उखु बिक्रीको रकम भुक्तानी गर्न माग गर्दै माइतीघर मण्डलामा आन्दोलन गरिरहेका एक किसानको मंगलबार बिहान हृदयघातका कारण मृत्यु भएको छ । सोमबार सरकारसँग भएको सम्झौताबाट असन्तुष्ट देखिएका धनकौल गाउँपालिकाका छोटौल निवासी नारायण राय यादव (भगतजी) को आज बिहान गंगालाल अस्पतालमा मृत्यु भएको हो।
पूरै भुक्तानी नपाएसम्म घर नफर्किने भन्दौ आन्दोलन गरिरहेका उनी सोमबार भुक्तानी नलिइ सरकार र आन्दोलनकारीबीच सम्झौता भएको खबर सुनेपछि असन्तुष्ट देखिएका थिए । उनीले पछिल्लो तीन वर्ष देखिको अन्नपूर्ण सुगर मिलबाट २४ लाख ६५ हजार रुपियाँ भुक्तानी लिन बाँकी थियो । उनी पैसा नलिइ घर फर्किन पर्ने भयो भनेर चिन्तित भएका थिए ।
रातभर चिन्तामा रहेका यादव बिहान हृदयघात भइ ट्वाइलेटमा लडेर बेहोस भएको र गंगालाल अस्पताल पुर्याउँदासम्म उनको मृत्यु भएको बताइएको छ । अस्पतालका चिकित्सकले पनि बढी तनावकै कारण यस्तो आक्रमण भइ मृत्यु भएको बताएको एक अर्का आन्दोलित किसानले जानकारी दिए ।