अपडेट 
२०७७ मंसिर १७, बुधबार ०७:१५

मानव आफैँमा स्वतन्त्र प्राणी हो । ऊ स्वतन्त्र जन्मन्छ र स्वतन्त्र नै मर्दछ । मानवको स्वतन्त्रतामाथि क्षणिक हस्तक्षेप मात्र सम्भव छ । एक जना स्वतन्त्रताप्रेमी विद्वानले भनेका छन् – मानिस स्वतन्त्र जन्मन्छ तर उसले आफूलाई विभिन्न बन्धनमा पाउँछ । मानिसका अगाडि विभिन्न बन्धनको पहिलो अर्थ उसका पारिवारिक तथा सामाजिक बन्धन हुन सक्छन् जुन उसले जन्मजात नाता वा छिमेकीको रुपमा पाउँछ । अन्य बन्धन भन्नाले सांस्कृतिक, धार्मिक, राजनैतिक वा कानुनी बन्धन वा समाजलाई व्यवस्थित बनाउन प्रचलनमा रहेका आस्था, विश्वास, प्रथा, रीतिथिति तथा ऐन कानुनहरु हुन सक्छन् । मानव जीवनमा यी सबैको महत्व रहेको देखिन्छ । भनिन्छ – आदिम समाज स्वतन्त्र थियो । कुनै किसिमको बन्धन थिएन । मानिस जंगलमा बस्दथे र मानिसको जीवन पनि अन्य जीवजन्तुको जस्तै थियो । न कुनै बन्धन र न कुनै विशिष्ट काम ।

फिरन्ते र यायावरीय जीवन तथा भोजन नै मुख्य आवश्यकता थियो । समूहमा बस्ने हुँदा एक अर्कोको ख्याल राख्ने गर्दथे । मानिसको संख्या बढ्दै जाँदा एकै ठाउँमा बस्नेहरुको समूह ठूलो हुँदै गएपछि समूहहरु टुक्रिनु स्वाभाविक हो । समूह ठूलो हुँदै जाँखा खानाका साथै अन्य साधनको आवश्यकता पनि बढ्दै गएको थियो । मानिस एक ठाउँबाट अर्को ठाउँमा सुगमताको खोजी गर्दै अगाडि बढ्न थालेको हो । त्यस युगमा मानिसका आवश्यकता निकै सीमित थिए तर पनि सीमित आवश्यकताको निरन्तर आपूर्ति कुनै एक ठाउँबाट सम्भव थिएन । यसमा पनि मानिस बूढो हुनु, रोगी हुनु तथा बालबालिका र सुत्केरी हुनु नैसर्गिक कुरा थिए, यी अवस्थामा अन्य मानिसको रेखदेख र सहयोग पनि आवश्यक थियो र छ पनि । यसले गर्दा मानिस जन्मजात रुपमा नै सामाजिक प्राणी हो भन्ने कुरो साबित हुन आएको छ । मानिसले कृषि युगमा प्रवेश गरेपछि एउटा क्रान्तिकारी युगको सुरुआत भएको थियो ।

पशुपालनले थप सजिलो बनाएको थियो जीवनलाई । यसै गरी जीवन अगाडि बढ्ने क्रममा निजी सम्पत्ति र परिवारमा पुरुषको वर्चस्व अर्थात पितृसत्तात्मक परिवार भएपछि समाजमा अर्को परिवर्तनको आधारखडा हुन पुगेको थियो । मानिसले व्यक्तिगत सम्पत्ति राख्दै गर्दा र आफूलाई धेरै सम्पत्तिको मालिक प्रदर्शन गर्ने क्रममा मानिसले मानिसलाई नै दास बनाउने प्रवृत्तिको विकास भएको हो । मानिसले मानिसलाई दास बनाउनु भनेको दास भएका मानिसको कुनै आफ्नो स्वतन्त्रता नहुनु थियो । कतिपय अवस्थामा त दासलाई पशुलाई जस्तै हातमा वा घाँटीमा सिक्री बाँधेर बजारमा समेत बेच्ने गरिन्थ्यो भन्ने जस्ता कुराहरु पनि पढ्न पाइन्छ । मानवीय वा मानवताको दृष्टिकोणले एउटा मान्छेले अर्को मान्छेलाई बिक्री गर्ने वा एउटा मानिस दास रअर्को मानिस मालिक हुने जस्तो गैरमानवीय काम पहिले हुने गर्दथ्यो । अहिले विश्वबाट दासप्रथा करिब उन्मूलन भइसकेको छ ।

नेपालमा पनि तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरले नेपालबाट दासप्रथा उन्मूलन भएको घोषणा गरेका थिए । नेपालमा पनि दासप्रथा उन्मूलनको काम एउटा त्राmन्तिकारी परिवर्तन थियो । नेपालमा कोही पनि दास र कोही पनि मालिक नरहने अवस्थाको औपचारिक घोषणा हुनु र समाजले त्यसलाई स्वीकार गर्नु दुई फरक कुरा भए पनि वास्तवमा त्यस समयले यी दुवैलाई स्वीकार गरेका थिए । दासहरुको मोचन पश्चात मुक्ति पाएका दासहरुलाई विभिन्न ठाउँमा तत्कालीन सरकारले नै बसाएका थिए । केही आफै आफ्नो घर बनाउन सक्ने अवस्थाका थिए र केहीलाई सरकारले नै व्यवस्थागरेको ठाउँमा बस्नुपर्ने आवश्यकता थियो । नेपालमा दासता उन्मूलनको सन्दर्भमा हृदयदेखि नै चन्द्र शमशेरलाई मान्ने गरिएको पनि पाइन्छ । नेपालमा दासप्रथा उन्मूलन गरेको धेरै समय बितिसकेको छ । मानवताको दृष्टिकोणले मानिसभन्दा ठूलो अरु कोही हुन सक्दैन र यस मान्यतालाई दासप्रथाले विपरीत मान्ने हुनाले दासप्रथालाई मानव समुदायले नराम्रो मान्ने गरेको देखिन्छ ।

दासयुगलाई मानवताको दृष्टिकोणले अँध्यारो युगको संज्ञा दिइन्छ । दासताको युगको जस्तो अवस्था अहिले त विश्वमा कतै पनि नहोला तर पनि यदि यसको अवशेष वअन्य कुनै रुपमा कोही मानिस दासको रुपमा जीवन व्यतीत गरेका छन् भने त्यहाँ यस अर्थमा अँध्यारो समय बाँकी छ भन्ने बुझ्नु पर्ने देखिन्छ । दासता उन्मूलनको लागि अझै केही काम गर्नुपर्ने बाँकी होला कि भन्ने आशंका मात्र हो । वास्तवमा कोही पनि मानिस कसैको दास हुन नपरोस् । कोही पनि मानिस दासतारुपी अँध्यारोमा बस्न नपरोस् । मानिस स्वाभाविक रुपमै स्वतन्त्र हुने तथा स्वतन्त्रता खोज्ने प्राणी भएकोले कम्तीमा मानिस हुँ भन्ने स्वतन्त्रताको अनुभूति गर्ने अवस्था हुनु परेको छ, अझ म मानिस हुँ भन्दा केही अझ अगाडि बढेर म स्वतन्त्र मानिस हुँ भन्ने भावना हृदयमा विकास हुनुपर्ने र हरेक मानिसले आफ्नो अन्तर्हृदयमा नै म स्वतन्त्र मानिस हुँ भन्ने उच्च मनोभाव हरेक मानिसमा हुनु आवश्यक छ । यो समयको आवश्यकता हो, मानवताको आवश्यकताहो । दासताको दृष्टिकोणले मानवता र मानवताको दृष्टिकोणले दासतालाई हेर्ने हो प्रचलन पनि नराम्रो होइन ।

जब दासयुग थियो तब मानवताको युग कस्तो थियो वा वर्तमान मानवताको युगका दासताप्रति कस्तो दृष्टिकोण राख्दछ भन्ने पक्षमाथि पनि वर्तमानले विचार गर्नु आवश्यक छ । हुन त विगतलाई विचार गर्ने खासै चलन रहेको छैन, हामीले देख्दछौँ कि आफ्नै इतिहास वा आफ्नो ठाउँको इतिहासबारे खासै चासो रहेको पाइँदैन । यसले गर्दा विगतमा दासताको अवस्था कस्तो थियो भन्ने बारे धेरैलाई जानकारी रहेको पाइँदैन, धेरैको चासो पनि रहेको पाइँदैन । विगत नजान्नु, जान्न नचाहनु, जान्न नचाहने वातावरण पनि नहुनुजस्ता पक्ष र विषयमा कसले विचार गर्ने ? कतिपयको विचारमा जब दासताको युग समाप्त भइसकेको छ र अब कोही दास छैनन् भने किन दासताको कुरा गर्ने ? भन्ने सोचेका पनि हुन सक्छन् । अहिले मानवताको युग आइसकेको छ भने किन दासतारुपी अँध्यारोको बारेमा सोचाइ राख्नु प¥यो ? विगतको अँध्यारो यदि घृणास्पद थियो भने त्यसलाई नहेर्ने र विचार नगर्ने बरु अगाडि बढिराख्नुपर्ने सोचाइ केही बुद्धिजीवीहरुमा हुनुलाई अस्वाभाविक नहोला ।

वास्तवमा मानिसले उज्यालो चाहेको हो र मानवताको पक्षमा वा मानवतावादको पक्षमा समाज अगाडि बढिसकेकोले दासयुगको स्मृतिमात्र पनि नराम्रो मान्नेहरु पनि नभएका होइनन् । आदिम दासताको युगबाट मानिसको अवस्था मानवतावादको पथमा अग्रसर भएको देखिन्छ । अझै पनि कोही, कतै केही मानिस मानसिक रुपमा वा मनोवैज्ञानिक रुपमा आफूलाई दास मान्दछन् भने उन्मुक्त हुनु आवश्यक छ । कोही मानिसले कसैलाई दास देख्न सक्छन् तर जसलाई दास देखिएको हो, उसले दास स्वीकार गरेको नहुन सक्छ वा उसलाई दासको रुपमा रहेको थाहा नपाउन सक्छन् । यी दुई फरक अवस्था हुन् । शिक्षा र चेतनाको विकास सँगसँगै आर्थिक विकासले पनि मानवीय विकासमा सहयोग पु¥याएको छ । समाजलाई मानवतावादको पथमा अग्रसर गराएको छ । मानवताको विकास निरन्तर हुँदा दासताको अवशेष आफैँमा समाप्त हुने कुरामा शंका छैन । हरेक मानव चाहिँ मानवताको पथमा निरन्तर अग्रसर रहेको समाज निरन्तर बन्दै जाने कुरामा विश्वस्त हुन सकिन्छ ।

Comment


Related News

Latest News

Trending News