अपडेट 
२०७७ कार्तिक २६, बुधबार ११:२०

सम्पूर्ण तराई मधेसमा महाबिरी झन्डा मेलाको स्थान र महत्व के छ, यसबारे त विस्तृत अध्ययन हुनु आवश्यक छ तर वर्तमान अवस्थाको मधेस प्रदेश भनेर चिनिन थालिएको प्रदेश दुईमा भने महाबिरी झन्डा मेलाको विशेष स्थान र महत्व रहेको देखिन्छ । यस प्रदेशका नागरिकको सांस्कृतिक जीवनसित झन्डा मेला जोडिन पुगेको देखिन्छ । आर्थिक तथा भौतिक विकास र शिक्षाको दृष्टिकोणले यो प्रदेश पछाडि रहेको छ भन्ने कुरामा अलिकति पनि द्विविधा छैन । सर्वसाधारणमा चेतनाको विकास हुँदै गएपछि अन्य किसिमका पछौटेपन पनि हट्दै जाने कुरामा आशावादी हुन सकिन्छ । यस प्रदेशका नागरिकको हातमा समृद्धिको आधार आउनु आवश्यक छ । समृद्धिको आधार नआएसम्म यस प्रदेशका सर्वसाधारणले रोजगारी तथा शिक्षाको लागि अन्यत्र नै जानुपर्ने अवस्था रहन्छ । अबको केही समयपछि यस प्रदेशको शिक्षाले सकारात्मक गति लिने अपेक्षा गरिएको छ । विद्यार्थीको अनुपातमा दरबन्दी कायम हुने र शिक्षक पाउने आशा पछिल्लो चरणमा बढेर गएको छ । यदि विद्यार्थीको अनुपातमा शिक्षक हुँदो हो त गुणस्तरीय शिक्षाको ढोका खुल्ने र गुणस्तरीय शिक्षाको माध्यमले यस प्रदेशको अन्धविश्वास हट्ने हो भने रोजगारीको माध्यमले अन्य किसिमका समृद्धिका साथै भौतिक समृद्धि पनि आउने विश्वास निराधार होइन । अहिले त श्रमिक पनि पलायन र बौद्धिक व्यक्तित्व पनि पलायन हुने अवस्था रहेकोले यस प्रदेशले सबैतिरबाट मार खप्न परेको छ । यद्यपि यस प्रदेशको सांस्कृतिक परम्परा भने आफैमा विकसित रहेको छ । मधेसको सांस्कृतिक परम्परामा झन्डा मेला पृथक किसिमको पहिचान बोकेको उत्सव हो । यसलाई परम्परागत उत्सव भन्न सकिन्छ कि सकिन्न ? यो एउटा प्रश्न हो तर यसले परम्परा भने बनाउँदै लगेको छ । यो शास्त्रीय उत्सव हो कि होइन भन्ने जिज्ञासा पनि रहेको छ तर शास्त्रीय आधारको खोजी गर्दै लोकपरम्परामा स्थान बनाइसकेको छ । लोक संस्कृतिमा विशिष्ट हस्तक्षेप बनाइसकेको महाबिरी झन्डा मेलालाई आफ्नै किसिमको सार्थकले पुष्टि गरेको छ । कतिपय ठाउँमा यस मेला वा उत्सवको यति धेरै प्रभाव रहेको छ कि यसको प्रतीक्षा तराई मधेसको अन्य पर्वजस्तै हुने गरेको छ । कतिपय ठाउँमा भने यसले निरन्तरता मात्र भएको छ र कतिपय ठाउँमा औपचारिक उत्सवको समूहको प्रतिनिधि पनि बन्न पुगेको छ । संस्कृतिमा महाबिरी झन्डा मेलाको प्रवेश कसरी भयो ? यस प्रश्नको उत्तरको खोजी एउटा अन्वेषणबाट मात्र सम्भव छ तर जनश्रुतिहरु भने अद्यपर्यन्त विद्यमान छन् । एउटा जनश्रुति त सोझै रामायणसित जोडिन्छ । यस प्रदेशमा किन महाबिरी झन्डा बढी मनाइन्छभन्ने सन्दर्भलाई पनि यस लोकोक्तिले बुझ्न सहयोग गर्ला । सर्लाही जिल्लामा बलरा नामको एउटा नगरपालिका छ । यो सर्लाही जिल्लाको दक्षिण पश्चिम कुनामा अवस्थित छ । यस नगरपालिकामा बलरा नाउँको एउटा गाउँ पनि छ । बलरा बजार पनि हो । बजार भएको र बस्ती पनि भएकोले सम्भवतः यसै गाउँको नामबाट बलरा नगरपालिकाको नामकरण भयो होला । त्यस बस्तीको नाम बलरा कसरी रहन पुग्यो त ? यस विषयमा प्रचलनमा रहेको जनश्रुति वा लोक परम्परामा आफ्नै मौलिकता रहेको छ । लंकामा जब रामलाई वाण लागेर मुर्छित बनेका थिए तब त्यहाँका वैद्य सुसेणले हनुमानलाईऔषधीय वनस्पति ल्याउन पठाएका थिए । हनुमान चाहिँ हिमालय पुगेर वनस्पति चिन्न नसकेपछि पहाड नै उचालेर आइरहेका थिए । आकाशमार्गबाट तीव्र गतिमा उडिरहेका हनुमानलाई तिर्खा लागेछ । तिर्खाएका हनुमानले तलतिर हेर्दा नदी देखेछन् । त्यो नदी बागमती थियो । बागमती नदीको स्वच्छ जल खान पाइन्छ र तिर्खा मेट्न पाइन्छ भन्ने विचार गरेर हनुमान बागमती किनारमा ओर्लन्छन् र बागमती नदीको पानीले तृप्त हुन्छन् । रातको समय हुन्छ । हनुमान तृप्त भएर आकाश मार्गतिर फेरि उड्छन् । आकाशबाट हनुमान ओर्लिदा र फेरि आकाश मार्गतिर उड्दा आसपासका मानिसले थाहा पाए । रामप्रति स्वाभाविक जनमत यस क्षेत्रमा रहेको थियो । जब हनुमान लंका पुगेर उनले बोकेको पहाडबाट औषधियुक्त वनस्पतिबाट लक्ष्मणको जीवन जोगिन सफल भयो तब यस क्षेत्रमा झन् लोकप्रियता बढ्न पुग्यो हनुमानको । हनुमानको अर्को नाम बजरंगबलि पनि हो । यसै कारण हनुमान ओर्लेको बस्तीको नजिकको नाम नै विस्तार परिवर्तन हुन थाल्यो । रामप्रति स्थानीय पहिलेदेखि नै श्रद्धानत थिए । लंकामाथि विजय प्राप्त गरेपछि यस क्षेत्रमा रामको गुनगान पनि बढ्न पुग्यो । रामको थप प्रशंसा हुन थाल्यो । रामभक्त हनुमानको त झन् प्रत्यक्ष दर्शन गर्न पाउने कैयौँ थिए । धेरैले आकाश मार्गमा हनुमानलाई देखेका थिए । हनुमानलाई तिर्खा लाखेर तल ओर्लेका थिए । त्यसको चिन्ह पनि थियो । र, लक्ष्मणलाई वाण लागेको थियो । यसले गर्दा लक्ष्मणप्रति सहानुभूति गहिरो थियो । यसरी राम, लक्ष्मण र बजरंगबलि हनुमान सबैको स्नेह पाइने नाम राखिन पुग्यो बलरा । बलरामा रहेका तीन अक्षरमध्ये पहिलो ब अक्षरले बजरंगबलि, दोस्रो ल अक्षरले लक्ष्मण र तेस्रो रा अक्षरले रामलाई समेटेको अझै पनि स्थानीयको विश्वास छ । बलरा नाममा यसरी बजरंगबलि, लक्ष्मणर रामको नामको पहिलो अक्षर समावेश भएको लोक विश्वास रहेको छ । लोक विश्वासको कुनै सीमा त हुँदैन । कुनै बन्देज हुँदैन । लोकले गर्ने विश्वास न हो । लोकको सम्मति कस्तो हुन्छ, त्यसको समय क्रममा कसैले लेखाजोखा गर्न त खोज्दछ तर समग्रमा निष्कर्ष निकाल्न त्यत्ति सम्भव छैन । हुन त आजको युगमा यसलाई कतिपयले अन्धविश्वास पनि मान्लान् तर लोक विश्वास रहेकोले अन्धविश्वास भन्नेको आफ्नो स्वतन्त्रतालाई सम्मान गर्नुपर्दछ । बलरालाई यदि केन्द्र मान्ने हो भने यस क्षेत्रमा हनुमान मन्दिरको संख्या अलिक बाक्लै पाइन्छ । यति मात्र नभएर यसको आसपास हुँदै विस्तृत क्षेत्रमा हनुमान आराधनाको संस्कृति विस्तार भएको देखिन्छ । सामान्यतया अन्यत्र मंगलवार र शनिवार हनुमान आराधना हुन्छ तर यस क्षेत्रमा भने जुनसुकै बार पनि हनुमान आराधना गर्ने चलन चलिसकेको छ वा सामान्य भइसकेको छ । हनुमान आराधना गर्ने टोली (मन्डली) हरुको निर्माण भइसकेको छ । यस प्रकारका मन्डलीहरुलाई खासै फुर्सद हुन्न । अझ हनुमान आराधना गराउने कतिपय
मन्डलीका प्रमुख (व्यास)हरुले राम्रो आय गरिरहेका छन् । कुन महिनाको कुन दिन कहाँ हनुमान आराधना गर्नु वा गराउनु पर्ने छ भनी पहिले नै निर्धारण गरिएको हुन्छ र यसरी पहिले नै निर्धारण गरी बोलाउँदा राम्रो पैसा लिने गरेका छन् । हो, हनुमान आराधनामा पनि व्यावसायिकता हुन थालेको छ । यस संस्कृतिलाई पनि अर्थसित जोडेर हेर्न थालिएको छ । अब यति सम्म पनि हुन थालेको छ कि कुनै शुभ काम हुँदा अन्य पूजा गर्नुभन्दा हनुमान आराधना गर्दा पनि हुन्छ वा अन्य पूजा सँगसँगै हनुमान आराधना गर्दा पनि हुन्छ । हनुमान आराधनाले संस्कृतिमा गज्जबसित स्थान जमाउँदै लगेको देखिएको छ । हनुमान आराधना पनि व्यक्तिगत लगानीमा वा व्यक्तिगत भाकलमा हुने गरेको छ भने सामूहिक वा गमाला पनि हुने गरेको छ । यसै गरी हनुमान आराधना गर्ने समूह वा आस्थावान समूहले गाउँमा वर्षको एक दिन महाबिरी झन्डा मेला लगाउने पनि गरेका छन् । मुख्य गरी असोज शुक्ल पूर्णिमाको दिनदेखि करिब तीन दिनसम्म दक्षिण पश्चिम सर्लाहीका विभिन्न गाउँमा यो उत्सव नै मनाउन थालिएको एउटा संस्कृति नै बसिसकेको छ । हनुमान आराधना गर्ने र झन्डा मेला लगाउने संस्कृतिको अनुकरण पनि व्यापक मात्रामा हुने गरेको छ । अन्य सयौँ गाउँमा विभिन्न समयमा यस प्रकारको मेला लगाउने संस्कृति बनिसकेको छ । मेलासँगै स्थानीय नाचगानका साथै कुस्ती खेलको प्रदर्शनले पनि महत्व पाउँदै गएको छ । गाउँको स्वस्थ धार्मिक मनोरञ्जनको रुपमा महाबिरी झन्डा मेलाले स्थान जमाउँदै गएको छ । मेलाको समयमा महिलाको पनि सहभागिता उच्च रहने गरेको छ । मुख्य गरी सर्लाहीको झन्डा मेलामा महिलाको प्रत्यक्ष वा परोक्ष सहभागिता एउटा संस्कृतिको निर्माण गरिसकेको पाइएको छ । महाबिरी झन्डा मेला भारत बिहारको पनि सीमावर्ती क्षेत्रका धेरै गाउँमा लाग्ने गरेको छ । मेला गाउँको संस्कृति र पहिचानसित पनि जोडिएको देखिन्छ । कतिपय गाउँमा फलानो तिथिमा अनिवार्य मेला लाग्ने गर्दछ र मेला यस्तो प्रकृतिको हुन्छ भनी सर्वसाधारणको मनोविज्ञान नै भइसकेको छ । ग्रामीण झन्डा मेला हेर्नुपर्ने एउटा संस्कृति नै बनिसकेको छ । यस संस्कृतिको अन्तर्यमा हिन्दु धर्मप्रतिको स्वस्थ आस्थाको विस्तार मात्र प्रदर्शित हुँदैन, श्रद्धाको उत्सव पनि हो । महाबिरी झन्डाको इतिहासको खोजी र अन्वेषण तथा अध्ययन हुनु आवश्यक छ । हुन सक्छ, हाम्रो सामाजिक जीवनको एउटा नवीन आविष्कारको रुपमा यसले आफ्नो परिचय बनाउन सकोस् । यसले हाम्रो पहिचानमा थप एउटा नवीनता दिन सकोस् । हुन सक्छ हनुमान आराधना वा झन्डा मेला वा दुवैको प्रादुर्भाव हाम्रै लोकजीवनमा भएको होओस् ।

Comment


Related News

Latest News

Trending News