अपडेट 
२०७७ मंसिर १२, शुक्रबार ०६:५२

मुख्यमन्त्री लालबाबु राउत र संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ बीच बिहीबार भेटघाट भएको छ ।

संघीय सरकार शहरी विकास मन्त्रालयबाट प्रदेश नं. २ मा जारी विकास निर्माणका कार्यहरुको स्थलगत निरीक्षणको क्रममा प्रदेश २ को भ्रमणमा आएका मन्त्री श्रेष्ठ र मुख्यमन्त्री राउत बीच मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा भेटघाट भएको हो । भेटघाटको क्रममा मुख्यमन्त्री राउतले विकास निर्माणको कार्यमा एकरुपता ल्याउन तीनै तहका सरकार बीच समन्वय र सहकार्य हुनु पर्नेमा जोड दिए ।

उनले विकास निर्माणको काम जनताकै लागि गर्ने भएकोले तीनै तहका सरकारले समन्वय गरेर अघि बढनुपर्ने बताए । मुख्यमन्त्री राउतले धार्मिक पर्यटकीय विकासका साथै जनकपुरधामको लागि ल्याण्डफिल साइट निर्माणमा सहयोग गर्न संघीय मन्त्री श्रेष्ठलाई आग्रह गरे । छलफलको क्रममा संघीय शहरी विकास मन्त्री श्रेष्ठले प्रदेश सरकारले नीति तथा कार्यक्रममा समेटिएको सप्तरीदेखि पर्सासम्मको धार्मिक पर्यटकीय करिडोर निर्माणमा सहयोग गर्ने प्रतिवद्धता जनाए । आफनो मन्त्रालयबाट प्रदेशमा हुने सम्पूर्ण विकास निर्माणको कार्यमा प्रदेश सरकार संग समन्वय गरेरै अघि बढ्ने प्रतिबद्धता जनाए ।

भेटघाटको क्रममा शहरी विकास मन्त्रालयका सचिव रमेश सिंहले प्रदेश नं. २ मा शहरी विकास मन्त्रालयद्वारा जारी विकास निर्माणको कामहरु बारे ब्रिफिङ गरेका थिए । उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री राम नरेश राय, जनता समाजवादी पार्टीका सचेतकद्वय शैलेन्द्र कुमार यादव, परमेश्वर साह, प्रमुख सचिव लगायत मन्त्रालयका सचिवहरु, शहरी विकास मन्त्रालयका पदाधिकारीहरु सहितको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News