अपडेट 
२०७७ मंसिर १०, बुधबार ०६:३६

विश्वमा सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भारतलाई मानिन्छ । हरेक पाँच वर्षमा त्यहाँ निर्वाचन हुन्छ । भारतमा केन्द्र तथा प्रदेशको निर्वाचनप्रति देश र विदेशको ठूलो चासो हुन्छ । त्यहाँ इभिएम (विद्युतीय भोटिङ मेसिन)द्वारा मतदान गरिन्छ । मतपत्रको प्रयोग अब त्यहाँ हुँदैन । विद्युतीय मसिनले मतदान हुन थालेपछि मतगणनामा खासै झमेला हुँदैन र मत परिणाम पनि छिटो आउने हुन्छ । अहिले केही हप्तापहिले विभिन्न चरणमा गरी नेपालसँग सीमा जोडिएको र अझ प्रदेश २ सित सीमा जोडिएको तथा निकै घनिष्ट सम्बन्ध भएको बिहार प्रान्तमा निर्वाचन सम्पन्न भई नयाँ सरकारको गठन पनि भएको छ । पहिले जुन गठबन्धनको सरकार थियो अहिले पनि सोही गठबन्धनको सरकार गठन भएको छ । बिहारमा सम्पन्न चुनावको हाम्रो प्रदेशका नागरिकले निकै चासोका साथ हेर्ने गरेको र नतिजालाई पनि अत्यन्त निकटबाट विश्लेषण गर्ने गरेका छन् ।

हुन पनि हो, एकातिर बेटीरोटीको सम्बन्ध छ भनिन्छ भने अर्कोतिर लोकतान्त्रिक चासो पनि छ । थपमा, भाषा, संस्कृति आदि धेरै कुरा निकट पनि छ । यसले गर्दा चुनाव सम्पन्न भइसकेपछि र चुनावको नतिजा आइसकेपछि पनि चुनावको विभिन्न कोणले विश्लेषण गरिएको छ । बिहार विधानसभाको चुनावको यहाँ पनि संक्षेपमा विभिन्न कोणबाट जानकारीमूलक विश्लेषण गरिएको छ । हामीलाई राम्ररी थाहा छ कि बिहार विधानसभामा २४३ विधायक छन् । सबै विधायक प्रत्यक्ष निर्वाचित हुन्छन् । यस पटकको निर्वाचनमा निकै नजिकको प्रतिस्पर्धा हुने विश्वास गरिएको थियो र भयो पनि । यद्यपि निर्वाचन सम्पन्न हुनासाथ अधिकांश मिडियाले देखाएको एक्जिट पोलको जस्तो नतिजा भने आएन । यसबाट यो पनि विश्लेषण गर्न सकिन्छ कि सर्वसाधारण मतदाता आफ्नो मतदानको गोप्य अधिकारलाई बाहिर प्रदर्शन गर्न खासै चाहँदैनन् । मुख्य गरी बिहारका मतदातामा यो प्रवृत्ति देखियो कि मतदान हो र मतदान गरेपछि कसैले सोध्दा आफूले गोप्यरुपमा गरेको मतदानको बारेमा बताउन हिच्किचाउँछन् अर्थात् एक्सपोज हुन नचाह्नु बिहारी मतदाताको यसपटकको विशेषता रह्यो वा एक्जिट पोलका लागि सोधिएका मतदाताहरुमध्ये उत्तर दिने अधिकांश मतदाताभन्दा उत्तर नदिने मतदाताको मत फरक रहेको थियो ।

यसपटक एक्जिट पोलले बिहारमा विश्वास जमाउन सकेन । ज्ञातव्य छ, बिहारमा सबैभन्दा ठूलो पार्टीकारुपमा राष्ट्रिय जनता दल (राजद) भएको छ भने एक सिटले भारतीय जनता पार्टी (भाजपा) दोस्रो ठूलो पार्टी बन्न सफल भएको छ । भारतीय काँग्रेस आईले अपेक्षाकृत कम सिटमा विजय हासिल गरेको छ । यद्यपि तेस्रो ठूलो दल बन्न पुगेको छ । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) मालेले १२, हिन्दुस्तान अवाम मोर्चा (हम)ले चार, विकासशील इन्सान पार्टी (भिआइपी)ले चार, भाकपा तथा माकपाले दुई दुई, बहुजन समाजवादी पार्टी (बसपा) र लोक जनशक्ति पार्टी (लोजपा)ले एक एक सिट जित्नुका साथै एक सिटमा निर्दलीय÷स्वतन्त्र उम्मेदवारले विजय हात पारेका छन् । यसै गरी एआई एमआईएमले पनि पाँच सिटमा जित हासिल पारेको छ । बिहार विधानसभाको वर्तमान स्वरुप हेर्दा पहिलेको अनुमानभन्दा वामपन्थीहरुको उपस्थिति बढी भएको छ । सन् २०१० को चुनावमा बिहार विधानसभामा एकजना मात्र वामपन्थी विधायक थिए भने सन् २०१५ को विधानसभामा भाकपा मालेबाट तीन जना विधायकले बिहार विधानसभामा आफ्नो उपस्थिति जनाएका थिए ।

यसपटक महागठबन्धनसित मिलेर वामपन्थी पार्टीहरुले २९ सिटमा चुनाव लडेकामा १६ सिटमा चुनाव जितेपछि वामपन्थीहरुको ठूलो विजय भएको मानिएको छ । बिहारमा सामान्यता गठबन्धनमै चुनाव लड्ने परिपार्टीको विकास भएको छ । देशका दुईठूला पार्टीहरु काँग्रेस र बिजेपीले पनि बिहारमा गठबन्धनमै चुनाव लडेका हुन् । वामपन्थीहरुको खासै पकड नमानिएको बिहारमा गठबन्धनमा चुनाव लड्न पाएको सिटमध्ये आधाभन्दा बढीमा विजय हासिल गर्नुलाई वाम विश्लेषकहरुले सकारात्मक मानेका छन् । पछिल्ला तीन विधानसभा निर्वाचनमा क्रमशः वामपन्थीको संख्यागत हैसियत बिहार विधानसभामा बढेकोमा सन्तोष मान्नुपर्ने देखिन्छ । भनिन्छ, बिहार तुलनात्मक रुपले गरिब प्रान्त हो रे । तर त्यहाँको विधानसभामा धेरै धनीहरुको प्रवेश भएको छ । एक सर्वेक्षणअनुसार बिहार विधानसभाका २४३ विधायकमध्ये १९४ जना करोडपति छन् । प्रतिशतको हिसाबले हेर्न हो भने बिहार विधानसभामा करोडपतिको प्रतिशत ८१ रहेको छ ।

बिजेपी (भारतीय जनता पार्टी)का ७३ विधायकमध्ये ८९ प्रतिशत अर्थात् ६५ जना करोडपति छन् भने आरजेडी (राष्ट्रिय जनता दल)का ७४ विधायकमध्ये ८७ प्रतिशत अर्थात् ६४ जना करोडपति छन् । बिहार विधानसभाका दुवै ठूला दलमा करोडपतिहरुको संख्या पर्याप्त गरेको छ । जेडियु (जनता दल युनाइटेड)का ४३ विधायकमध्ये ३८ जना करोडपति छन् भने काँग्रेसका १९ विधायकमध्ये १४ जना करोडपति छन् । जेडियू र काँग्रेसमा तुलनात्मक रुपमा करोडपतिहरु बढी रहेको देखिएका छन् । बिहार विधानसभामा विभिन्न कम्युनिष्ट पार्टीबाट निर्वाचित विधायकहरुको सम्पत्ति केही लाखमा सीमित देखिएको छ । पहिलोचोटि बिहारमा महिला उपमुख्यमन्त्रीबनेपछि बिहार बिधानसभामा महिलाको उपस्थितिको बारेमा पनि चर्चा सुरु भएको छ । बिहारको बिधानसभामा पुग्ने सबै विधायकहरु प्रत्यक्ष निर्वाचित हुन्छन् । यसभन्दा पहिलेको विधानसभामा २८ महिला विधायक थिए भने अहिलेको नयाँ विधानसभामा बिहारमा २६ महिला विधायक निर्वाचित भएका छन् ।

विधानसभामा निर्वाचित हुनका लागि ३७० महिला उम्मेदवार यसपटकको बिहार विधानसभाको निर्वाचनको मैदानमा थिए । निर्वाचित महिला विधायकहरुमा भाजपाका नौ, राजदका सात, जदयुका छ तथा काँग्रेसका दुई तथा हमर भिआइपीका एक एक जना रहेका छन् । हो, उम्मेदवार बनाउने दृष्टिकोणले पनि यदि विश्लेषण गर्ने हो भने महिलालाई तुलनात्मक रुपमा कमै प्रतिस्पर्धामा दलहरुले उतार्ने गरेका छन् र निर्वाचित संख्याको दृष्टिकोणले पनि विचार गर्ने हो भने बिहार विधानसभामा महिलाको उपस्थिति खासै धेरै देखिएको छैन । उपमुख्यमन्त्रीमा महिलाको पहुँचले बिहारमा महिलाको सम्मान भने बढाएको छ । महिला उपमुख्यमन्त्रीको राजनैतिक यात्रा र सम्मानलाई देखेर अब बिहारमा पनि महिला थप उत्प्रेरित हुने र महिलाअधिकारको व्यावहारिक पक्षमा थप सकारात्मक कामहरु हुने आशा भने जगाएको छ । महिला उपमुख्यमन्त्री हुनु बिहारका महिलाको लागि एउटा गर्वको विषय हो ।

चर्चित तथा प्रतिष्ठित परिवारका व्यक्तिहरुले पनि चुनावमा उम्मेदवार बनेर पराजित भएका छन् । भारतीय हिन्दी चलचित्रमा बिहारी बाबूका उपनामले परिचित चर्चित अभिनेता शत्रुघ्न सिन्हाका छोरा लव सिन्हाले चुनाव हारेका छन् । पहिले भाजपाका नेताको रुपमा आफ्नो पहिचान बनाएका चर्चित अनिनेता तथा नेता सिन्हाले भाजपा परित्याग गरी काँग्रेसमा प्रवेश गरेका थिए । अभिनेता सिन्हाका छोरा लव सिन्हाले पहिलोपटक चुनाव लडेका थिए तर पराजित भएका छन् । यसै गरी चर्चित राजनीतिज्ञ शरद यादवकी छोरी सुभाषिनी यादवले पनि चुनाव हारेकी छन् । जदयुका पूर्वअध्यक्ष समेत रहेका शरद यादवको राजनीतिक विरासतलाई छोरीले पनि कायम राख्ने विश्वास गरिएको थियो । सन् १९७० मा दश महीनाको लागि मुख्यमन्त्री बनेका दरोगा रायका छोरा चन्द्रिका रायले पनि चुनाव हारेका छन् । बिहारमा लामो समयसम्म शासन गर्नेमा वर्तमान मुख्यमन्त्री नीतिशकुमारको नाम पनि जोडिन आउँछ । उनको शासनलाई सामाजिक विकास र भौतिक पूर्वाधार दुवै दृष्टिकोणले राम्रो मानिएको छ । नवयुवा पुस्ताको चाहना केही हदसम्म सरकार परिवर्तनको रहेको चुनाव प्रचार प्रसारको क्रममा देखिएको थियो तर अझै पनि बिहारको चुनावमा नवयुवा पुस्ताको हस्तक्षेपकारी भूमिका निर्णायक बन्न सकेन ।

बिहारमा बेरोजगारीको मुद्दाले यसपटक धेरै चचापाएको थियो । लकडाउनको कारण विभिन्न प्रान्तबाट बिहारस्थित आफ्नो घर फर्केका मतदाताहरुले आफूले काम गरेको ठाउँको शासन पद्धतिजस्तो बिहारमा हुन नसकेको गुनासो पनि थियो । यद्यपि नीतिशलाई नै मुख्यमन्त्री बनाइने बिजेपीको निरन्तरको भनाइमा समग्रमा बिहारले विश्वास गरेको देखिन्छ । बिहारी नागरिकले गत केही दशकमा आफ्नो पहिचान सकारात्मकतामा परिवर्तन गर्दै लगेका छन् । देशको धेरै क्षेत्रमा योगदान दिइरहेका छन् । कोरोनाकै क्रममा भएको निर्वाचनमा बिहारी नागरिकले एकपटक उही गठबन्धनमाथि विश्वास गरेर आगामी पाँच वर्ष सुशासन खोजेका छन् । गत पन्ध्र वर्षमा विश्वमा यति धेरै किसिमले परिवर्तनहरु आइसक्दा पनि बिहारी मतदाताले नीतिशकुमारकै गठबन्धनमाथि विश्वास गरेर नीतिकुमारलाई नै मुख्यमन्त्री स्वीकार गर्नु उनको निक्कै ठूलो सफलता हो भन्ने कुरा स्पष्ट हुन आउँछ ।

उनीमाथि गठबन्धनको विश्वास र उनीमाथि त्यहाँको नागरिकको विश्वासले धेरै अर्थ राखेको छ ।

Comment


Related News

Latest News

Trending News