अपडेट 
२०७७ पुष ५, आईतवार ०७:३५

प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने राम जानकी विवाह शनिवार सम्पन्न भएको छ ।

जानकी मन्दिरको प्राङ्गणमा बनाइएको विवाहमण्डपमा मिथिला बैदिक परम्परा अनुसार विवाह सम्पन्न भएको छ । भगवान रामको तर्फवाट राममन्दिरका महन्थ राम गिरी र जानकीजीको तर्फवाट जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले बैवाहिक कार्यमा सहभागिता जनाएका थिए । राम मन्दिरबाट आएको डोलालाई जानकी मन्दिरबाट आएको सीताको डोलले फेरा लगाएर रामजानकीको स्वयंवर गरिएको थियो । त्रेता युगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा भगवान् सीता र रामको विवाह सम्पन्न भएको हो । महोत्सव मनाउने क्रममा मिथिलाको संस्कृतिअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न भएको छ । राम मन्दिरबाट बाजागाजा, झाँकीसहित भगवान् रामको प्रतिमालाई विशेष रूपमा निर्मित डोला सिंहासनमा राखी रङ् गभूमिमा पुर्याइएको थियो ।

त्यस्तै जानकी मन्दिरबाट सीतालाई विशेष सुसज्जित डोलामा राखी रङ्गभूमिमा ल्याइएको थियो । रङ्गभूमिमा स्वयंवर विधि, परीक्षणको वैवाहिक विधि सम्पन्न भएपछि सीता–रामलाई जानकी मन्दिरमा ल्याइएको थियो । त्यसपछि मिथिला संस्कृतिअनुसार विवाह सम्पन्न भएको छ । रङ्गभूमि मैदानमा वर र वधुपक्षबीच हुने गरेको हाँसो, ठट्टा तथा गाउँगाउँबाट आउने गरेको सीतारामको प्रतीकात्मक झाँकी र लाखौँ सङ्ख्यामा सम्मिलित भक्तजनको उत्साहले वास्तविक विवाहको रमितालाई उछिनेको हुन्छ । पहिले तिरहुतियागाछीमा मनाइने यो महोत्सव दुई दशकदेखि रङ्गभूमिमा विशेष कार्यक्रमसहित मनाउने गरिएको छ । श्रद्धालु भक्तजन बिहान सबेरैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गरेर विवाह महोत्सवमा भजनकीर्तन, रामलीला, झाँकी समेत आयोजना गरेको थियो ।

विवाह महोत्सवको आज अन्तिम दिन राम कलेवा सम्पन्न हुने वितिकै विवाह महोत्सव सम्पन्न हुने गरेको जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले जानकारी दिएका छन् ।

Comment


Related News

Latest News

Trending News