रौतहटको राजदेवी नगरपालिकाले गरेको खर्च तथा संकलन गरेको आन्तरिक आय व्यय सार्वजनिक गर्नुपर्ने माग राख्दै लगातार १६औं दिन धर्ना दिएका छन् ।
सर्वपक्षीय सर्वदलीय संघर्ष समिति राजदेवी नगरपालिका रौतहटले शुरु गरेको शान्तिपूर्ण आन्दोलन १६ औ दिन पनि धर्ना दिएको हो । गएको आर्थिक वर्षमा नगरपालिकाले नेपाल सरकार तथा प्रदेश सरकारबाट उपलव्ध रकमको खर्च विवरण सार्वजनिक गर्नु पर्ने माग राख्दै संघर्ष समितिले पुष ३ गते देखि शान्तिपूर्ण आन्दोलन थालेको हो । पारदर्शिता ,सुशासन , सामाजिक उत्तरदायित्व, सहभागिता कायम गर्न नगरपालिकालाई पटक पटक आग्रह गर्दा पनि नगर प्रमुख धिरेन्द्र कुमार सिंहले यस तर्फ कुनै चासो नदेखाएकोले शान्तिपूर्ण रुपमाआन्दोलनको शुरुवात गरिएको संघर्ष समितिका संयोजक जनता समाजवादी पार्टी नेपालका नेता रामेश्वर प्रसाद यादवले बताए ।
जनताको चाहना अनुरुप नगरपालिकाले कार्य गर्न नसकेको संयोजक यादवले आरोप लगाए । १४ सुत्रिय माग राखेर ज्ञापन पत्र बुझाउदा पनि नगर प्रमुखले माग सम्वोधन गर्न नसकेकोले बाध्य भएर आन्दोलनमा उत्रेको उनले जनाए । स्थानीय सरकारले निर्वाह गर्नु पर्ने भूमिका समेत खेल्न नसकेको र अनियमितालाइ बढावा दिएको ठोकुवा गरे । नेकपाका नेता एवं नगर प्रत्यासी भिखारी प्रसाद यादवले नगर पालिकाको अवस्था दैनिय रहेको टिप्पणी गरेका छन् ।
जनताले पाउनु पर्ने सेवा सुविधा , विकास निर्माणका तिब्रता, पारदर्शिता समेत नदेखिएको बताउदै नगर प्रमुख नै अनियमिततामा डुबेको आरोप लगाए । विगतमा गरिएको मागको पुरा गराउन दवाव सृजना गर्ने उदेश्यले जारी रहेको आन्दोलनमा राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।



