अपडेट 
२०७७ पुष २, बिहीबार ०७:४६

जनकपुरधाम । चुरे क्षेत्र अतिक्रमण गर्ने माथि कारवाहीको माग गर्दै चुरे तथा वन जंगल संरक्षण अभियानले चरणवद्ध आन्दोलनको घोषणा गरिएको छ ।

चुरे तथा वन जंगल संरक्षण अभियान प्रदेश २ ले विभिन्न मागहरु राख्दै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । चुरे समाप्त गरेर मधेशलाई मरुभुमी बनाउन लागिएको भन्दै विभिन्न निकाय लगायत प्रदेश नं २ मुख्यमन्त्री कार्यालयमा चुरे विनाश रोक्न पहल गर्नका लागि ज्ञापनपत्र बुझाएको थियो । तर, विनाश रोक्नका लागि प्रदेश सरकारले चासो नदेखाएपछि बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गरिएको चुरे तथा वन जंगल संरक्षण अभियानका संयोजक सुनिल कुमार यादवले बताए । बुधबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा संयोजक यादवले विभिन्न समयमा प्रदेश भरिकै डिभिजन वन कार्यालय, जिल्ला प्रशासन कार्यालय, प्रदेशको सम्वन्धित मन्त्रालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र काठमाण्डुको माइतिघरमा प्रदर्शन गरिएपनि सरकारले चासो नदेखाएपछि सरकारलाई ध्यानाकार्षण गराउन बाध्य भएर आन्दोलनको कार्यक्रम घोषणा गर्नुपरेको बताए ।

तराई मधेश राष्ट्रिय परिषद्का संयोजक सरोज राय यादवले चुरेलाई विनाश गरि मधेश सुख्खा र बाढीको प्रकोपको समस्या बढाउदै गएको तथा अवैध क्रसर उद्योगलाई बन्द गर्नका लागि प्रदेश सरकारले कुनै चासो नदेखाएको आरोप लगाए । क्रसर उद्योग नै बन्द गर्ने आफुहरुको अभिप्राय रहेको छैन, तर अवैधरुपमा संचालन गरेकालाई कारवाही गर्नुपर्छ उनले भने । अवैधरुपमा संचालनमा ल्याएका क्रसर उद्योग निर्वाद रुपमा अहिले पनि संचालनमा रहेकोमा प्रदेश सरकारको सम्वन्धि मन्त्रालयको प्रत्यक्ष संलग्नता रहेको छ उनले भने । मधेश मरुभुमी भए मुलुक नै संकटमा पर्ने भएकोले समयमा नै ध्यानाकर्षणको लागि आग्रह गरेका थिए । कार्यक्रममा चुरे तथा वन जंगल संरक्षण अभियानका सिरहा संयोजक लक्ष्मण यादवले सिरहामा सयौ विग्हा जग्गा मारुती सिमेन्टका संचालकले अवैध रुपमा कव्जा गरेको बताए । सुकुम्वासीले पाएको जग्गा वेच्न नहुने भएपनि सुकुम्वासीसंग खरिद गरेर जंगल विनाश गर्दै आएको छ । सुकुम्बासीहरुलाई पाँच कठ्ठा जग्गा भन्दा बढी दिन नहुने कानुनमा उल्लेख भएपनि वन जंगलको विग्हौ जग्गा सुकुम्बासीको नाउँमा पास गरिएको छ ।

सुकुम्बासीसंग उद्योगीहरुले गैरकानुनी रुपमा खरिद गरेर जंगल नै विनाश गर्नमा लागेको आरोप लगाए । चुरे तथा वनजंगल संरक्षण प्रति सरकारले चासो नदेखाएको भन्दै अभियानले पौष ७ गतेदेखि चरणवद्ध रुपमा आन्दोलनको घोषणा गरेको छ । पुस ७ गते प्रदेश २ का मुख्यमन्त्री कार्यालय अगाडी धर्ना, पुस ८ गते उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको विरोधमा मन्त्रालय अगाडी विरोध तथा धर्ना ,पुस १२ गते प्रदेश २ का आठै जिल्लाको डिभिजन वन कार्यालय अगाडी दिनको १ बजे विरोध धर्ना तथा ज्ञापनपत्र बुझाईने, पुस १३ गते आठ वटै जिल्लामा दिनको १ बजे जिल्ला प्रशासन कार्यालय अगाडी विरोध धर्ना तथा ज्ञापनपत्र बुझाईने, पुस १७ गते सिरहा जिल्लाको चोहर्वामा दिउँसो १ बजे शक्ति प्रदर्शन गर्दै विरोध जनाउने र पुस १८ गते रौतहट जिल्लाको गौरमा शक्ति प्रदर्शन गर्ने लगायको कार्यक्रम घोषणा गरेको छ । यसअघि अभियानले मुख्यमन्त्री कार्यालयमा विभिन्न माग सहित ज्ञापनपत्र बुझाएको थियो ।

ओमप्रकाश भनिने दिलिप महतोलाई पर्यावरण शहिद घोषणा गर्नुपर्ने, प्रदेश नं २ का उद्योग मन्त्रालयले दिएकोक्रसर उद्योगको लाइसेन्स छानवीन गरि साथै मापदण्ड विपरित रहेका सम्पुर्ण क्रसर उद्योग तत्काल वन्द गर्नुपर्ने,साविक वुटेन किता नं २००, २०२, २०६ हाल ६८२, ६८३, ६८४, ६७९, ६७८, ६८०, ६८१, ६८७, ६८८ र ६८९ हालको जग्गाधनी सिरहा जिल्लाको मारुती सिमेन्ट उद्योगका संचालक अनुज राठी र मनोज गोयलको नाममा रहेको जग्गा वदर गरि पुनः बनमा फिर्ता हुनुपर्ने,रौतहट जिल्लाको विजयपुर फतुवा नगरपालिकामा सागरनाथ वन विकास परियोजनाको २ सय हेक्टरजग्गा वनमा पुनः फिर्ता गराउनुपर्ने र विपि पुष्पलाल सामुदायिक वन रौतहटको एक सय हेक्टर अतिक्रमण जग्गा फिर्ता गराउनुपर्ने लगायतका मागहरु रहेको छ ।

Comment


Related News

Latest News

Trending News