आन्दोलनको क्रममा उखु किसानको मृत्यु भएपछि सर्लाही, धनकौल–७ छटौल शोकमा डुबेको छ ।
किसानलाई खेतमा उखु काटने चटारो छ । तर, विगतकै भुक्तानी लागि आन्दोलनमा सहभागि किसानको मृत्युले किसान मर्माहत छन् । उखु किसान ६४ बर्षीय नारायण रायको मृत्यु पछि सर्लाहीको छटौल शोकमा डुबेको छ । मृतक रायको सब बुधबार काठमाण्डुबाट ल्याएर सर्लाही ल्याएर अन्तिम संस्कार गरिएको छ । रायको काठमाण्डुमा आन्दोलनको क्रममै हृदयघातका कारण मंगलबार मृत्यु भएपछि परिवारसंगै छटौल शोकमा बिछिप्त छ । चिनी उद्योगले समयमै भुक्तानि नगरेपछि ऋणले थिचिएका राय जस्तै किसान भुक्तानीका लागि आन्दोलन गर्न बाध्य भएका छन् । तीन वर्षदेखि धनकौलस्थित अन्नपूर्ण चिनी उद्योगमा बिक्री गरेको उखुको २४ लाख ६३ हजार रुपैयाँ भुक्तानीका लागि राय सर्लाहीदेखि काठमाण्डुसम्म निरन्तर आन्दोलनमा सहभागि भएका थिए ।
उखुको बक्यौता रकम लिएर फर्किए पछि बैंकको कर्जा चुकाउने तयारी गरेका छोरा शियाराम राय घर चलाउने विषयमै चिन्तित छन् । रायको परिवारमा बैंकबाट लिएको १८ लाख ऋण चुक्ता गर्न परिवारमा समस्या भएको उनले बताए । उद्योगी र सरकारको लापारवाहीका कारणले परिवार नै टुहुरो भएको छ, रायले भने,‘ बुवाको हत्या भएको छ । भुक्तानि समयमा नगरेकै कारण सरकार र चिनी उद्योग दुवै दोषि छन् ।’ समयमै चिनी उद्योगीले भुक्तानी दिएको अभिभावकको ज्यान जोगिन्थ्यो, उनले भने । कृषि प्रधान रहेको मुलुकमा किसानको दुःख पीडामा सरकारले मलम लगाउन नसकेको उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले बताए । किसानले राज्यको अनुभुती नै नभएका कारण नारायण रायले ज्यान गुमाउनु परेको मैनालीलले बताए । उखुको भुक्तानि माग्दै गर्दा किसानको मृत्यु भएपछि उखु किसानमाथि पिडा थपिएको सर्लाही धनगढाका किसान लक्ष्मण रायले बताए । नगदे वालीका लागि सुरु भएको उखु खेती उधारो हुदै कर्जे खेतीमा परिणत भएको छ, उनले बताए ।
चिनी उद्योगिले सरकारका मन्त्रीलाई प्रलोभनमा पारेर वर्षेनि भुक्तानि रोक्दा किसानको विच्चली भएको छ, रायले भने, ‘ सरकारको गैर जिम्मेवारीपनका कारण उखु किसान बर्षेनी तनाव, ऋण र ज्यानको आहुती दिन बाध्य भएका छन् ।’ नेपालमै सवै भन्दा बढी उखु खेती हुने सर्लाहीमा इन्दुशंकर चिनी उद्योग, अन्न्पुर्ण चिनी उद्योग र महालक्ष्मि गरी तीन उद्योग सञ्चालनमा छन । तर, कुनै पनि उद्योग समयमा किसानको भुक्तानि गर्न सकेको छैन । चिनी उद्योग सञ्चालनको क्रममा उखु खरिद भएको १५ दिनमा भुक्तानी गर्ने किसान र उद्योगि बिच सहमति भएपनि किसान समयमा कहिल्य भुक्तानि पाउन नसकेको उखु कृषक रामशोभित महतोले बताए ।