अपडेट 
२०७७ पुष २०, सोमबार ०६:३७

जनता समाजवादी पार्टी(जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रतिनिधि सभा विघटनको समस्या न्यायालयले समाधान गर्न नसक्ने बताएका छन् ।

जनकपुरमा समाजवादी युवा संघले आयोजना गरेको प्रदेश स्तरीय युवा कार्यकर्ता प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै प्रतिनिधि सभा विघटनको मुद्दा अदालतमा रहेकोले अदालतले के गर्ने ÷नगर्ने ? अदालतको तजविजमा निर्भर हुने हो, यादवले भने,‘न्यायालयले राजनीति समस्या समाधान गर्न सक्दैन । राजनीति स्तरबाटै समस्या समाधानको विकल्प खोज्नुपर्छ । प्रधानमन्त्री ओलीले कुनै नौलो काम गरेको छैन । यस्ता घटना विगतमा पनि घटेकै हो ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीति समस्याका कारण प्रतिनिधि सभा विघटन गरेकोले समाधानपनि राजनीति स्तरबाट हुनु पर्ने यादवले बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका अध्यक्ष यादवले प्रतिगमन बर्खास्त÷खारेज गरी मुलुकलाई ट्रयाकमा ल्याउन राजनीति बृतमै समस्याको समाधान खोज्नुपर्ने बताए । ओलीको दर्शन महेन्द्रवादी र नश्लवादी रहेको उनले टिप्पणी गरे । प्रतिनिधि सभाको विघटन चुनावबाट ताजा जनादेशका लागि भएको छैन, अध्यक्ष यादवले भने, ‘ प्रतिनिधि सभाको विघटन गरी चुनावको मिति तोकिएको छ । समयमा चुनाव हुदैन । मुलुकमा विभिन्न समस्या बढेपछि प्रदेशलाई समेत विघटन गरी सेनालाई मुलुक बुझाएर संघीयता समाप्त गर्ने खेल हो ।’

प्रधानमन्त्री ओलीले संघीयता समाप्त गरी निरंकुश शासन तर्फ मुलुकलाई लिएर जादै छ, उनले भने । नेकपा पार्टी विवाद बहाना बनाएरओलीले प्रतिनिधि सभा विघटन गरी मुलुकलाई जलाउने काम गरेको यादवले बताए । ओलीको बोलीमा सहमति जनाएर लोकतन्त्रको पक्षधर सभापति शेरबहादु देउवाले अवसर खोजेको उनले आरोप लगाए । ओली भस्माशुर र काण्डै काण्डको भ्रष्ट सरकारको प्रधानमन्त्री भएको अध्यक्ष यादवले आरोप लगाए । अध्यक्ष यादवले विभिन्न आन्दोलनबाट प्राप्त उपलब्धीहरुको रक्षा गर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताए । संविधानमा रहेको असन्तुष्टीहरुलाई सम्बोधन गर्न संविधान परिमार्जन गर्नु पर्ने बेलामा प्रधानमन्त्री ओलीले संघीयता र गणतन्त्रलाई नै समाप्त गर्ने चेष्टा आरोप लगाए । नेकपाको पछिल्लो गतिविधिले मुलुकमा नेकपाको काम नरहेको स्पष्ट भैसकेको र काँग्रेस पनि ढुलमुले भएकोले लामो आन्दोलनबाट प्राप्त संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षागर्ने जिम्मेवारी जसपाको काँधमा आएको बताए । डेट एक्सपायर(म्याद नाघेको) भैसकेको नेपाली काँग्रेस र इन्जिन विग्रिएको नेकपाले मुलुकलाई अग्रगामी दिशामा लान नसक्ने बताउदै अध्यक्ष यादवले परिवर्तनको सम्बाहक युवाहरुलाई अवको नेतृत्व लिनुपर्ने बताए । जसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले ओली नेतृत्वको सरकारले चुनाव गराउनको लागि होइन, सत्तामा टिकी राख्न चुनावको घोषणा गरेको बताए । थप प्रतिगमनकारी कदमहरु चाल्न संसद विघटन गरेको भण्डारीले आरोप लगाए ।

न्यायपालिकालाई समेत संसद पुर्नस्थापना नगर्न धम्की दिने प्रधानमन्त्री ओलीलाई सडक बाटै परास्त गर्नु पर्ने बताए । कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले आन्दोलनबाटै प्रधानमन्त्री केपी शर्मा ओलीलाई घुँडा टेकाउने बताए । प्रधानमन्त्री ओलीले गरेको संसद विघटनअसंवैधानिक र अलोकतान्त्रिक भएको उनले आरोप लगाए । मुख्यमन्त्री राउतले परिवर्तनका लागि भएका हरेकखाले आन्दोलनका सामु तानाशाहरु झुकेकाले प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यही हविगत हुने बताए । मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई सन्की तानाशाहको उपमा समेत दिए । मुख्यमन्त्री राउतले केपी ओली कुन खेतको मुली हो, यीनको तानाशाही पनि आन्दोलनले विस्थापित गर्ने बताए । उनले प्रधानमन्त्री ओलीले सत्ता र पद लम्ब्याउन प्रतिनिधिसभा विघटन गरेको आरोप लगाए ।

मुख्यमन्त्री राउतले प्रमुख प्रतिपक्षी दल कांग्रेसको ढुलमुले नीतिका कारण पनि संसद् विघटनको मुद्दा जेलिएको बताए । कार्यक्रममा प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव, राज्यमन्त्री उषा यादव, भुमि व्यवस्थापन, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र यादव, केन्द्रिय सदस्य महाजन यादव, विभा पाण्डे सहितका वक्ताहरुले सम्बोधन गरेका थिए । जसपाले युवा राजनीति शक्ति सशक्त बनाउन आइतबार देखि जनकपुरमा दुई दिने प्रदेश स्तरीय प्रशिक्षण आरमभ भएको छ ।

प्रतिनिधि सभा विघटन भएपछि मुलुकको अवस्था र पार्टीको आन्दोलन तयारी लगायतको विषयमा केन्द्रित भएर समाजवादी युवा संघले प्रदेश स्तरीय युवा प्रशिक्षण आयोजना गरेको समाजवादी युवा संघका अध्यक्ष समेत रहेका कृषि राज्यमन्त्री यादवले बताए । जनकपुरस्थित मत्स्यपालनमा आइतबारदेखि शुरु भएको प्रशिक्षणमा प्रदेशका ८ जिल्लाबाट १ सय ५० जना भन्दा बढी युवा कार्यकर्ता सहभागि भएका छन् ।

Comment


Related News

Latest News

Trending News