खोप निर्माताहरूले आउँदाे वर्षको जाडोयाससम्म कोरोना महामारी सामान्य अवस्थामा आउने बताएका छन् ।
औषधि उत्पादक कम्पनी बायोटेकका सह संस्थापक प्राध्यापक उगुर साहिनले आउँदो गर्मीयाममा खोप सफल भइ पहुँचमा उल्लेख्य वृद्धि हुने र त्यसको असरले अर्को जाडो सुरु हुँदासम्म महामारी सामान्य अवस्थामा आउने जनाएको छ । बायोटेकले गएको हप्ता आविष्कार गरेको खोपले ९० प्रतिशत मानिसलाई कोरोना लाग्नबाट बचाउने दाबी गरेको थियो । झण्डै ४३ हजार जनाले याे खाेपकाे परीक्षणमा सहभागिता जनाएका थिए । यो सफलतासँगै अहिले विश्वमा कोरोना महामारीप्रतिको गम्भीर चिन्ता कम हुँदै गएको उल्लेख छ ।
प्राध्यापक सहिनले खाेपले मानिसबीचकाे सङ्क्रमण घटाउने र खाेप लगाएका कसैमा पनि लक्षण विकास हुनबाट राेकिने आशा व्यक्त गर्नुभएकाे छ । याे वर्षकाे अन्त्यसम्म बेलायतले बायाेटेक/फिजर कम्पनीकाे खाेप १० लाख डाेज प्राप्त गर्ने बताइएकाे छ, बेलायतले यसअघि नै तीन कराेड खाेपकाे डाेजकाे अर्डर गरिसकेकाे छ । अहिले ६ देशमा परीक्षण भइरहेकाे खाेपलाई तीन हप्ताभित्र दुई खेप लगाउनुपर्ने हुन्छ ।
यसैबीच विश्वमा एकैदिन चार लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा मात्रै एक लाख २४ हजार पाँच सय ६८ सहित विश्वमा चार लाख ७० हजार चार सयभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा छ हजार चार सय ५३ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । विश्वमा अहिलेसम्म पाँच करोड ४७ लाख ८६ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण भएकोमा १३ लाख २३ हजार आठ सयभन्दा धेरैको ज्यान गइसकेको छ ।