२०७७ मंसिर १६, मंगलवार ०९:०४

३३ औँ विश्व एड्स दिवस, आज सचेतनामूलक कार्यक्रम गरी मनाइँदै छ ।

एचआईभी नियन्त्रण तथा रोकथामका लागि विश्वव्यापी ऐक्यवद्धता तथा साझा जिम्मेवारी भन्ने नारासहित आज विविध कार्यक्रम हुँदैछ । कोरोना भाइरसको महामारीका कारण एचआईभी सङ्क्रमित र एचआईभी सर्न सक्ने जोखिममा रहेका समूहलाई स्वास्थ्य सेवा पहुँचमा चुनौती बढेको छ । एचआईभी सङ्क्रमित व्यक्ति एड्सको अवस्थामा पुग्नका लागि दशौँ वर्ष लाग्छ । समयमै पहिचान भएर उपचार भएमा एड्सको अवस्था आउँदैन । रगतको परीक्षण गरेपछि एचआईभी भए नभएकोबारे थाहा हुन्छ । विशेष गरेर असुरक्षित शारीरिक सम्पर्क गर्ने व्यक्ति, सुईमार्फत ड्रग्स लिने व्यक्तिले एचआईभीको जाँच समयमै गराउनु पर्ने हुन्छ।

एचआईभी सार्ने मुख्य कारणमध्ये नेपालमा ७६ प्रतिशत असुरक्षित शारीरिक सम्पर्कबाट नै सर्ने गरेको अनुसन्धानले देखाएको छ । त्यसैगरी, ड्रग्समा फसेका मानिसले सुई आदान–प्रदान गरेको अवस्थामा र सङ्क्रमित आमाबाट जन्मिएका २५ प्रतिशत बच्चामा एचआईभी सङ्क्रमण हुने सम्भावना हुन्छ । कहिलेकाहीँ गुणस्तरहीन किटबाट रगत परीक्षण गर्दा पनि एचआईभी हुने सम्भावना हुने डाक्टरले बताएका छन् । सरकारले एचआईभी सङ्क्रमितलगायत उनीहरुको परिवारका सदस्यलाई नि:शुल्क स्वास्थ्य बीमा कार्यक्रम लागूू गरेको छ ।

सरकारले सन् २०१० देखि २०१९ सम्म एड्सका कारण हुने मृत्युदर ८५ प्रतिशतले घटाएको दाबी गरेको छ । यस्तै, स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ सङ्क्रमण हुने दर ६४ प्रतिशतले घटेको छ। दिगो विकास अन्तर्गत सन् २०३० सम्ममा एड्सको महामारी अन्त्य गर्ने प्रतिवद्धताका साथ योजना बनाएर काम गरिरहेको स्वास्थ्यमन्त्री भानुभक्त ढकालको दाबी छ । एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ तारिखमा यो दिवस मनाइन्छ ।

Comment


Related News

Latest News

Trending News