अपडेट 
२०७७ कार्तिक १५, शनिबार १८:४६

पटकपटक बन्द हुँदै खुल्दै गरेको नेपाल–चीनबीचको उत्तरी नाका तातोपानी सुख्खा बन्दरगाह कोभिड १९ रोकथामका लागि स्वास्थ्य मापदण्ड अपनाई सञ्चालनमा आएको छ । कोरोना महामारी र बाढी पहिरोको कारण पटकपटक बन्द भएको नाका बिहिबारबाट खुलेपछि नेपाल तर्फ समान आयात हुन थालेको छ ।

२०७२ सालको भूकम्पपछि लामो समय बन्द भएर खुलेको तातोपानी नाका केही समयमा नै पुनः बन्द भएको थियो । बीचमा खुलेको नाका पछिल्लो पटक कोरोना सङ्क्रमणको जोखिमका कारण पुनः बन्द हुन पुगेको थियो । तर अहिले भने कोरोना सङ्क्रमण रोकथामका लागि नाकामा उच्च सावधानी अपनाउँदै चिनियाँ व्यापारीले अलपत्र परेको नेपाली व्यवसायीका सामान नेपाल पठाउन थालेका हुन् ।अहिले नेपाल तर्फको पुरानो भन्सार यार्डमा चिनियाँ कन्टेनरले नै सामान पुर्याउन आउने गरेको छ । तातोपानी भन्सार सुख्खा बन्दरगाह कार्यालयका प्रमुख लालबहादुर खत्रीले स्वास्थ्य मापदण्डको नयाँ मोडालिटी लागू भएपछि सामान आयात शुरु भएको बताउनुभयो । श्रमिकहरुलाई स्वास्थ्य मापदण्ड सहित आइसोलेटेड क्षेत्रमा सामान लोड अनलोड गर्ने व्यवस्था मिलाइएको पनि प्रमुख खत्रीले बताउनुभयो ।अहिले मितेरी पुल वारीसम्म चिनियाँ कन्टेनरले सामान ल्याइदिने गरेका छन् । चिनियाँ पक्षले नेपालको पुरानो भन्सार यार्डमा सामान ल्याइदिने र त्यहाँबाट  चिनियाँ कन्टेनर फर्किएपछि मात्रै नेपाली कामदार र नेपालको कन्टेनर जाने व्यवस्था मिलाइएको छ । लामो समय नाका सञ्चालन नहुँदा स्याउ लगाएतका खाद्य सामग्री आयात गर्ने व्यापारी मर्कामा परेका थिए । आफूहरुले आयात गरेको स्याउ तीन लटसम्म कुहिएको व्यापारीहरुले बताएका छन् । अब भने नाका निरन्तर खुल्नुपर्ने उनीहरुको माग छ ।नाका सञ्चालनामा आँउदा स्थानीय बासिन्दालाई समेत रोजगारीको अवसर हुने भएकोले नाका निरन्तर खुल्नुपर्ने स्थानीय श्रमिकहरुले बताएका छन् । सामान लोड गर्ने नेपाली श्रमिकलाई क्वरेण्टीनमा राखिएको छ भने प्रत्येक १४ दिनमा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाइएको छ ।

नेपाल तर्फका सवारी साधनहरु सामान लिन जानको लागि अनिवार्य निर्मलिकरण गर्नुपर्ने व्यवस्था पनि गरिएको छ । नाका खुलेसँगै दैनिक चार देखि छ वटा कन्टेनरसम्म सामान आयात भइराखेको भन्सार कार्यालयले बताएको छ  ।

Comment


Related News

Latest News

Trending News