साह र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाराका बरिष्ठ अनुसन्धान सहायक शोभाकान्त चौधरी सदस्य छन् । समितिलाई सत्य तथ्य बुझेर ७ दिनभित्र प्रतिवेदन पेश गर्नेगरी जिम्मेवारी दिइएको जिल्ला प्रशासन कार्यालय बाराले जारी गरेको सूचनामा उल्लेख छ ।

झडपमा परी तीन जना प्रहरी र एकजना १४ वर्षीय बालक घाइते भएका थिए । भारतबाट भन्सार छली गरी ल्याएको भन्दै प्रहरीले तीन वटा मोटरसाइकल र ७ बोरा प्याज कात्तिक १२ गते बरामद गरेको थियो । बरामद गरेको प्याज र प्याज बोक्न प्रयोग भएका तीन वटा मोटरसाइकल प्रहरीले इलाका प्रहरी कार्यालय कबहीमा राखेको थियो । बरामद भएका मोटरसाइकल र प्याज लिन जिल्ला प्रहरी कार्यालयबाट गाडी गएको थियो । प्याज गाडीमा लोड गरेर राति ८ः१० बजे जिल्ला प्रहरी कार्यालय बारा ल्याउने क्रममा स्थानीयले गाडी रोकेर ढुंगामुढा गरेका थिए ।

सोही क्रममा प्रहरीले भिडलाई नियन्त्रणमा लिन १२ राउण्ड हवाई फायर गरेको थियो । घटनामा प्रहरीतर्फ प्रहरी सहायक निरीक्षक विरेन्द्र गिरी सहित तीन जना घाइते भएका थिए भने सुवर्ण गाउँपालिका– २ कबहीगोठ बस्ने १४ वर्षीय रञ्जनकुमार यादवको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक कृष्ण पंगेनीले प्रतिरक्षा गर्ने क्रममा हवाई फायर गर्नुपरेको बताएका छन् । उनले बालकको टाउकोमा गोली लागेको चोट नभएको दावी समेत गरेका छन् ।

Comment


Related News

Latest News

Trending News