अपडेट 
२०७७ कार्तिक २३, आईतवार ०८:४८

सरकारले आगामी मंसिर १ गतेदेखि देशभरका सम्पूर्ण धार्मिक गतिविधि खुला गर्ने भएको छ । कोरोना संक्रमणका कारण गत वर्षको चैत ११ गतेदेखि बन्द गरिएको देशभरको धार्मिक क्षेत्र ८ महिनापछि खुला गर्न लागेको हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराईले काठमाडौंसहित देशैभरको धार्मिक गतिविधि एकैपटक खुलाउने गरी प्रक्रिया अगाडि बढाएको बताए । उनले १ मंसिरदेखि नै धार्मिक क्षेत्रहरू खुलाएर लैजान प्रस्ताव तयार पारेको बताए । पर्यटन मन्त्रालयले मन्त्रिपरिषदमा पर्यटन र धार्मिक दुवै क्षेत्रका गतिविधि खुलाउन प्रस्ताव पठाइसकेको छ । उक्त प्रस्ताव मन्त्रिपरिषद्ले पास गरेमा १ मंसिरदेखि पशुपतिसहित सम्पूर्ण मन्दिर, चर्च, बौद्ध धर्मावलम्बीका गुम्बा, मस्जिदसमेत खुल्नेछन् ।

धार्मिक गुरुहरूले पछिल्लो समय सबै क्षेत्र खुलाउँदासमेत धार्मिक क्षेत्र बन्द राखेको भन्दै खुलाउन माग गर्दै आएका थिए । कोरोनाको जोखिम उच्च रहेको भन्दै नेपालीहरूका ठूला चाडपर्वमा समेत शक्तिपीठहरू सरकारले बन्द गरेको थियो ।

स्वास्थ्य मापदण्ड अपनाएर, सुरक्षित ढंगले अब धार्मिक क्षेत्र खुलाउने र धार्मिक पर्यटकसमेत भित्र्याउन पहल गर्नका लागि खोल्न प्रस्ताव गरिएको प्रवक्ता भट्टराईले जानकारी दिए । सरकारले मंसिरदेखि धार्मिक क्षेत्र खुलाएमा लुम्बिनीसहितका क्षेत्रमा आन्तरिक धार्मिक पर्यटकको गतिविधि बढ्नेछ । धार्मिक गतिविधि खुला भएमा मनकामना केबलकारसमेत सञ्चालनमा आउनेछ ।

Comment


Related News

Latest News

Trending News