
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न भएको छ ।
बैठक पुनः दशदिनपछि बस्ने गरि सम्पन्न भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभएको हो । बैठकपछि पार्टी प्रवक्ता समेत रहनुभएका नारायणकाजी श्रेष्ठले पार्टीको संकटलाई लिएर त्यसको निवारणका लागि छलफल गर्न आज बसेको सचिवालय वैठकमा अध्यक्ष केपी शर्मा ओलीले अर्को राजनीतिक प्रस्ताव पेश गर्ने जानकारी गराउनु भएको बताउनुभयो ।
मंसिर १३ गते बस्ने सचिवालयको अर्को वैठकमा यसअघि बैठकमा प्रस्तुत सबै विषयका साथै अध्यक्ष ओलीका तर्फबाट प्रस्तुत गरिने प्रस्तावका बारेमा पनि छलफल गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । यसअघि मंसिर १५ गते बस्ने भनिएको स्थायी कमिटी वैठक मंसिर १८ गतेका लागि सारिएको पनि उहाले जानकारी दिनुभयो । यस्तै मंसिर २५ गते केन्द्रीय समिति वैठक बस्ने निर्णय पनि सचिवालय वैठकले गरेको छ ।
बुधबारको सचिवालय बैठकमा महासचिव विष्णु पौडेलले सबै सचिवालय सदस्यले सामूहिक राजीनामा दिन प्रस्ताव राख्नुभएको थियो । बैठकमा पौडेलले नेकपाभित्र अहिले जारी विवाद कायम रहे आफूहरू कम्युनिष्ट आन्दोलनको अन्तिम मलामी हुने बताउनुभएको थियो । यस्तो हुन नदिन नौ जनाले नै सचिवालय सदस्यबाट राजीनामा दिन उहाँले प्रस्ताव गर्नुभएको थियो । नयाँ पुस्तालाई सचिवालयमा ल्याउन स्थायी समितिमा पनि प्रस्ताव लैजान महासचिव पौडेलले प्रस्ताव राख्नुभएको थियो ।