अपडेट 
२०७७ कार्तिक २५, मंगलवार ०७:३९

यसलाई रोचक संजोग नै भन्नु पर्छ कि जतिबेला संयुक्त राज्य अमेरिकाको राष्ट्रपतिय निर्वाचनमा रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पको पराजयको समाचार मिडियामा प्रसारित भइरहेको थियो र हाम्रो दक्षिणी सिमाना पारीको भारतीय प्रान्त बिहारमा विधानसभाको निर्वाचन परिणामका एक्जिट पोलहरुमा सत्ताधारी भारतीय जनता पार्टी र जनता दल युनाइटेड (जेडीयु)को नराम्ररी हारको सम्भावना व्यक्त गरिदैँ थियो ।

अमेरिकी मिडियाहरुले निर्वाचन आयोगहरुबाट प्रसारित परिणामहरुको आधारमा जीतको निम्ती चाहिने आवश्यक एलेक्टोरल सीटसंख्या पार गरिसकेकोले डेमोक््रयाटिक प्रत्यासी बाइडेनको जीत सुनिश्चित भइसकेको भनिरहेका छन् । हुनपनि जो बाइडेन अहिलेसम्म जीतको निम्ती चाहिने २७० सीटभन्दा धेरै बढी तीनसयको आँकडापनि पार गरिसकेका छन् । अर्कोतर्फ वर्तमान राष्ट्रपति ट्रम्प धेरै पछाडी छन् । केही साना राज्यको मतगणना पूरा नभएको तथा प्राविधिक कारणले बाइडेनको जीतको औपचारिक घोषणा हुन केही समय लाग्ने देखिन्छ । तर उनको जीतको सुनिश्तिता देखेर विश्वभरिका अनेकौ शासन प्रमुख र सरकार प्रमुखहरुले बाइडेनको सफलतामा बधाई दिन शुरु गरिसकेका छन् । अर्कोतर्फ बाइडेनलेपनि आफूलाई निर्वाचित राष्ट्रपति लेख्न शुरु गरिसकेका छन् । तर राष्ट्रपतिको निर्वाचन भए लगत्तै ‘लेम डक’ कार्यकाल शुरु (भइसकेको राष्ट्रपति ट्रम्प सम्पूर्ण तथ्यहरुलाई उपेक्षा गर्दै हार स्वीकार्न तयार छैनन् । अँग्रेजी भाषाको ‘लेम डक’को अर्थ लङ्गडो बतख हुन्छ, तर अमेरिकामा निर्वाचनपछि नयाँ राष्ट्रपतिलाई कार्यभार हस्तान्तरण गर्दासम्म पुरानो राष्ट्रपतिलाई ‘लेम डक प्रेसिडेन्ट‘ भन्ने चलन छ । निर्वाचनमा धाँधली गरेर आफूलाई हराउन थालिएकोले आफूले हार स्वीकार न गर्ने, अदालत जाने तथा कयौँ राज्यहरुमा पुनः मतगणना गराउनु पर्ने ढिपी झिकी रहेका छन् ।

यसै निहुँमा उनले आफू ह्वाइट हाउस .(राष्ट्रपतिभवन) नछाडने अडानपनि लिएको देखिन्छ । र यस्तो भयो भने अमेरिकाको सडकमा बाइडेनको डेमोक््रयाट र ट्रम्पको रिपब्लिकन पार्टीका कार्यकर्ताहरु एक अर्काको सामुन्ने देखिने सम्भावनापनि उत्तिकै छ । अमेरिकी राजनीतिमा रिपब्लिकनहरु अनुदार र गोरा श्रेष्ठताका समर्थक मानिन्छन् । यद्यपि कुनै बेला अमेरिकामा विद्रोह गरेर कालाहरुलाई राजनैतिक अधिकार दिलाउने प्रसिद्ध राष्ट्रपति अब्राह्म लिङकन रिपब्लिकन पार्टीकै सदस्य थिए । तर वर्तमानको रिपब्लिकन पार्टी नस्लवादी अहं र सङकीर्ण गोरा राष्ट्रवादीहरुको पार्टी मानिन्छ । हुन त अमेरिकी सत्ताधारी राजनीतिको मूलधारा पूँजीवादी नै हो । डेमोक््रयाटहरु देखाउनलाई नै भएपनि उदार लोकतन्त्र र कल्याणकारी पूँजीवादी राज्यको वकालत गर्छन् भने रिपब्लिकनहरु गोरा राष्ट्रवादमा आधारित अनुदारवादी पूँजीवादी राज्यको पक्षमा खडा हुन्छन् । सन् २०१५मा ट्रम्पले राष्ट्रपतिय निर्वाचनमा विजय प्राप्त गर्दा कट्टर गोरा क्रिश्चियनहरुको एउटा भुमिगत समूहका प्रतिबद्ध कार्यकर्ताहरुले उनको पक्षमा अभियान नै चलाएका थिए । यस अत्यन्त अनुदारवादी र निर्मम मानिने कट्टर गोरा क्रिश्चियनहरुको समूहलाई ’कू क्याक्स क्ल्यान‘ भनिन्छ । अमेरिकामा गोरा प्रतिष्ठामा आधारित राज्यको लक्ष्य बोकेको यो समूह कालो कपडामा सजिएको हुन्छ र सांगठनिक अनुशासित जीवनशैली अपनाएको हुन्छ ।

प्रायः भक्तशैलीका, तथ्यभन्दापनि गोरा श्रेष्ठतामा आधारित बाइबिलिय मिथकहरुलाई विश्वास गर्ने र त्यसैलाई सत्य मान्ने पछौटे र अवैज्ञानिक रहस्यवादी चेतनाको यो समूह अहिले अमेरिकी आधुनिक समाजमा प्रत्यक्षरुपमा राम्रो मानिँदैन । ट्रम्प राष्ट्रपतिपदमा आसीन भइरहेका बेला अमेरिकाका कयौँ पत्रिकाहरुले उनको ’कू क्ल्याक्स क्ल्यान‘सग सम्बन्ध रहेको तथ्य प्रस्तुत गरेका थिए ।, केही राजनीतिक समीक्षकहरु ट्रम्पलाई यस नस्लवादी राजनीतिका चरमोत्कर्ष मान्छन् । यस सुसंगठित र सुनियोजित प्रचार र अफवाहको परिणाम नै थियो कि अनेकौँ झुठो तथ्यको सवारी गरेर ट्रम्प राष्ट्रपति पदमा आसीन हुनसके । नस्लवादी चेतना र समानतामा आधारित राजनीतिक जनवादीपनाको साइनो हुनसक्दैन, न त प्रक्रियामा, न त परिणाममा । अहिले जसरी ट्रम्प सबै तथ्यहरुलाई उपेक्षा गर्दै आफ्mू नै जिती रहेको दावी गर्दैछन्, त्यसमा दक्षिणपन्थी फासीवादी प्रवृत्ति लुकेको छ । पूँजीवादी विचारले परिणामको हकमा पूँजीवादीहरुको पक्षमा दृढ रहेपनि प्रक्रियामा भने लोकतन्त्रको वकालत गर्ने गर्छन् । सम्विधान, निर्वाचन आदि यसैका उदाहरणहरु हुन् । पूँजीवादी निर्वाचनमा गरीबले आर्थिककारणले भाग लिन नसकेपनि पूँजीवादीहरुले भागलिन सक्छन् ।

त्यसैले पूँजीवादी व्यवस्थालाई पूँजीपतिहरुको व्यवस्था भनिन्छ । ट्रम्पले त पूँजीवादी व्यवस्थाका मान्यताहरुलाई समेत उपेक्षा गरिरहेको देखिन्छन् । वस्तुतः ट्रम्प पूँजीवादी व्यवस्थालाई क्रमशः फासीवादी व्यवस्था तर्फ डो¥याउने प्रयास गरिरहेका छन् । विश्व पूँजीवादी व्यवस्थामा लोकतन्त्रका मूख्यतः दुईवटा उत्कृष्ट उदाहरण दिइन्छ — ब्रिटेनको वेस्टमिन्स्टीरियल प्रधानमन्त्रीय शासन प्रणाली र अर्को अमेरिकाको राष्ट्रपतिय शासन प्रणाली । आधुनिक अमेरिकी जीवनमा राष्ट्रवाद निम्न चेतनाको विषय मानिन्छ । अमेरिकीहरु आफूलाई यसभन्दा माथी विश्वनागरिकको रुपमा प्रस्तुत गर्न चाहन्छन् । यसको एउटा कारण त अमेरिकामा अहिले सर्वतोमुखी वर्चस्व जमाएर बसेका गोरा समूहहरु ब्रिटेन, पोर्चुगल, र फ्रान्सबाट गएका हुन र शक्तिको बलमा त्यहाँका आदिवासी अमेरिकीहरुलाई दबाएर शासन गरेका हुन र उनिहरुको श्रम शोषण गरेर पूँजी कमाएर अहिले विश्व राजनीतिमा साम्राज्यवादी एकल वर्चस्व स्थापित गर्न सफल भएका हुन् । त्यसैले अमेरिकामा अमेरिकी हुनुको अर्थ राष्ट्रवादीको सङकीर्ण अर्थभन्दापनि विश्वसंस्कृतिको रुपमा प्रयोग हुन्छ । त्यसैले अमेरिकालाई ‘मेल्टिङ्ग पौट’अर्थात पग्लिने कचौरापनि भनिन्छ । अमेरिका एउटा यस्तो कचौरा छ, जहाँ विश्वभरिबाट विविध सँस्कृतिका मानिसहरु जान्छन् र त्यहाँको वैविध्यपूर्ण पूँजीवादी समाजमा अन्तर्घुलित हुन्छन् ।

तपाँईसंग पूँजी र सीप छ भने अमेरिका जानुस, आफूपनि कमाउनुस र अमेरिकी पूँजीलाईपनि बलियो बनाउनुस । यो अर्थराजनैतिक वैविध्य सामाजिकरुपमा पनि अभिव्यक्त भइरहेको छ । काला समुदायबाट राष्ट्रपतिमा निर्वाचित बराक ओबामा होस वा अहिले उपराष्ट्रपतिमा विजयी इन्डो जमैकन मूलकी कमला ह्यारिस यसैका परिणाम हुन् । बाइबिलले राज्य गर्न योग्य घोषित गरेका विश्वास गर्नेसङकीर्ण गोराहरुको पनि अमेरिकामा बलियो उपस्थिति छ, जस्ले यस वैविध्यपूर्ण समानतालाई मनपराउँदैन । वर्तमानको रिपब्लिकन पार्टीमा यस्तैहरुको वर्चस्व देखिन्छ । कालाहरुलाई अधिकार दिएपछि र विश्वका अन्य भागबाट आउनेलाई अमेरिकामा बस्ने अनुमति दिएपछि अमेरिकी सत्तामा गोराहरुको अधिकार कमजोर भएको उनिहरु ठान्छन् । यस्तो सङकीर्ण धारणालाई औपचारिकरुपमा अभिव्यक्त गर्न न त अमेरिकी सम्विधानले, न त सामाजिक नैतिकताले मनपराउँछ । त्यसैले यस्तो वर्णवादी र नस्लवादी पछौटे चिन्तन राख्नेहरु विविध आवरणमा आफूलाई अभिव्यक्त गरिरहेका हुन्छन् । यसै कारण जतिबेला ट्रम्पले पहिलो निर्वाचनमा ‘ अमेरिकी प्राइड’, ‘ग्रेट अमेरिका’ र ‘अमेरिकन फस्र्ट’को नारा दिए, त्यसमा गोरा अमेरिका र गोरा फस्र्टको दक्षिणपन्थी अन्तर्वस्तु सामेल थियो । यसै आधारमा उनले अनेक व्यापक प्रचार यन्त्रहरु र प्रशिक्षित कार्यकर्ताहरुको माध्यमबाट त्यतिबेला डेमोक््रयाट समर्थक मतदाताहरु समेत भ्रमित पार्न सफल भए र जीत हासिल गरे ।

यद्यपि ट्रम्पको सङकीर्ण नस्लवादी पूर्वाग्रहले अमेरिकी पूँजीवादी समाजको वैविध्यपूर्ण चरित्र खलबलिने र विश्व आर्थिकतन्त्रमा अमेरिकीहरुको विश्वास कमजोर हुने आशंकामा अमेरिकी पूँजीपतिहरुको एउटा हिस्साले ट्रम्पको विजयलाई मन पराएका थिएनन् । त्यतिबेलापनि पोपुलर भोट अर्थात जनताले दिएको मतमा ट्रम्प तत्कालीन डेमोक््रयाट उम्मेदवार हिलारी क्लिन्टनभन्दा पछाडी नै थिए । तर अमेरिकी निर्वाचनमा राज्यको कुल सीट मध्ये पचासप्रतिशतमा बढी सीट जस्ले ल्याउँछ, त्यसले त्यस राज्यको सबै एलेक्टोरल भोट प्राप्त गर्छ । जस्तै पेन्सिलभेनिया राज्यमा बीसवटा सीट छ, कुनै प्रत्यासीले एघारवटा सीट जितेको छ भने उसले पुरै सीट अर्थात बीसवटै सीट प्राप्त गर्छ । यसै आधारमा जनताले दिएको मतमा पछाडी रहेर पनि त्यतिबेला ट्रम्पले राष्ट्रपति पदमा आसीन हुन सफल भएका थिए । तर यसपटक यस्तो हुनसकेन । ट्रम्पको पराजय करीब करीब सुनिश्चित नै थियो । बरु पूर्वानुमान गरिएको भन्दा बढी नै सीट ट्रम्पले जीतेको भनेर कयौँले आश्चर्य समेत व्यक्त गरेका छन् । यस्को कारण भने ट्रम्पको अहंकारपूर्ण र एकलकाँटे व्यवहारको कारण अमेरिका विश्वसमुदायमा एक्लिँदै गइरहेको पनि थियो । कयौँ मौकामा युरोपका ब्रिटेन, फ्रान्स र जर्मनी जस्ता देशहरु अमेरिकाको इच्छा विपरीत खडा भइरहेका थिए ।

त्यसतै मध्य मध्य र दक्षिणी अमेरिकाका बोलिभारियन भेनेजुएला र बालिभियाजस्ता देशहरुमा अनेक षडयन्त्र गरेरपनि सत्ता परिवर्तन गराउन नसक्नु, तर अहंकारपूर्ण बोलीमा कमी न आउनु, विश्वका कयौँ सामरिक विवादमा चीन र रुसको सामू कमजोर हुँदै जानु र अर्कोतिर देशभित्र आर्थिकमन्दीको कारण बेरोजगारी, कर्मचारी कटौती, महँगी र गरीबीलाई नियन्त्रण गर्ननसक्नुले उनलाई एउटा अत्यन्त झूठो र गफेडीमा परिणत गरिदिएको थियो । विशेष गरी कोरोना महामारीमा विश्वस्वास्थ्य संगठनको चेतावनीलाई उपेक्षा गर्दै कुनै पहल नलिएको र स्थिति नियन्त्रणबाट बाहिर गएपछि सबै आरोप चीन र विश्वस्वास्थ्यसंगठनको टाउकोमा थोपरेको जस्तो स्थितिले देशबाहिर मात्र होइन देशभित्रपनि उनलाई अमेरिकी इतिहासको सबैभन्दा अयोग्य राष्ट्रपतिमध्येको एक बनाईदियो । अमेरिका अहिले विश्वको सबैभन्दा बढी कोराना भाइरस संक्रमित र मृत्यु हुने देश बनेको छ, तर यसलाई अमेरिकीहरुको दुर्भाग्य नै भन्नुपर्छ कि अमेरिकामा कोरोना महामारीको उपचारमा सरकारको कुनै सहयोग छैन । त्यहाँको स्वास्थ्य प्रमुखले स्थिति झनै बिग्रिने सम्भावना रहेको चेतावनी दिएपनि ट्रम्पले अमेरिकी व्यावसायिक जीवनमा कुनैपनि बन्देज लगाउन तयार भएनन् ।

यो पूँजीवादको नीति नै हो — जति मरे मरुन, नाफा घटनु भएन,, र ट्रम्प त्यही गरिरहेका थिए । गत निर्वाचनमा गलत तथ्य र भ्रमपुर्ण खबरहरुको सफलतापूर्वक प्रयोग गरेर हौँसिएका ट्रम्पले यस पटक खुलेरै जाति, धर्म, नस्ल र पूँजीवादी अहंकार सबैलाई अमेरिकी श्रेष्ठताको रुपमा प्रयोग गरे । तर न त धर्मले, न त जातिले, र न त नस्लले रोटी दिन्छ र महामारीको उपचार । बरु आफु सबैभन्दा जान्ने भएको ट्रम्पको यस सनकपूर्ण प्रवृत्तिले आम अमेरिकी मात्र होइन, पूँजीपतिहरुको दुःखमापनि वृद्धि ग¥यो । यस पटक उनको विपक्षमा उनका विरोधीमात्र होइन, कयौँ रिपब्लिकनहरु समेत देखिए । र ट्रम्पको यो पराजय यसैको परिणाम हो । केही राजनीतिक समीक्षकहरुले ट्रम्पको पराजयबाट अमेरिकी समाजले आफूलाई स्यानिटाइज अर्थात निर्मलीकरण गरेको धारणा राखेका छन् । हुनपनि विजयी बाइडेनले ट्रम्पप्रशासनकालमा अमेरिकी आत्मा आहत भएकोले यसलाई मलम लगाउनु आफ्नो पहिलो दायित्व हुने र आफू भोट दिने मात्र होइन, सम्पूर्ण अमेरिकी जनताको राष्ट्रपति हुने भावना व्यक्त गरेका छन् । ट्रम्प पराजित भएका छन्, तर उनले राजनीतिमा शुरुगरेको जाति, धर्म, नस्ल र झुठो भ्रमको प्रयोगले अमेरिकी समाजलाई धेरै पछिसम्म पिरोल्ने छ । खास गरी यसले कालाजाति प्रतिको खुला उत्पीडन र खुलेआम हत्या तथा उत्पीडकलाई कानूनी उन्मुक्तिको जुन सहजता बढेको थियो, त्यसले अमेरिकी समाजमा काला–गोराको तिक्तता र आक्रोश झन् बढेको देखिन्छ ।

गोरा प्रहरीबाट काला वर्णका अमेरिकी जर्ज फ्लोइडको हत्यापछि शुरुभएको ‘आई कान्ट ब्रीथ’ र ‘ब्ल्याक लाइभ्स म्याटरजस्ता गोरा अहंकार र उत्पीडन विरुद्धको आन्दोलन निर्वाचनको बेलापनि सडकहरु तताई रहेकै थिए । बाइडेनको निम्ती कालाहरुको विश्वास जित्नु एउटा चुनौती त हुने नै छ । तर यसको प्रतिउत्तरमा जन्मिने गोरा आक्रोशसंग उनले जुधेको हेर्नुपनि उत्सुकतापूर्ण नै हुनेछ । अमेरिकी निर्वाचन र यसको अन्तर्कथा मैलै सुनाई रहँदा तपाँईको सामू दक्षिण एसियाको राजनीतिमा बढदो धार्मिक, नस्लवादी, जातिय घृणाको प्रयोग स्मरण हुनसक्छ । पाकिस्तान, बाङ्गलादेश, भूटान र श्रीलङका धार्मिक राजनीतिका देशहरु नै भए । लोकतन्त्रमा यी दक्षिणपन्थी तत्वहरुको सफल प्रयोग हाम्रो दक्षिणी छिमेकी भारतको राजनीतिमा भारतीय जनता पार्टी र प्रधानमन्त्री नरेन्द्रमोदीको सफलताबाट तुलना गर्न सकिन्छ । विगत दशवर्षमा सन्यासी साधुहरुपनि जसरी अर्बपति र सत्ताशीर्षमा पुगेका छन्,, त्यसतै अर्थराजनीतिक र सामाजिक जीवनमा सङकीर्ण धार्मिक राष्ट्रवादको नाममा धार्मिक, जातिय र नस्लवादी घृणा र उत्पीडनको मात्रा बढदै गएको छ । अझ लज्जास्पद त के छ भने राजनीतिको माथिल्लो कुर्सीमा बसेका हरुसमेत खुलेआम यसलाई स्वाभाविक भन्दै पक्षपोषण गर्ने प्रवृत्ति राजनीतिमा बढदै गएको छ । फेरी यो छिमेकी भारतमा मात्र छैन, हाम्रो आफ्नै धर्मनिरपेक्ष र कम्युनिस्ट नामधारी राजनीतिक दल सत्तामा भएको देशमा समेत यो रोग क्रमशः बढदै गैरहेको छ ।

दक्षिण एसियाका प्रायः सबै देशमा शासकहरु यस दक्षिणपन्थी प्रवृत्तिका पोष्टर ब्याय बनीरहेका छन् । यस कोणबाट हेर्ने हो भने ट्रम्प पराजित भएपनि ट्रम्पीयन प्रवृत्तिले विश्वराजनीतिमा गहिरो गरी जरो जमाएको छ । अमेरिकी निर्वाचन संगसंगै भएको बिहारको निर्वाचनमा विभिन्न श्रोतहरुले गरेको पूर्वानुमानहरुमा मोदी–नितेशको गठबन्धनले नराम्रो पराजय भोग्ने र तेजस्वी यादव र राहुल गान्धी नेतृत्वको राजद, काँग्रेस र लेफ्ट सहितको महागठबन्धनले ठूलो विजय प्राप्त गर्ने भनिएको छ । यो लेख तपाँईले पढी रहँदा सम्भव छ परिणामहरु आइरहेका हुन्छन् । र कदाचित पूर्वानुमान सत्य हुन्छ भने यसलाई समीक्षकहरुले भारतीय राजनीतिमा मोदीको दक्षिणपन्थी प्रवृत्तिको विरुद्धमा परिवर्तनको नयाँ हावा बगेको देख्दै छन् । उनिहरु यसलाई मोदी राजमा दिल्ली, मध्यप्रदेश, पञ्जाब, राजस्थानको प्रान्तीय निर्वाचनमा बीजेपीको पराजयसंग जोडेर हेर्न, र कदाचित बिहारमा बिजेपी गठबन्धनको पराजय हुन्छ भने यस्को दूरगामी परिणाम हुने संकेतको रुपमा व्याख्या गर्न चाहन्छन् । बिजेपी र बिहारको निर्वाचन परिणामका विविध व्याख्याहरु हुनसक्छन् ।

तर तथ्यभन्दापनि विश्वासमा आधारित खतरनाक चिन्तन पद्धति र धार्मिक, जातिय र नस्लिय अहंकारको जुन प्रयोग ट्रम्प, मोदी, एर्दोगान (टर्कीमा इस्लामिक श्रेष्ठताको आधारमा शासनमा पुग्ने तथा टर्किस धर्मनिरपेक्ष समाजलाई इस्लामीकरण गरेर आफ्नो राजनीति सुरक्षित राख्न चाहने राष्ट्रपति तैयप एद्रोगान) आदि शासकहरु र शासकीय प्रवृत्ति वर्तमान राजनीतिमा मूख्य चुनौतीको रुपमा छन् । ट्रम्प यस प्रवृत्तिका चरम छन् ।

Comment


Related News

Latest News

Trending News