
उखु किसानको जायज माग सम्बोधनसहित विभिन्न माग अघि सार्दै सप्तरीका किसान अगुवाहरु आन्दोलनमा उत्रेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी एक घण्टा धर्नामा बसेका उनीहरुले किसानका जायज माग अविलम्ब सम्बोधन नगरिए किसान आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन् ।
जनता समाजवादी पार्टी नेपाल निकटका किसान संघको अगुवाईमा बिहान १२ बजेदेखी १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको छ । उखु किसानहरुको बक्यौता रकम अविलम्ब भुक्तानी गर, किसानलाई समयमै सहुलियत मुल्यमा मलखाद, बिऊ बिजन उपलब्ध गर, धानको समर्थ मुल्य कायम गर लगायतका माग अघि सार्दै धर्ना कार्यक्रम गरिएको किसान अगुवा बिनोद यादवले बताए । मुटु कमाउने जाडोका बीच काठमाडौं पुगेर आन्दोलनरत उखु किसानको जायज मागका साथै यहाँका किसानहरुले भोग्नु परिरहेको पीडा समाधानका लागि दबाब दिने उद्देश्यले आज एक घण्टे शान्तिपूर्ण धर्ना कार्यक्तम गरेका हौं, अर्का किसान अगुवाई दिपेन्द्र चौधरीले भने, अविलम्ब सुनुवाई नगरिए आन्दोलन अझै सशक्त र देशव्यापी बनाउने तयारीमा छौं । धर्नाम महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।
यसैबीच जनता समाजवादी पार्टी नेपाल निकटका यूवा विद्यार्थीहरुले पनि किसान आन्दोलनको समर्थन तथा सरकारद्वारा ल्याइएको अध्यादेश लगायतका अन्य असबैधानिक क्रियाकलापको बिरोध गर्दै बिहीबारै साझ सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् । स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए । बजार क्षेत्र परिक्रममा पश्चात् आयोजित बिरोध सभामा बोल्दै यूवा विद्यार्थीहरुले किसानहरुको जायज माग पुरा गर्न तथा विवादास्पद अध्यादेश फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।