अपडेट 
२०७७ पुष ४, शनिबार ०८:०३

हरेक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मनाइँदैछ।

त्रेता युगमा आजकै दिन सीता र रामको विवाह भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा आज सीता र रामको विधिपूर्वक विवाह महोत्सव हुँदैछ । शिवधनुषलाई भाँचेपछि राम र सीताको विवाह सम्पन्न भएको रामायणमा उल्लेख छ । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न हुन्छ । पौराणिक मान्यताअनुरूप राम मन्दिरबाट बाजागाजा, झाँकीसहित रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखेर रङ्गभूमिमा पुर्याइन्छ । त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखेर रङ्गभूमिमा लगिन्छ । 

रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइन्छ । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न हुन्छ । शोभायात्रामा सीमावर्ती भारतीय क्षेत्रका श्रद्धालु भक्तजन समेत सहभागी हुने गर्छन् । आज विवाह गर्न साइत नचाहिने मान्यता समेत छ ।  यस वर्ष भने कोरोना सङ्क्रमण जोखिमका कारण जनकपुरधाममा गरिने विवाह महोत्सव कार्यक्रम समेत छोटो विधिबाट भौतिक दूरी कायम गरी मनाइनेछ । यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्यमापदण्डको पालना गरी विवाह पञ्चमी उत्सव मनाउन आग्रह गर्नुभएको छ । 

विवाह पञ्चमीको अवसरमा शुभकामना दिदै उहाँले मिथिला क्षेत्रको सांस्कृतिक धरोहरका रुपमा रहेको विवाह पञ्चमी पर्वले सबै नेपालीमा राष्ट्रिय एकताको भावना जागृत गरी सद्भाव र सहिष्णुतालाई थप सुदृढ बनाउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ ।

Comment


Related News

Latest News

Trending News