अपडेट 
२०७७ पुष ६, सोमबार ०७:३२

प्रतिनिधिसभा विघटन र मध्यावधि चुनाव घोषणासँगै फेरिएको राजनीतिक अवस्थाबारे दलहरु छुट्टाछुट्टै छलफलको तयारीमा छन् ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहितका विपक्षी दलहरुको बैठक आज बस्दैछ । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू निकट नेता र सांसदहरुसँग छलफल गर्दै हुनुहुन्छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दिउँसो ४ बजे पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाउनुभएको छ । बैठकमा प्रतिनिधिसभा विघटनपछि उत्पन्न परिस्थितिका विषयमा छलफल गरेर साझा धारणा बनाउने कांग्रेसले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेकपाका प्रचण्ड–नेपाल समूह तथा कांग्रेससहितका विपक्षी दलहरु असन्तुष्ट छन् । संसद विघटन गर्नु गैरसंवैधानिक र अलोकतान्त्रिक भएको भन्दै विपक्षी दलले आपत्ति जनाएका छन् । यस्तै, प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान आफू निकटका नेता तथा सांसदहरुलाई बालुवाटार बोलाउनुभएको छ । आफ्नो आउँदाे रणनीतिबारे छलफल गर्न र जानकारी गराउन प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुलाई बालुवाटार बोलाउनुभएको बुझिएको छ । 

प्रधानमन्त्री ओलीले हिजो मन्त्रिपरिषद्को बैठक राखेर प्रतिनिधिसभा विघटनको सिफारिस गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्दै वैशाख १७ र २७ गते नयाँ चुनावको घोषणा गर्नुभएको हो । नेकपाको हिजो बसेको स्थायी कमिटी बैठकले ओलीलाई कारबाही गर्ने निर्णय गरेको छ । 

Comment


Related News

Latest News

Trending News