अपडेट 
२०७७ मंसिर २२, सोमबार १५:०४

वरिष्ठ गायक जगतमर्दन थापाको निधन भएको छ । ८५ वर्षीय थापाको सोमबार बिहान १० बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको निधनको पुष्टि उनका छोरा मोहितमर्दनले गरेका छन् ।कोरोना संक्रमण भएर मुक्त भएका उनी छातीको समस्याका कारण अस्पतालमा उपचारत थिए । वि.सं २०१३ सालबाट नै रेडियो नेपालबाट सांगीतिक तथा साहित्यिक यात्रा सुरु गरेका उनले २०१८ सालमा कोलकाताबाट हिज मास्टर्स भ्वाइसमा ‘माया लुकाई लुक्दैन’ बोलको पहिलो गीत रेकर्ड गराएका थिए ।सञ्चय कोष, कृषि चुन उद्योग जस्ता सरकारी निकायमा रहेर काम गरेका उनको ‘मनको शान्ति’, ‘माया लुकाई लुक्दैन’, ‘म पतझड तिमी मधुमास’ लगायतका एल्बम आएका छन् ।

बृद्ध अवस्थामा सम्म पनि संगीत अध्यायलाई निरन्तरता दिएका उनले ७३ वर्षमा भारतको इलाहावाद संगीत विश्वविद्यालयबाट प्रथम श्रेणीमा ‘बी म्युज’ उत्तीर्ण गरेका थिए ।थापाको निधनप्रति बिभिन्न कलाकर्मीलगायतले दुःख व्यक्त गरेका छन् ।  थापाका एक छोरा र तीन छोरी रहेका छन् । उनको आजै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने बताइएको छ ।

Comment


Related News

Latest News

Trending News