अपडेट 
२०७७ कार्तिक २०, बिहीबार १८:५४

सप्तरीमा दुईजना र सिराहामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

सप्तरीको बिष्णुपुर गाउँपालिका-२ की २६ वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।पछिल्लो १० दिनयता धरानमै उपचाररत उनको गत १८ गते स्वाब संकलन गरेर परीक्षण गर्दा १९ गते बुधबार रिपोर्ट पोजेटिभ आएको थियो ।रिपोर्ट पोजेटिभ आएपछि आइसोलेसनमा राखेको एक दिन नबित्दै उनको मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक ध्रुवनारायण देवले जानकारी दिए । देवका अनुसार मृतक महिला मिर्गौला रोगी थिइन् ।यस्तै, सप्तरीको महदेवा गाउँपालिका-४ का ३० वर्षीय युवकको पनि मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक डा. कमलेश यादवका अनुसार ती युवकको विराटनगरस्थित म्याक्स इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

युवकको गत कात्तिक ७ गते नै मृत्यु भए पनि पछिल्लो रिपोर्ट बिहीबार आएको यादवले बताए । युवकलाई ज्वरो आएपछि यही कात्तिक ४ गते अस्पताल भर्ना गरी कोरोना परीक्षण गर्दा ५ गते पोजेटिभ रिपोर्ट आएको थियो ।उनलाई सोही अस्पतालको आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको हो । यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।यस्तै, सिरहाको बिष्णुपुर गाउँपालिका १ निवासी ८४ वर्षीय पुरुषको पनि कोरोना संक्रमणले मृत्यु भएको छ ।ज्वरो लागेर श्वास फेर्न समस्या भएपछि पुरुषलाई गत कात्तिक १७ गते विराटनगरको नोबेल अस्पतालमा भर्ना गरिएको थियो । सोही दिन उनको स्वाब संकलन गरी परीक्षण गर्दा १८ गते रिपोर्ट पोजेटिभ आएको थियो ।उनलाई आइसोलेसनमा राखेर उपचार गर्ने क्रममा बिहीबार बिहान मृत्यु भएको स्वास्थ्य निर्देशनालयका वरिष्ठ चिकित्सक यादवले बताए । मृतक पुरुष निमोनियाँ रोगी समेत थिए ।

योसँगै सिरहामा कोरोना संक्रमित भएपछि मृत्यु हुनेको संख्या २० पुगेको छ ।

Comment


Related News

Latest News

Trending News