अपडेट 
२०७७ मंसिर ३०, मंगलवार ०७:५९

गणपूरक संख्या नपुगेपछि आइतबार बस्न नसकेको संवैधानिक परिषद्को बैठक (आज)  मंगलबार बस्दै छ । विपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित हुने सूचना पाएपछि आइतबार बस्ने भनिएकाे  परिषद्को बैठक स्थगित भएको थियो । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाका स्वकीय सचिव उदय तिमिल्सिनाका अनुसार बैठक अहिले नाै बजेका लागि बालुवाटारमा बोलाइएको छ ।

परिषद्को बैठकसम्बन्धी कार्यविधिमा ‘बैठक बस्ने मिति, समय र स्थान तथा छलफलको विषय–सूचीसहितको सूचना बैठक बस्नुभन्दा कम्तीमा ४८ घन्टा अगावै सदस्यहरूलाई पठाउनुपर्ने’ उल्लेख छ । तर, कार्यसूचीमा समावेश नभएको कुनै विषयमा छलफल हुन आवश्यक छ भन्ने कुनै सदस्यलाई लागेमा निजले अध्यक्षको अनुमति लिई बैठकमा प्रस्ताव राख्न सक्ने व्यवस्था छ । कार्यविधिमा बैठकमा पेस भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुने व्यवस्था छ । तर, त्यस दिन निर्णय नभए अर्को बैठकमा त्यही कार्यसूचीमाथि बहुमतबाट निर्णय गर्न सकिने व्यवस्था छ ।

संवैधानिक परिषद्सम्बन्धी ऐन, २०६६ अनुसार परिषद्का अध्यक्ष र चारजना सदस्य उपस्थित भएमा मात्रै परिषद्को बैठकका लागि गणपूरक संख्या पुगेको मानिन्छ । ऐनले बैठकमा पेस भएका एजेन्डामा सर्वसम्मत रूपले निर्णय गर्नुपर्ने, अन्यथा पुनः अर्को बैठक बोलाउनुपर्ने र दोस्रोपटकसमेत सर्वसम्मत नभएमा परिषद्का सम्पूर्ण सदस्यमध्ये बहुमतले निर्णय लिन सक्ने व्यवस्था छ ।

लामो समयदेखि संवैधानिक परिषद्को बैठक नबस्दा नयाँ संविधानले पहिलोपटक संवैधानिक हैसियत दिएका आयोगहरूसमेत संविधान जारी भएको पाँच वर्षसम्म बितिसक्दा पनि गठन हुन सकेकाे छैनन् । कूल १३ वटा संवैधानिक निकायका ४५ पदमा नियुक्ति हुन सकेकाे छैन ।

Comment


Related News

Latest News

Trending News