अपडेट 
२०७७ मंसिर ५, शुक्रबार ०७:२१

जलेश्वर । महोत्तरी गाउँपालिका वडा नं.२ अनैठामा अवस्थित सीताराम ठाडेश्वर महादेव मन्दिरको प्राङ्गणमा सन्त कुटी (साधना केन्द्र)को शिलान्यास गरिएको छ ।

प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादव र भारत हरिद्वारका स्वामी हन्सानन्द गिरीले संयुक्त रुपमा सन्त कुटीको शिलान्यास गरेका हुन् । त्रेता कालमा माता सीताको विवाहोत्सव पश्चात अयोध्या जन्ती फर्किने क्रममा यहाँ जन्तीहरुले विश्राम गरेको किम्बदन्ती छ । त्यसैले यस ठाउँको नाम ठाडेश्वर भएको पाईन्छ । यहाँ माता सीतालाई उनका सखी, सम्बन्धीहरुले पानी खुवाएर विदा गरेको बताइन्छ । शिलान्यास पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कानुनमन्त्री यादवले यहाँ शान्तिको अनुभूति हुने गरेको बताए । नेपाल सरकार, प्रदेश सरकार तथा भारत सरकारले त्रेताकालमा माता सीताको विवाहोत्वसको लागि अयोध्याबाट जन्ती आएको बाटोलाई रामायण सर्किटको रुपमा अगाडी बढाएको बताए ।

रामसंग जोडिएको इतिहासलाई मात्रै जोडिएर रामायण सर्किट अहिले चर्चामा रहेपनि माता सीताजी अयोध्या फर्किएको बाटोलाई जोडेर पनि प्रदेश सरकारले योजना अगाडी बढाउने आश्वासन दिए । मिथिलामा उपेक्षित रहेको धार्मिक, ऐतिहासिक स्थलहरुको प्रदेश सरकारले विस्तारै उजागर गर्ने योजना बनाएको मन्त्री यादवले जनाए । प्रदेश सरकारले यो स्थलको विकास गर्ने योजना अगाडी बढाउने प्रतिबद्धता मन्त्री यादवले जनाए । उनले जनकपुरबाट जन्ती फर्किने क्रममा ठाडेश्वरनाथ, जलेश्वरनाथ, बालमिकेश्वर स्थानको दर्शन गर्दै माता सीताजीको डोली भारत बिहारको पंथपाखरमा राखिएको थियो जो अहिले पनि दर्शनीय रहेको बताउँदै रामायण सर्किटबारे धेरैलाई जानकारी भएपनि जन्ती फर्किएको बाटोबारे थोरैलाई ज्ञात भएको उनले थपे । उनले मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेश सरकारले ठाडेश्वरनाथ मन्दिरसंगै रहेको पोखरीको सौन्दर्यीकरणको लागि ११ करोड रुपैयाँको टेण्डर लागिसकेको जानकारी गराउदै उनले छिट्टै नै प्रदेश सरकारले यो स्थलको विकासको लागि योजना बनाउने जानकारी दिए ।

सो अवसरमा हरिद्वारबाट आएका स्वामी हन्सानन्द गिरीले तीन वर्षमा आफु यहाँ पाँच वर्ष आइसकेको जानकारी गराउदै यो ठाउँलाई पर्यटकीय, धार्मिक रुपमा बनाउन आफुबाट हुन सक्ने हरसम्भव प्रयास गर्ने बताए । हरिद्वार, बनारस तथा अयोध्याबाट आउने सन्तहरुलाई मिथिलाको भ्रमण गर्न सजिलोको लागि सन्त कुटीको निर्माण भइरहेको बताए । सो ठाउँमा पाँच वटा सन्तु कुटीको निर्माण गरिने ठाडेश्वरनाथ महादेव मन्दिरका संयोजक नविन नवलले जानकारी दिनुहुदै परम्परागत तथा हावादार प्राकृतिक कुटी बनाइने बताए ।

Comment


Related News

Latest News

Trending News