नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका नेताहरूले बताएका छन् ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो । यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार (आज) भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार (भोलि) बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो पक्षमा रहेकाले आफ्नो पक्षका निर्णयलाई वैधता दिन निर्वाचन आयोग जाने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक नेताले बताएका छन् ।