अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ०७:२९

जनकपुरधाम । जनता समाजवादी पार्टी, नेपाल अध्यक्ष महन्थ ठाकुरले आन्तरिक विवादका कारण नेकपाले मुलुकलाई बन्धक बनाएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नं. १० मधवामा पोखरी सौन्दर्यीकरणको शिलान्यास गर्दै अध्यक्ष ठाकुरले कोरोना महामारीका कारण मुलुक अस्तव्यस्त बनेको अवस्थामा नेकपाले जनतालाई सरकारको अनुभूति गराउन नसकेको बताए । नेकपाको आन्तरिक किचलोका कारण मुलुक बन्धक बनेको उनले थपे । शिक्षा, स्वास्थ्य, उद्योग, व्यवसाय सबै क्षेत्र धाराशायी बनेको छ, अध्यक्ष ठाकुरले भने–‘कोरोना महामारी लगायतको समस्याले मुलुक जटिल अवस्थामा छ । तर नेकपा आन्तरिक विवादमै व्यस्त छन् ।’ कार्यक्रममा मुख्यमन्त्री लालबाबु राउतले संघीय सरकार प्रदेश २ संग सौताको व्यवहार गरिरहेको आरोप लगाएका छन् । बजेटको बाँटफाँड लगायतको विषयमा केन्द्र सरकारले आफुहरुसित सौताको व्यवहार गर्दै आएको उनको कथन थियो ।

प्रदेश सरकार सीमित स्रोतसाधनका बीच विकास निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले अधिकार सहितको संघीयता कार्यान्वयनका लागी प्रदेश सरकार संघ सरकार माथि एक पछि अर्को मुद्दा दिदै कानूनी लडाई अघि बढाएको बताए । मनरा सिस्वा नपाका प्रमुख संजय सिंहको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा समाजिक विकास राज्यमन्त्री अभिराम शर्मा, प्रदेश सभा सदस्य रानी शर्मा तिवारी, अल्का झा, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा सहितका वक्ताहरुले शुभकामना मन्तव्य राखेका थिए । तीन करोड ५५ लाखको लागतमा १५ महिना भित्र उक्त पोखरीको सौन्दर्यीकरण कार्य सम्पन्न हुने मुख्यमन्त्री स्वच्छता अभियानका सिनियर डिभिजनल इन्जिनियर भगवान झाले बताए ।

Comment


Related News

Latest News

Trending News