काठमाँडौँमा उँखू किसानहरु चिनीमीलबाट पाउनुपर्ने बक्यौता पाउन आन्दोलनमा छन् । अर्कोतिर पिछडासमाज (ओबिसी)ले सात दिनभित्र जन्मसिद्ध नागरिकताको प्रमाणपत्र प्राप्तगरेका नागरिकहरुको सन्तानलाई वंशजको आधारमा नागरिकता नदिए आफूहरु आन्दोलनमा उत्रने अल्टिमेटम दिएको छ । सरकारी अक्षमता तथा गैरजिम्मेवारपनाको कारण उत्पन्न धमिलोमा मौका पाएर पुनरोत्थानवादी राजावादीहरु भएभरका तागत लगाएर एकपछि अर्को प्रदर्शन गरिरहेका छन् । अब त यस्मा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले समेत समर्थन जनाउन थालेका छन् । र यस्तो स्थितिमा सरकारी नेपाल कम्युनिस्ट पार्टी आफैभित्रको मारामार र काटाकाटमा व्यस्त छ । प्रधानमन्त्री खडगप्रसाद ओली भर्सेज प्रचण्ड– माधवनेपालको खेमाबन्दीमा विभाजित सरकारी नेकपाभित्र विगत केहीदिन देखी हरेक दिन कुनै न कुनै नेता, विरोधी गूटबाट खुइल्याइएको हुन्छ ।
दुबैपक्षको आरोपहरुलाई एकीकृत गर्ने हो भने सरकारी नेकपा भ्रष्टाचारी, अनाचारी, बेइमान र असक्षमहरुको पार्टी भएको छ । सामाजिक सञ्जालमा सरकारी नेकपाका आङ्गिक संगठनहरुले योजनाबद्धरुपमा एक अर्कालाई खुइल्याउनु अब नियमित जस्तै भएको छ ।हुँदाहुँदा त सरकारी नेकपाको यस अन्तर्विवादमा राष्ट्रपति समेत तानिन पुगेकीछिन् । यो तिक्तता कतिसम्म बढेको छ भने एउटा टेलीभिजन अन्तर्वातामा वरिष्ठ नेता माधव नेपालले ओलीगूटलाई चोरहरुको समूह भनेको खबर मिडिया र सामाजिक सञ्जालमा भाइरल हुँदैछ । यो अन्तर्संघर्ष यतितिव्र छ कि कुनैपनि बेला पार्टी विभाजन हुने खतरा देखिन्छ । एक त संसदिय लोकतन्त्र आफैमा अस्थिर व्यवस्था हो । सरकारी नेकपाभित्रको विभाजनको यस सम्भावनाले सरकारको सबैक्षेत्रमा थप अस्थिरता पैदा गरेको छ । उँखू किसानहरुको आन्दोलन र जन्मसिद्ध नागरिकका सन्तानहरुले वंशजको आधारमा नागरिकता पाउनुपर्ने माँग त जायज र सम्वैधानिक नै हो ।यसै निहुँमा विभिन्न राजनैतिक प्रवृतिका आन्दोलनहरुले पनि मौका पाएका छन् । दक्षिणपन्थी प्रतिगामी चरित्रका राजावादीहरुको प्रदर्शन सरकारको यस्तै कमजोरी र अस्थिरताको परिणाम हो ।
यसै अस्थिरतामा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसलेपनि आफूलाई नयाँ किसिमबाट संयोजित गर्ने मौका पाएको छ । पहिलो गणतान्त्रिक संसदिय निर्वाचनबाट सत्तामा पुगेका एमाले र एमाओवादी एकता भएर दुईतिहाई नजिकको पार्टी बनेपछि नेपाली काँग्रेस खुम्चिएको थियो । पञ्चायतकालको तीसवर्ष छाडिदिने हो भने अधिकांश समय सत्तामा रमाएको नेपाली काँग्रेसको निम्ती गणतन्त्रपछिको निर्वाचन एउटा नमिठो प्रसङ्ग जस्तै भएको छ । संसदिय मतको खेलमापनि साह्रै कमजोर प्रतिपक्षको रुपमा देखिएको नेपाली काँग्रेसभित्र आपसी द्वन्दहरुपनि गम्भीर हुँदैगएको स्थिति देखिन थाल्यो । कुनै न कुनै रुपमा हमेशा सरकारमा रमाउँदै आएको तथा नेपाली राजनीतिमा हमेशा एक किसिमले वर्चस्वकारी भूमिकामा रहेको नेपाली काँग्रेस संघीय सरकार मात्रै होइन, सातवटा प्रदेश सरकारमा समेत कहीँ छैन । स्थानीय सरकारमा समेत उसको स्थिति कमजोर नै छ । बरु गणतन्त्रपछिको उदाएको नया मधेशकेन्द्रित राजनीतिक दलहरु प्रदेशनम्बर दुईमा सरकारमा छ ।
यसरी कुनैबेला नेका र एमाले अथवा नेका–माओवादीको स्थितिमा रहने गरेको नेपाली राजनीति अधिकांशतः कम्युनिस्ट पार्टी तथा केही अंशमा कम्युनिस्ट पार्टी र मधेशकेन्द्रित राजनीतिक शक्तिहरुको समीकरणमा निर्णायक देखिएको छ । वर्तमान स्थितिमा यो सरकारी नेकपा र जनता समाजवादी पार्टीबीचको सहमति र द्वन्दमा केन्द्रित छ । यसै लघुताबोधको कारण नेपाली काँग्रेस धरातलिय राजनीतिमा समेत फोकसमा देखिनसकिएको थिएन । नेपाली काँग्रेसको सत्ता अभ्यासको समीक्षा गर्ने हो भने ऊ सडक आन्दोलन अथवा धरातलिय राजनीतिभन्दापनि जोडतोड गरेर सरकारमा कायम रहने दाउपेँचमा बढी रमाउने गरेको देखिन्छ । यस्तो नेपाली काँग्रेसको नेतृत्वपंक्तिमार प्रभावशाली कार्यकर्तापंक्तिमा समेत अभिजात्यवर्गीय वर्गस्थितिले हो । तर ससदमा औपचारिक प्रतिपक्षको निम्ती चाहिने संख्याभन्दापनि कम बहुमतको स्थितिले नेकाभित्र अनेक प्रकारका उकुसमुकुस देखिनथालेका थिए, जो नेतृत्वपंक्तिको निम्तीपनि अप्ठ्यारो सिर्जना गर्दै गै रहेको थियो । गूटगत् रोग त नेकाको निम्ती पुरानो थियो ।
आसन्न महाधिवेशनले पार्टीभित्र नयाँ नयाँ शक्तिकेन्द्रहरु देखिनथालेका थिए । रामचन्द्र पौडेलको गूट गिरिजागूटको पारम्परिक उत्तराधिकारी नै भयो । यस बीचमा सिटौलाका समूहपनि पुरानो भइसक्यो । तर महाधिवेशन नजिकिनु संगै पार्टीसभापति शेरबहादुर देउवाको सबैभन्दा निकटका बिमलेन्द्र निधि नेकाभित्र नयाँ शक्तिकेन्द्रका रुपमा उदाउनथालेका छन् । आगामी महाधिवेशनमा उनले आफूलाई सभापतिको उम्मेदवारको रुपमा सारेका छन् । नेपाली काँग्रेसको आधुनिक राजनीतिमा पार्टीभित्र देउवादूतकै रुपमा भएपनि निधिले जसरी संयोजनकारी भूमिका निभाएका छन्, र उनको दोस्रो पुस्तामा उनको प्रभाव बढेको छउनको दावीलाई उपेक्षा गर्न गाह्रो देखिन्छ । यस कारण नेकाभित्र सुस्त नै भएपनि व्यक्तित्वको टक्कर र वर्चस्वको द्वन्द सुस्तरी नै बढदै गएको महसूस गर्न सकिन्छ । यस्ले नेकाभित्रपनि एउटा अस्थिरता उत्पन्न हुने खतरा नेतृत्ववर्गले महसूस गरेकै हुनुपर्छ । पार्टीको आधिकारिक राजनीतिक लाईन गणतन्त्र र धर्मनिरपेक्षता विपरीत पार्टीका महासचिव शशांक कोइरालाले हिन्दु राज्यको निम्ती जनमतसंग्रह गराउनुपर्ने विचार राख्नु यस्तै अस्थिरताबीच नयाँ शक्तिकेन्द्र बनाउन खोज्नु हो ।
महासचिव कोइरालाको यो अभिव्यक्ति पार्टीका नेताहरुलाई नै पचेको छैन, तर यो नेकाभित्र हमेशा एउटा प्रतिगामी प्रवृत्तिको रुपमा रहेको समूहलाई अभिव्यक्त गर्छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पूल उद्घाटन गर्न गएको बेला नेकपाका कार्यकर्ताहरुले गरेको अवरोध तथा अशान्तिको सम्भावना देखाएर प्रहरीले उनलाई नियन्त्रणमा लिएको घटनाले नेपाली काँग्रेसलाई पार्टीभित्र र बाहिरका सबै प्रकारका उकुसमुकुस तथा अस्थिरताबाट बाहिरिने अवसर दिएको छ । यस्ले पार्टी नेतृत्वलाई तत्कालका लागी नै भएपनि आफ्नो स्थिति सुधार्ने मौका दिएको छ । नेता पौडेलको गिरफ्तारीलाई निहुँ बनाएर नेपाली काँग्रेसले एकातिर सरकारलाई घेर्न तथा सडकमा जाने निहुँपनि पाएको छ । निश्चय नै अहिले देशमा देखिएका बेथितिको निम्ती वर्तमान सरकारको गैर जनप्रतिबद्धता, सत्ता लिप्सा तथा नाफाको राजनीति नै हो । यसलाई सरकारकै कमजोरी मान्नुपर्छ कि राजावादीहरु निद्र्वन्द सडकमा उत्रेका छन् । यसलाई सरकारीतन्त्रकै कमजोरी भन्नुपर्छ कि मन्त्री तथा सरकारी उच्चाधिकारीको रोहबरमा सहमति भएपनि उँखू किसानहरु एकवर्षपनि बक्यौता रकम पाएका छैनन् र फेरी आन्दोलनमा उत्रन बाध्य भएका छन् । सरकारभित्र उनिहरुले भनेको लोकतान्त्रिक मान्यता समेत उपेक्षित छ र यसैकारण तानातानको स्थिति छ, जस्ले गर्दा सम्पूर्ण सत्ताराजनीतिभित्र दलालपूँजीपतिहरु तथा नौकरशाहहरु लूटमच्चाएका छन् ।
यहाँ खतरनाक के छ भने राजनीति र व्यवस्थामा देखिएको गैरजिम्मेवार, अलोकतान्त्रिक रोग सरकारी नेकपामात्रै छैन, प्रायः हरेक राजनीतिक दलहरु यसबाट ग्रसित देखिएका छन् । सरकारी नेकपाभित्रको रोग तथा सत्तालिप्सा कुनै नयाँ रोग होइन, यो पारम्परिक रोग नै हो । तरपनि यसले नेकालाई सडकमा आउने र आफ्नो राजनीतिलाई नयाँ सिराबाट संयोजन गर्न मौका दिएको छ । यसै निहुँमा नेपाली काँग्रेसले देशैभरी सरकारविरुद्ध प्रदर्शन गरेको छ, जस्मा केन्द्रिय नेताहरु सामेल थिए । देशमा व्याप्त बेथितिको निम्ती सरकारविरुद्धको यस प्रदर्शनलाई नेकाले सांकेतिक भनेको छ । यसको अर्थ नेकाले यस प्रकारका अरु प्रदर्शन गरेर सरकारमाथी दबाब सृजना गर्ने सम्भावना बलियो देखिन्छ । उर्दूको प्रसिद्ध शायर राहत इन्दोरीको एउटा शायरी छ — ‘सीमापर तनाव है क्या ? यी जनयुद्ध र जन आन्दोलनको नेतृत्व गर्ने राजनीतिक पार्टीहरुको विचारधारा राजतन्त्र विरोधी, संघीयताको पक्षमा र धर्मनिरपेक्ष हो भन्ने कुरा कसैबाट लुकेको छ ? अन्तरिम सम्विधानले देशलाई गणतान्त्रिक, संघीय र धर्मनिरपेक्ष घोषित गर्दा लाखौँको संख्यामा सडकमा उत्रेर खुशी मनाएकाहरु यस देशका जनता होइनन् ? राप्रपा र राजतन्त्रवादीहरुलाई सबै थाहा छ । उनिहरु खाली यस सम्विधानमा रहेको लचकताको फाइदा उठाएर आगामी चुनावमा आफू अनुकूलको स्थिति बनाउन खोजेका हुन्, यत्ति हो ।
नेकाको सरकारविरोधी यस प्रदर्शनभित्र उसको यो निहुँपनि लुकेको हुनसक्छ । यसलाई पूर्व तयारीको थालनी भन्न सकिन्छ । दिन बिते संगै सम्भव छ, जसपापनि सडकमा आउनसक्छ । र जसपा मात्रै किन, क्रमशः अरुहरुपनि सडकमा आउनसक्छन् । तर एउटा यथार्थ के हो भने यो सबैको आधार भनेको वर्तमान सरकारभित्रको बेथिती तथा सरकारी नेकपाभित्रको काटाकाटको स्थिति हो । सरकारी नेकपाले पार्टीभित्रको अस्थिरतालाई समयमा नै निकास दिन सकेन भने भविष्य उसको प्रतिकूल हुनसक्छ । विचारबाट त ऊ टाढिएकै छ, व्यावहारिक भविष्यपनि अनुकूल न रहनसक्छ ।