अपडेट 
२०७७ पुष २१, मंगलवार ०७:२२

उपप्रधानमन्त्री ईश्वर पोखरेलले अरु कुनै विकल्प बाँकी नरहेपछि सरकारले बाध्यात्मक अवस्थामा प्रतिनिधिसभा बिघटन गरी निर्वाचनमा गएको बताएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिरहाले सोमबार चोहर्वामा आयोजना गरेको जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले निर्वाचित प्रधानमन्त्रीलाई षड् यन्त्रपूर्वक ढंगले घेराबन्दीमा पारेर काम गर्न नदिने र मुलुकलाई गम्भीर संकटमा धकेल्ने देखेपछि सरकारले बाध्यात्मक अवस्था संसद बिघटन गरी जनतामा जाने निर्णय गरेको बताए । ‘जनताको ६४ प्रतिशत मत पाएर निर्वाचित भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई हात खुट्टा बाँधेर कामै गर्न नदिने, हरेक कुरामा लेनदेनको कुरा गर्ने, भागवण्डा खोज्नेमात्र काम हुँदै आयो’, उपप्रधानमन्त्री पोखरेलले भने, ‘जनताको हितमा, राष्ट्रको हितमा काम गर्न खोज्दा प्रधानमन्त्री बिरुद्ध आरोपपत्र तयार पार्ने, संसदमा अविश्वासका प्रस्ताब दत्र्ता गराउने, राष्ट्रपति विरुद्ध महाअभियोग लगाउने जस्ता षडयन्त्र भएको स्पष्ट छ ।’ त्यसैले ती सबै षड्यन्त्रहरुलाई चिर्न र मुलुकमा राजनीतिक ‘कु’ लाई रोक्न सरकारले यस्तो निर्णय लिएको उनको कथन थियो ।

निर्वाचित प्रधानमन्त्रीलाई जनादेश अनुसार ५ बर्ष काम गर्न नदिएपछि ताजा जनादेशमा जानेअधिकार रहेको दाबी गर्दै उनले निर्वाचनले लोकतान्त्रिक गणतन्त्रलाई मजबुत बनाउने भएकाले निर्वाचनबाट कोही भाग्न नहुने उनको तर्क रहेको छ । अवसरवादी हर्कत गर्दै अन्तरबिरोधमा खेल्ने र पार्टीको सत्तामा नपुगेको कुण्ठा बोकेका नेताको गठबन्धनका कारण पार्टी एकता भएको ३ बर्ष नपुग्दै बिभाजनको अवस्थामा पुगेको बताए । उनले प्रचण्ड माधव समूह दुई वटा विषयमा सहमत भए अझै पार्टी एकता जोगिने उपप्रधानमन्त्री पोखरेलले जिकिर गरे । उलने भने, ‘प्रधानमन्त्री बिरुद्ध तयार पारेको आरोपपत्र फिर्ता लिने र निर्वाचनमा जान तयार भए अझै पार्टी एकता कायम रहन सक्छ ’। कार्यक्रममा शहरी विकासमन्त्री प्रभु साह, कानुन, न्याय तथा संसदीय दल मन्त्री लीलानाथ श्रेष्ठ लगायत नेकपाका सांसद तथा नेताहरुले सम्बोधन गरेका थिए । शहरी विकास मन्त्री प्रभु साहले प्रतिनिधिसभा बिघटन प्रधानमन्त्रीले खुसीले नगरेर बाध्यात्मक अवस्थामा गर्नु परेको दाबी गरे । सरकारले घोषणा गरेको निर्वाचनले नै मुलुकलाई निकास दिने उनले तर्क गरे ।

प्रधानमन्त्री ओलीले संसद बिघटन गरी जनताको बीचमा जाने निर्णय आफैमा लोकतान्त्रिक प्रद्धति भएकाले निर्वाचनबाट कोही डराउनु पर्ने अवस्था नरहेको जिकिर गर्दै उनले प्रधानमन्त्रीले चालेको कदम आफैमा आत्महत्या सरह भएपनि यसले मुलुकलाई गम्भीर संकटबाट जोगाएको मन्त्री साहको तर्क थियो । भेलामा कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले वर्तमान सरकारले गरेको लोकप्रिय कामबाट हतोत्साहित बनेको नेताहरु देशी बिदेशी शक्तिहरुको इसारामा प्रधानमन्त्री बिरुद्ध षडयन्त्र गरेका कारण यस्तो स्थिति आएको बताए । नेकपाकी नेतृ तथा प्रदेशसभा सदस्य ज्वालाकुमारी साह, नेकपाका केन्द्रीय सदस्य रामशंकर यादवले समेत सम्वोधन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News