अपडेट 
२०७७ कार्तिक २१, शुक्रबार ०७:३०

रौतहट । संसदीय समितिले रौतहटको श्रीराम सुगर मिल्सले उखु किसानलाई नदिएको रकम एक महिनाभित्र भुक्तानी हुनेगरी समन्वय गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ ।

संघीय संसद प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बिहीबारको बैठकले श्रीराम सुगर मिल्सबाट उत्पन्न समस्याको समाधान एक महिनाभित्र सम्पन्न गरी समितिमा जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएको हो । रौतहटमा रहेको श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरी करोडौं रुपैयाँ भुक्तानी दिएको छैन् । त्यस्तै आठ दश महिनायता उद्योग बन्द गरी मजदूरको समेत पारिश्रमिक दिएको छैन् । बैठकपछि पत्रकारसँग कुराकानी गर्दै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उद्योग मन्त्रालयले एक महिनाभित्र सबै निकायसँग समन्वय गरी समस्याको निकास दिई समितिलाई जानकारी दिन निर्देशन दिइएको बताए । यस्तै चाडपर्वको समय भएकाले सम्बन्धित मन्त्रालयले उखु किसान र मजदूरहरुलाई तत्काल राहतस्वरुप केही रकम भुक्तानी दिइसक्ने व्यवस्था मिलाउन समेत निर्देशन दिइएको सभापति श्रीवास्तवले बताए । श्रीराम सुगर मिल्सले किसानबाट उखु खरिद गरेको भुक्तानी नदिई गत साउन ११ गत सूचना प्रकाशन गरी उद्योग सधैको लागि बन्द भएको जानकारी गराएको थियो ।

त्यससँगै किसानहरुले पाउनुपर्ने करिब ४१ करोड रुपैयाँ पाउन सकेका छैनन् । यस्तै श्रमिक तथा कर्मचारीले पनि ६÷७ महिनाको तलब भत्ता र कर्मचारी सञ्चयकोषमा रहेको करिब ४ करोड रुपैयाँ पाएका छैनन् । चिनि मिलसँग भुक्तानी माग्दा जग्गा विक्री भएपछि मात्रै भुक्तानी दिने जवाफ आएको भन्दै किसानहरु अन्योलमा परेका छन् ।

Comment


Related News

Latest News

Trending News