अपडेट 
२०७७ पुष ९, बिहीबार ०७:४८

नेपाली कांग्रेसले पुस १६ गते सरकारबिरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको छ ।

कांग्रेसका संस्थापक नेता बीपी कोइराला मेलमिलापको नीति लिएर भारतबाट फर्किएको दिनको अवसर पारेर कांग्रेसले संसद् विघटनको विरोध स्वरुप सांकेतिक प्रदर्शन गर्ने निर्णय गरेको हो । काँग्रेसको जारी केन्द्रीय समितिको बैठककले सरकारविरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको हो ।
बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी छ । बुधबारको बैठकमा नेताहरु रामशरण महत, गगन थापा, आनन्द प्रसाद ढुङ्गाना र बलबहादुर केसीले आफ्नो धारणा राखेका छन् । उनीहरूले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा संसद भंग गरेकोमा पार्टीका तर्फबाट विरोध गर्नुपर्ने बताएका थिए । मंगलबारदेखि जारी बैठकमा अहिलेसम्म ८ जना केन्द्रीय सदस्यले धारणा राखेका छन् ।

बैठक आज दिउँसो १ बजे पुनः बस्ने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । प्रधानमन्त्री ओलीले आइतबार प्रतिनिधिसभा भंग गरेकोमा उक्त कदम असंवैधानिक भन्दै कांग्रेसले विरोध गर्दै आएको छ । बैठकमा बोल्दै केन्द्रीय सदस्य गगन थापाले प्रधानमन्त्री ओलीको असंवैधानिक कदमविरूद्ध सडकबाट प्रतिरोध गर्नुपर्ने बताए । यस्तै, केन्द्रीय सदस्य रामशरण महतले प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष ओलीले प्रतिनिधिसभा संसद भंग गरेकोमा त्यसबारे पार्टीले शशक्त प्रतिरोध गर्नुपर्ने बताए । नेता महतले संसद भंग गर्न सिंगो कम्युनिष्ट पार्टीका नेताहरू नै सक्रिय रहेकोले यो वा त्यो खेमासँग सहकार्य गरेर भन्दा पनि कांग्रेस एक्लै विरोधमा उत्रिनुपर्ने उल्लेख गरे ।

Comment


Related News

Latest News

Trending News