प्रहरीले विराटनगरबाट साढे पाँच किलो गाँजासहित दुई महिलालाई पक्राउ गरेको छ । मंगलबार दिउँसो प्रदेश-१ प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरी टोलीले दुई महिलालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धनकुटाको साँगुरीगढी गाउँपालिका–९ की ४० वर्षीया सीता राई र साँगुरीगढी–१ की २० वर्षीया वविता राई छन् । उनीहरुको साथबाट पाँच किलो सात सय ग्राम गाँजा बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कञ्चनबारी चौकमा टेम्पोबाट झरेर पैदल हिँडिरहेको अवस्थामा प्रहरीले दुई महिलालाई नियन्त्रणमा लिएको थियो । पक्राउ परेकाहरुले बोकेको जेब्रा झोलामा पाँचवटा पोका बनाएर राखेको अवस्थामा गाजाँ भेटिएको प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायव उपरीक्षक कबिन्द्र कार्कीले जानकारी दिए ।
दुवै जनलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय मोरङमा बुझाइएको उनले बताए । उनीहरुले गाँजा कहाँसम्म लिएर गएका हुन् भन्ने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।