राजविराज । जनता समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मुलुकमा व्यवस्था परिवर्तन भएपनि शासकीय सोचमा परिवर्तन नभएका कारण देशमा पटक पटक संकट आउने गरेको बताएका छन् ।
उनले वर्तमान सरकारकै एकपक्षिय र पुरानो मानसिकताका कारण प्राप्त उपलब्धीमाथी ग्रहदशा लागेको समेत बताए । सप्तरीमा मंगलबार जनता समाजवादी पार्टी नेपाल रुपनी गाउँसमितिद्वारा आयोजित सहिद खुशीलाल यादव एवं नागेश्वर यादवको सालिक अनावरण कार्यक्रममा बोल्दै नेता महतोले सो कुरा बताएका हुन् । “सात–सात पटक संविधान बनिसकेको छ, र पनि जनताको असन्तुष्टि अझै हट्न सकेको छैन् ।” उनले भने, वर्तमान संविधान पनि सबै नेपाली जनताको भावनालाई समेट्न नसकेका कारणले देशमा अुसन्तुष्टि बढ्दै गएको छ । संविधान संशोधनद्वारा आदिवासी, जनजाती, मधेशी मुश्लिम, सिमान्कृत समुदाय सबैको असन्तुष्टि हटाएर सर्वस्वीकार्य संविधान बनाउन जुरुरी रहेको उनको भनाई छ । संविधानमा नमिलेका कुरालाई संशोधन गर्न वर्तमान सरकार तयार नरहेको आरोपका साथ उनले थपे, शासकीय अंहकार र नश्लिय सोचका कारण अहिले पनि सरकारले सबै नेपालीको भावनालाई समेट्न सकेको छैन् ।” दुई सय वर्षअघि अमेरिकीमा बनेको संविधान अहिलेसम्म यथावतै रहेको र अमेरिका विश्वको सर्वोच्च शक्ति बनेको उदाहरणका साथ नेता महतोले शासकीय वर्गको नश्लिय चिन्तनका कारणले सात वटा संविधान बन्दा पनि नेपाल गरिब मुलुक नै रहेको जिकिर गरे ।
उनले भने, मुलुक बनाउनका लागि हिमाल, पहाड र तराई मधेश तीनै क्षेत्रका जनताको भावना समेट्ने गरि संविधान निर्माण गर्नु आजको प्रमुख आवश्यकता हो । जनताले बलिदानी दिएर ल्याएको उपलब्धी समेत गुम्ने खतरामा पुगेको बताउँदै उनले यसको दोषि वर्तमान सरकारनै रहेको दाबी गरे । उनले भने, “मुलुकमा पाएको उपलब्धीलाई ग्रहदशा लाग्दा पनि वर्तमान सरकार बेखबर झैं रहेको छ ।” जनताको बलिदानबाट आएको परिवर्तनलाई रक्षा गर्नका लागि सम्पूर्ण परिवर्तनकारी शक्ति एकजुट रहनुपर्ने उनको कथन थियो । रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा आयोजित कार्यक्रममा सहिदको शालिक निर्माणमा सहयोग पु¥याएका जिल्ला समन्वय समिति सप्तरीका प्रमुख प्रभाकर यादव, जसपाका केन्द्रिय सदस्य विशेश्वर रजक, राजविराज नगरपालिकाका उपप्रमुख साधना झालगायतले पनि बोल्दै सहिदको सपना साकार नभएसम्म विभिन्न स्वरुपमा आन्दोलन जारि रहने उद्घोष गरेका थिए ।
कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, प्रतिनिधि सभा सदस्य चन्द्रकान्त चौधरी, रानी मण्डल, राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव, प्रदेशसभा सदस्य मनिषकुमार सुमन लगायत ठूलो संख्यामा नेता कार्यकर्ता तथा सर्वसाधारणको उपस्थिति रहेको थियो ।



