अहिले जनकपुरमा जागृतिको नयाँ चरणमा छ । पछिल्लो समयमा एकपटक पुनः संघीयतासम्बन्धी आन्दोलनको नेतृत्व गरेको इतिहासवर्णित वज्जीसंघको सदस्य प्राचीन मिथिलाका राजा जनकको नगरी जनकपुर एकपटक पुनः देशलाई संघीयताको कार्यान्वयने सिकाउने तयारीमा छ । एशियाली बिकास बैंकको सहयोगमा सञ्चालित एकीकृत सहरी बिकास योजनालाइ रोक्न हुँदैन भनेर दवाब सिर्जना गरिँदैछ ।
जनकपुरको सौन्दर्यीकरणको प्रयास भइरहेको छ । पौराणिक आध्यात्मिक महत्वको जनकपुरको प्रसिद्ध गंगाासागर पोखरी अहिले सफा भएको छ । अन्य पोखरीहरु पनि सफा हुने क्रममा छन् । सहरी विकास योजनाका पक्षमा दवाव सिर्जना गर्ने र फोहर गंगासागर सफा बनाउन योगदान दिने स्थानीय युवाहरुको सक्रियता सलामको हकदार छ । यसपटक कुरा जनकपुरको गंगासागरकै बारेमा । यो सागरको उत्पति यहाँ कसरी भयो त्यसको यकिन छैन तर निकै प्रचाीन यो पोखरी जनकपुर सभ्यताको निरन्तरको साक्षी हो भन्ने कुराको खण्डन पनि कसैबाट हुन सकेको छैन । जनकपुरवासीको मन मस्तिष्कमा अमीट छाप छोडिरहन सफल यो पोखरी प्राचीनकालमा राजा जनकले मिथिलावासीको वृहत कल्याणका लागि निर्माण गर्न लगाएका थिए भन्ने जनश्रुति विद्यमान छ । हिन्दू धर्म र पूर्वीय दर्शनमा गंगासागरको विशिष्ट महत्व छ । गंगोत्रीबाट निःसृत गंगा भारतको पूर्वी, उत्तर र पश्चिमी भागको सिञ्चन गर्दै कोलकातामा समुद्र अर्थात सागरमा मिसिन्छ । यही संगमस्थल हिन्दू शास्त्रमा प्रसिद्ध गंगसागरको रुपमा परिचित छ । यो स्थल अत्यन्त पवित्र मानिन्छ र यहाँ स्नान गरेका खण्डमा पापबाट मुक्ति मिल्ने र मोक्ष प्राप्ति हुने विश्वास गरिन्छ । यो जनविश्वास हो, सत्य होला न होला ।
तर एउटा कुरा के सत्य हो भने यो संगमस्थलले मानव विकासक्रमलाई जोडेको छ । मानव सभ्यताको अनवरत साक्षी भने बन्दै आएको छ गंगा । गंगा स्वयंमा एउटा सभ्यता हो जसले मानिसलाई बाँच्न र अगाडी बढन सिकाएको छ । प्रसिद्ध विद्वान राहुल सांकृत्यायनले आफ्नो अमर कृति गंगा से भोल्गा तक मा गंगा कथा र महत्वलाई बडो स्पष्ट ढंगले प्रस्तुत गरेका छन । पुराना धर्मग्रन्थ र आध्यात्मिक दस्तावेजमा मात्र होइन राहुल कृतिमा पनि गंगासागरबारे चर्चा गरिएको छ । जनकपुरको गंगासागरको महत्वलाई पनि यसबाट अलग राखेर हेर्न मिल्दैन । जनकले पानीसँग जोडिएका जनताका दैनन्दिनका समस्या समाधान गर्न थुप्रै पोखरी र ईनारको निर्माण गर्न लगाए । जनकपुर वरिपरि यस्ता थुप्रै पोखरी छन । एक मान्यताअनुसार यहाँ प्राचीनकालीन चौवन्नवटा पोखरी र एक सय आठवटा ईनार छन भन्ने विश्वास गरिन्छ । यस्ता जलस्रोतको सांस्कृतिक महत्व छ । यस्तै महत्वको एउटा पोखरी हो गंगासागर । स्थानीय वासिन्दाका अनुसार राजा जनकले मिथिलावासीलाई गंगासागर स्नान गर्न वंगाल जान नपरोस र जनकपुरमै रहेर गंगासागरको पुण्य आर्जन गर्न सकुन भन्ने उद्देश्यले गंगा—समुद्र संगमको जल ल्याएर यो पोखरी निर्माण गरेका हुन ।
यो विश्वासयोग्य कुरा होला न होला, दुईवटै गंगासागरको पवित्रता समान होला न होला यो त धर्मका जानकारहरुले निरुपण गर्ने विषय हो । यसमा टिप्पणी गरिरहनु जरुरी छैन । एउटा कुरा के चाहीँ सत्य हो भने यो पोखरी वर्तमान जनकपुरको एक अक्षुण्ण सांस्कृतिक प्रतिष्ठा भने निश्चित पनि हो । यो र यस्ता थुप्रै प्रचाीन संरचनाहरु जनकपुरका धरोहर हुन । परिचयका प्रतीक हुन । दुखद कुरा के छ भने यस्ता संरचना क्रमशः ध्वस्त हुँदै विलुप्त हुँदैछन । संरक्षणतर्फ न त कसैको चासो छ न त कसैको चिन्ता नै । संरक्षणको दायित्व बोकेर बसेका जनकपुर उपमहानगरपालिका, गुठी संस्थान, राम र जानकी मन्दिरलगायतका विभिन्न मठका गुठी र वृहत्तर जनकपुर क्षेत्र विकास समिति सबै मुक दर्शकमात्र बनेका छैनन संरचना ध्वस्त बनाउने र लुप्त पार्ने कार्यका मतियारसमेत बनेका छन । प्रशासन मौन छ । यस्ता प्राचीन महत्वका थुप्रै पोखरीहरु अतिक्रमणका शिकार बनेका छन । अतिक्रमणका मतियारलाई कुनै न कुनै रुपमा माथि उल्लेख गरिएका संस्थाले सघाएका छन । पछिल्लो समयमा नेपाली छापामा जनकपुरको दूर्दशाबारे निकै सामाग्री प्रकाशित भएका छन । निकै चिन्ता र चासो व्यक्त गरिएका छन । तर जनकपुरको मुख्य समस्याको रुपमा रहेको सरसफाई, जलाशयको व्यवस्थापन र अतिक्रमणको मुद्दा तथा सहरी विकासको विषय सशक्त ढंगले आउन सकेन ।
कहाँसम्म भने जनकपुरका उत्साही युवा, नगरवासी, नागरिक समाज र पत्रकारको सक्रियतामा थालिएको गंगासागर सफाई अभियानका बारेमा प्रवुद्ध लेखक र सञ्चार माध्यमको समेत ध्यानाकर्षण हुन सकेन । सामाजिक सञ्जालको भित्ता रंगएको यो सन्दर्भले पारम्परिक सञ्चारमाध्यममा यथोचित महत्व पाउन नसकेको विषय मिडियाका विद्यार्थीका लागि विश्लेषणको नयाँ विषय हुन सक्छ । जे सुकै होस, जनकपुरका ती उत्साही समूह जो फोहोर हटाउने कार्यमा संलग्न भए र गंगासागरलाई स्वच्छ बनाउन भूमिका निर्वाह गरे, ती धन्यवादका पात्र हुन । जो समूह सहरी विकासको मुद्दालाई बढाइरहेका छन् तिनलाई साधुवाद । गंगासागर सफाई कार्यको विश्लेषण गर्ने हो भने यसलाई जनकपुरको निर्माणका सन्दर्भमा प्रतीकात्मक रुपमा बुझ्न सकिन्छ । माथि उल्लेख गरिएको सन्दर्भका लागि हालका प्रदेश दुईका प्रदेशसभा सदस्य रामअशीष यादव विशेष धन्यवादका पात्र छन् । पूर्व पत्रकार तथा सामाजिक अभियन्ता यादवको नेतृत्वमा गंगासागरले हालको नयाँ स्वरुप र परिचय प्राप्त गर्न सकेको हो । सरकारले गर्नुपर्ने कार्य यादवको नेतृत्वमा स्थानीय समाजले गरेको छ । यो सम्पूर्ण देशका लागि अनुकरणीय छ । हाल गंगासागरमा प्रत्येक गंगा आरती हुनो गर्दछ ।
वनारसको गंगा घाटमा हुने आरतीको शैलीमा हुने जनकपुरको यो आरतीले स्थानीयलाई त आकर्षित गरेको छ नै पर्यटकलाई पनि लोभ्याएको छ । यहस् शैलीमा जनकपुरका अन्य सागरमा पनि धार्मिक तथा सांस्कृतिक महत्वको अनुष्ठानलाई निरन्तरथा दिन सकियो भने यसबाट निश्चय पनि जनकपुरले नयाँ परिचय प्राप्त गर्ने कुरामा विमति हुन सक्दैन । जगतजननी जानकीको माइती जनकपुर कुनै बेला शिक्षा, संस्कृति धर्म दर्शनको लागि प्रमुख केन्द्रको रुपमा स्थापित थियो । मिथिला क्षेत्र धनधान्यले परिपूर्ण थियो । जनकपुर ताल तलैया, कुण्ड, सरोवर, मठ मन्दिर, धर्म, सदाचारिताका क्षेत्रमा विश्वविख्यात थियो । त्यही जनकपुर आजको दिनमा बेथितिको सिकार भई करुण क्रन्दन गरिरहेको परिप्रेक्ष्यमा रामअशीषको सामाजिक अभियान्त्रिकीकरण (सोसल इन्जिनियरिगं)ले एउटा नयाँ आशा र उत्साहको सञ्चार गरेको छ । यिनले जनकपुर सफाईको अभियान थालेका छन । गंगासागर पहिलो प्रयास थियो, जो सफल भएको छ । अब जनकपुरका युवाले जनकपुरको निर्माण र विकासको सन्दर्भमा नेतृत्व लिने अपेक्षा गरिनु अनुचित हुँदैन । जब कुनै स्थानमा राजनीतिक तह र नेतृत्व असफल हुन्छ तब जनता अगाडि सरेर नेतृत्व आफ्नो हातमा लिएको विश्वमा थुप्रै उदानहरण छन । शायद जनकपुरको सन्दर्भमा पनि यस्तै हुन खोजेको हो भनेर विश्लेषण गरियो भने त्यो अनुचित हुनै छैन ।
यहाँको नागरिक समाज सक्रिय नहुने हो भने जनकपुर सभ्यता इतिहासमा मात्र सीमित हुने सम्भावनालाई नकार्न सकिँदैन । गंगासागर सफाई समूहले प्राथमिकता निर्धारण गरी एउटा कार्ययोजना बनाउनु र सोहीअनुरुप क्रियाशील हुनु जरुरी छ । यो समूहले नगरबासीबीच अन्तरकृया गरी स्वच्छ, सफा, हराभरा र सुन्दर जनकपुरको निर्माण गर्न र त्यँहा आउने लाखौं तीर्थयात्रीको सुबिधालाइ ध्यान दिइ यसलाई पर्यटकीय नगरीका रुपमा विकसित गर्न आवश्यक पूर्वाधारको विकास गर्नतर्फ केन्द्रित हुन सक्नुपर्छ । यो अभियानलाई जनकपुरको वास्तविक आधुनिकीकरणसँग जोडन सकिन्छ । वास्तवमा यो प्रयासलाई जनकपुरको हकमा पुनर्जागरण अभियानसँग जोडेर हेर्नु उचित हुन्छ । सफलताको कामना ।