अपडेट 
२०७७ मंसिर २, मंगलवार ०९:३८

विश्वमा एकैदिन पाँच लाखभन्दा धेरैमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । अमेरिकामा मात्रै एक लाख ६१ हजारसहित पछिल्लो २४ घण्टामा पाँच लाख तीन हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको वर्ल्डाेमिटरले जनाएको छ । योसँगै विश्वमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच करोड ५३ लाख ३९ हजारभन्दा धेरै भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा सात हजार तीन सयसहित १३ लाख ३१ हजार सात सयभन्दा धेरैले कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका छन् । कोरोना सङ्क्रमण भएकामध्ये तीन करोड ८४ लाख ८३ हजारभन्दा धेरै निको भएका छन् भने अहिले विश्वभर एक करोड ५५ लाख २४ हजारभन्दा धेरै सक्रिय सङ्क्रमित रहेका छन् ।झण्डै एक वर्षअघि चीनको वुहान सहरमा पहिलो पटक कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकोमा अहिले विश्वका दुई सय १७ देशमा पुगिसकेको छ । नौ वटा देशले भने सक्रिय सङ्क्रमितको सङ्ख्या शून्यमा झारेर कोरोनामुक्त भएका छन् । भाइरस सुरु भएको चीनमा पनि अहिले तीन सय ७४ जना मात्रै सक्रिय सङ्क्रमित रहेका छन् ।

कोरोना सङ्क्रमणको पहिलो लहर ठिक नहुँदै दोस्रो लहरको सङ्क्रमण फैलिएपछि युरोपलगायतका देश फेरि समस्यामा पर्न थालेका छन् । सङ्क्रमण बढेपछि युरोपेली देशमा फेरि लकडाउन तथा विभिन्न किसिमका प्रतिबन्ध सुरु गरिएका छन् । बेलायत, इटली, फ्रान्सलगायतका देशले कतै लकडाउन, कतै निषेधाज्ञा त कतै कर्फ्यु नै जारी गरेका छन् ।यसैबीच विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस एड्हानम गेब्रेसियसले विश्वमा कोरोना भाइरस सङ्क्रमणको महामारी अन्त्यका लागि खोपको विकास र प्रयोगले मात्रै काम नगर्ने बताउनुभएको छ । उहाँले खोप महामारी नियन्त्रणका लागि अरू सबै उपायमध्येको एउटा उपाय मात्रै भएको भन्दै सङ्क्रमितको मृत्युदर नियन्त्रण गर्ने र स्वास्थ्य प्रणालीलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

कोरोनाविरुद्धको खोप चाँडै प्रयोगमा आउने आशा बढिरहेको बेला विश्व स्वास्थ्य सङ्गठनका प्रमुख गेब्रेसियसले अनुगमन र परीक्षण अझै बढाउँदै बिरामीलाई समुदायको सम्पर्कबाट टाढा राख्नु र हरेक व्यक्तिले सावधानी अपनाउनु नियन्त्रणको प्रभावकारी उपाय भएको बताउनुभयो । उहाँले खोपको आपूर्ति सुरुमा नियन्त्रित रूपमा वितरण हुने र यसको प्राथमिकतामा स्वास्थ्यकर्मी, पाको उमेरका व्यक्ति र अरू जोखिममा रहेका मानिसलाई रहनुपर्ने बताउनुभयो । 

Comment


Related News

Latest News

Trending News