अपडेट 
२०७७ मंसिर ११, बिहीबार ०८:२२

प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादवले अन्तर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्यारालाई कारबाही गर्नुपर्ने बताएका छन् ।

आफ्ना व्यक्तिगत स्वार्थ पूर्ति गर्नका लागि अन्तर्राष्ट्रिय जगतमा पहिचान बनाउन सफल रौतहटका अंतर्राष्ट्रिय कुस्ती खेलाडी उपेन्द्र दास बैरागीको हत्या गर्ने हत्यारालाई अविलम्ब हथकडी लगाउनुपर्ने राज्यमन्त्री यादवले बताए । रौतहटको गरुडा नगरपालिका १ जयनगरमा बुधबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै राज्यमन्त्री यादवले यस्तो बताए । आफ्नो निहित स्वार्थका लागि नेकपाको एक नेताको योजनामा बैरागीको गोली हानी हत्या गरिएको उनले दावी गरे । जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य समेत रहेका राज्यमन्त्री यादवले सत्ता र पावरको आडमा बैरागी सहित कयौं व्यक्तिको हत्यारा रौतहटमा खुलेआम घुमिरहेको बताए । आधा दर्जन भन्दा बढी निर्दोष व्यक्तिको हत्या गर्ने हत्यारालाई सरकारले अहिलेसम्म कारवाही गर्न नसक्नु र उसले सत्ता र पावरको बलमा खुलेआम घुम्नुलाई उनले दुखद बताए ।

विगतका दिनमा भएका विश्व हिन्दु परिषद महासंघका अध्यक्ष काशीनाथ तिवारी, खेसरहियाका शिक्षक सुनिल यादव, पतौराका कृष्ण साह, मनक राय, रामदेव यादव, नथुनी यादव, दोस महम्मद लगायतका व्यक्तिको हत्या नेकपाका रौतहटका नेताको योजनामा भएको भन्ने कुरा जनताले स्पष्ट रुपमा बुझिसकेको मन्त्री यादवले बताए । राज्यमन्त्री यादवले यी सबै व्यक्तिको हत्यारा रौतहटमा खुलेआम घुमिरहेकोले अविलम्ब नियन्त्रणमा लिई कारवाही गर्न सरकारसँग माग गरे । नेकपाका केहि नेताको अहंकार, जातिय उन्माद, अपराधिक गतिविधि, अपराधिक चिन्तन तथा सोचका कारण रौतहटमा नेकपातर्फ सर्वसाधारण जनताको वितृष्णा जागेको राज्यमन्त्री यादवले दावी गरे । नेकपाको ती नेताको गलत सोच, नीति तथा गलत सिद्धान्तका कारणले गर्दा सिंगो नेपाल कम्युनिष्ट पार्टी नै बदनाम हुँदै गएकोले उक्त नेताप्रति नेकपाका शीर्ष नेताहरुले ध्यान दिनुपर्ने आवश्यक रहेको उनले थपे ।

विभिन्न हत्याकाण्डका दोषीलाई कानुनी दायरामा ल्याउनुपर्ने र पीडितले न्याय पाउनुपर्ने राज्यमन्त्री यादवले बताए । कार्यक्रममा नेकपा र कांग्रेस परित्याग गरी एक दर्जन भन्दा बढी व्यक्ति जनता समाजवादी पार्टी नेपाल मा प्रवेश गरेका छन् । नेकपाबाट शेख जफिर, बैतुलाल अंसारी, दुर्गा चौधरी,काशी साह त्यस्तै कांग्रेस बाट लालबाबु भन्ने लालबहादुर यादव, जितेन्द्र प्रसाद यादव, राजेश बैठ, जुनैदा लगाएका दर्जनौं व्यक्ति जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने सबैलाई कार्यक्रमका प्रमुख अतिथि कृषि राज्यमन्त्री यादवले टिका र माला लगाएर पार्टीमा स्वागत गरेका छन्

Comment


Related News

Latest News

Trending News