अपडेट 
२०७७ पुष ७, मंगलवार ०८:१७

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको संसद विघटनलाई पूर्वराष्ट्रपति डा. रामवरण यादवले गलत बताएका छन् ।

‘प्रतिनिधिसभाको विघटन संवैधानिक, राजनीतिक र नैतिक रुपले गलत छ ’ सोमवार एउटा कार्यक्रममा उनले भने, मुलुकमा भइरहेको राजनीतिक र संवैधानिक घटनाले आफू दुःखी र मर्माहत बनेको छु । ‘ संसद विघटन गर्ने घटनाले मलाई मर्माहत र दुःखी बनाएको छ’ डा.यादवले भने, प्रधानन्त्री र राष्ट्रपतिले चालेको स्टेप संवैधानिक, राजनीतिक र नैतिक रुपमा मिलेको छैन ।’ त्रिभुवन विश्वविद्यालयको ४६ औं दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रथम राष्ट्रपति यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनगर्न गरेको सिफारिस र राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको अनुमोदनलाई संविधानविपरीत चालिएको स्टेप बताए । ‘राष्ट्रपति संस्थामाथि पनि देशले प्रश्न उठाएको छ’ उनले भने, यो संस्था देशको अभिभावक भएकाले उहाँ आफ्नो भूमिका निर्वाह गर्नबाट चुक्नुभएको छ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले आइतवार संसदलाई विघटन गरेकी थिइन् ।त्यसपछि देशभरि नै उनीहरुको आलोचना हुन थालेकोछ । संसद विघटन गर्ने सरकारको सिफारिस र त्यसलाई सदर गर्ने राष्ट्रपति निर्णय राजनीतिक, संवैधानिक र नैतिक रूपमा अमिल्दो रहेको उनले बताए । ‘नेपाली जनताले आशीर्वाद दिएर पु¥याएको संस्थाको विषयमा यसअघि मैले कहिल्यै पनि टिप्पणी गरेको थिइन, त्यसबाट अत्यन्तमर्माहित भएर यो कुरा भनिरहेको छु,’ यादवले भने, ‘म मात्रै होइन, तीन करोड जनता मर्माहित भएका छन् ।’ अब यो विषयमा सर्वोच्च अदालतको ध्यान पुग्नुपर्ने उनले बताए । उनले भनेका छन्, ‘सर्वोच्च अदालतको यो विषयमा ध्यान पुगोस्, ध्यान पुग्नैपर्छ भन्ने विनम्र आग्रह पनि छ ।’ ‘एउटा होइन, दुई वटा संविधानबाट जनताले धेरै खुन पसिना बगाएर संविधान, धर्मनिरपेक्षता, संघीयता आएको हो,’ उनले भने, ‘यो संविधान र जनताको सर्वोच्च निकाय संसद् बाट समस्याहरुको छिनोफानो गर्दै अघि बढनुपर्ने अहिलेको आवश्यकता हो ।’

७७ वर्षको बलिदान र संघर्षको उपलब्धि गुम्न लागेको भन्दै उनले चिन्ता व्यक्त गरे । उनले संवैधानिक बाटोबाट अघि बढ्न पनि सुझाव दिए । ‘ संविधानमा नै नभएको स्टेप चाल्दा राष्ट्रपति जस्तो संस्थाले जनतालाई अभिभावकत्व दिन नसकेकागुनासो गरे ’ यादवले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति जस्तो संस्थामाथि म कहिल्यै बोल्ने गरेको छैन ।संसद विघटनको घटनाले मर्माहत भएको छु , अब बोल्छु,’ डा.यादवले अगाडी भने , ‘राष्ट्रपतिले गरिमा र मर्यादा कायम गर्न सक्नुभएन ।’ राष्ट्रपतिको पदमा बस्ने व्यक्ति उत्तरदायित्व पूरा गर्न चुकेको उनको कथन थियो । असंवैधानिक संसद् भंगले लोकतन्त्रिक गणतन्त्रको बाटोलाई समेत आघात पुगेको उनले बताए । ‘अहिलेका सम्माननीय राष्ट्रपति र प्रधानन्त्रीले हस्ताक्षर गरेर दिएको संविधान मैले जनताका लागि अर्पण गरेको हुँ,’ उनले भने, ‘अहिले राष्ट्रपतिको संस्थालाई चोट पुगेको छ ।’ दिक्षान्त समारोहमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री केपी शर्मा ओली, सहकुलपति तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेल उपस्थित थिएनन् ।

Comment


Related News

Latest News

Trending News