अपडेट 
२०७७ मंसिर १५, सोमबार ०७:४१

महन्थ ठाकुरले संघ सरकारले प्रदेश सरकारलाई पंगु बनाउन खोजेको आरोप लगाएका छन् ।

महोत्तरीको बनौलीस्थित विद्यापती डिह लक्ष्मीसागर पोखरीको सौन्दर्यीकरण शिलान्यास समारोहमा भर्चुअल माध्यमबाट बोल्दै अध्यक्ष ठाकुरले प्रदेश सरकार गठन गरिएपनि सम्पुर्ण अधिकार संघ सरकारकै निहितमा राखेको तथा प्रदेश सरकारलाई वेकम्मा बनाई संघियता नै धरापमा पार्ने षडयन्त्र गरेको आरोप लगाए । बहुमतको दम्भमा रहेको संघ सरकार अहिले पनि स्थिर छैन, उनले भने–‘बहुमतको सरकार रहेपनि जनताले पाउनुपर्ने उपलव्धी पाउन सकेको छैन ।’ उनले कोरोना संक्रमणका कारण वन्द गरिएको सीमा सहजता भइसकेको अवस्थामा खोल्नुपर्ने बताए । सीमावर्ती क्षेत्रमा बस्नेको भाषा भेष केन्द्र जस्तै नभएको कारण सीमालाई जवरजस्ती बन्द गरिएको बताउदै उनले तत्काल खोल्नुपर्ने माग गरे ।

कार्यक्रममा प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विद्यापती डीह पोखरीको सौन्दर्यीकरण भएपछि बनौली गाउँ पर्यटकीय क्षेत्रको रुपमा विकास हुने विश्वास व्यक्त गरे । उनले यो क्षेत्र प्रदेशको राजधानीको नजिकै रहेकोले सडक सुधारका लागि सम्वन्धि मन्त्रीलाई पहल गर्नको लागि आग्रह गर्दै विद्यापतीको संग्रहालय बनाउनमा प्रदेश सरकारले मद्दत गर्ने प्रतिवद्धता जनाए । मिथिला र मैथिली भाषामा योगदान दिएका विद्यापतीको स्मृति दिवस प्रदेशको सबै जिल्लामा मनाउनका लागि पहल थालिने उनले थपे । उनले शिलान्यास गरिएको पोखरीको सौन्दर्यीकरण दुई वर्ष भित्रै सम्पन्न गरिने र यसमा प्रदेश सरकारले निरन्तर चासो लिने प्रतिवद्धता जनाए । मुलुककै ठुलो मन्दिरको रुपमा रहेको जानकी मन्दिरलाई सौन्दर्यीकरणको कार्य शुरु गरिएको र देशकै सबैभन्दा पर्यटकीय स्थलका साथै धार्मिक क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले बताए ।

विद्यापती डिह लक्ष्मीसागर पोखरीको सौन्दर्यीकरणका लागि ८ करोडमा ठेक्का लागेको छ भने दुई वर्ष भित्र सौन्दर्यीकरण गर्नुपर्ने समयसीमा तोकिएको छ । सो अवसरमा प्रदेश सरकारका राज्यमन्त्री, प्रदेश सांसद लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

Comment


Related News

Latest News

Trending News