शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिइ छठ समापन गरिएको छ ।
शुक्रबार बेलुकी अस्ताउन लागेको र आज (शनिबार) उदाउँदो सूर्यलाई अघ्र्य दिई पूजार्चना गरी पर्व समापन गरिएको छ । वर्तालुले विभिन्न जलासय, पोखरी, घरमै दुवै हत्केलामा पिठार र सिन्दूर लगाई अक्षता, फूल लिएर आफ्नो खेतबारीमा उत्पादन भएका सामग्री र घरमा बनाइएको विशेष प्रकारको पकवान सूर्यलाई अघ्र्य अर्पण गरेका हुन ।
अघ्र्यमा ठेकुवा, कसार, केरा, उखु,नरिवल, अदुवा, मेवा मिष्ठान्न, गेडागुडी र विभिन्न वनस्पति, भुसुवा, माटाको हात्ती, सुप, कनसुपती, कलशसहितको घैँटो राखिन्छ। सूर्यलाई दिइने अघ्र्यमा ठेकुवालाई समृद्धि, उखुलाई आरोग्य, केरालाई विष्णु र कृषि उत्पादनलाई प्रकृतिप्रति कृतज्ञताको द्योतक मानिन्छ। छठ पर्वमा महिलाको अगुवाइमा समाज र परिवारको हितका लागि संकल्प गरिन्छ। अस्ताउने र उदाउने दुई वटै सूर्यलाई अभिनन्दन गर्नाको अर्थ जीवनमा सुखदुःख, रोदन र हाँसोलाई समानरूपमा र जीवनकै पाटाका रूपमा लिइनु हो ।
तराईको जनकपुर, वीरगञ्ज र राजधानी काठमाडौंमा चैते छठ मनाउनेको संखया बृद्धि हुँदै आएको छ। खास गरेर तराईको हिन्दु धर्मावलम्बीहरुबीच अत्यन्त लोकप्रिय रहदै आएको छठ पर्वलाई धार्मिक आस्था र सामाजिक सदभावको प्रतिकको रुपमा लिने गरिएको छ। छठ पर्वको मूल सन्देश भनेकै समन्वय, समावेशी र सादगीपन हो।
सुरुमा तराई मूलले मात्रै मान्दै आएको यो पहाडी समुदायले पनि विधि र श्रद्धापूर्वक मान्न थालेका छन्। यो पर्व मधेशी र पहाडी समुदायको धर्म, संस्कृति, चाडपर्व, रहन सहनलाई जोडने, सम्मान र श्रद्धा गर्ने सेतु तथा समावेशी पर्वका रुपमा स्थापित भएको छ ।शिव र शक्तिको संयुक्त पूजा हुने छठ पर्वमा सबै मनोकामना पुर हुने क्षमता भए पनि खासगरी पुत्र लाभ र असाध्य रोगबाट छुटकारा पाउने विश्वासका साथ यो पर्व मनाउने गरिन्छ।
सूर्य स्नान र सूर्यको किरणमा छाला लगायतका रोग नियन्त्रण तथा निवारणक्षमता जस्ता बैज्ञानिक तथ्यहरु समेत भेटिएकोले धार्मिक एवं वैज्ञानिक संगमको रुपमा छठ पर्वलाई लिइने गरिएको छ ।सदभाव र प्रेम तथा आस्थाको पर्व छठ कुनै जाति विषेशको नभएकोले यो पर्व मधेश, पहाड, बंगाली, माडवारी, मुस्लिम सवै वर्ग र समुदायका ब्यक्तिहरुले प्रत्यक्ष वा परोक्ष तरिकाले मनाउने गरेका छन्।