अपडेट 
२०७७ पुष २२, बुधबार ०८:००

।उपप्रधानमन्त्री इश्वर पोखरेलले नेकपा पार्टी विभाजन गर्न खोज्ने विरुद्ध आफुहरु कडा रुपमा प्रस्तुत भएको दावी गरेका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मंगलबार आयोजित वृहत्त कार्यकर्ता भेलालाई सम्बोधनगर्दै नेकपाका सचिवालय सदस्य समेत रहेका उपप्रधानमन्त्री पोखरेलले पार्टी विभाजन गर्न खोज्ने प्रचण्ड–माधव विरुद्ध आफुहरु एकजुट भएको बताए । ‘पार्टी अहिलेपनि औपचारिक रुपमा विभाजन भएको होईन’ उनले भने, हामी पार्टी विभाजन गर्न पनि चाहदैनौ ।‘ हाम्रो लागि पार्टी एकता प्राणभन्दा प्यारो छ ’पोखरेलले भने, तर आफ्नै पार्टीका प्रधानमन्त्री तथा पार्टी अध्यक्ष विरुद्ध षड्यन्त्र गर्नेको बिरोधमा कडा रुपमा प्रस्तुत भएको मात्रै हो ।’ ‘धक्का–मुक्की’ लागेर ढलेको पार्टी चुनाव जितेर पुनः खडा हुनेछ ’उनले भने, व्यक्तिगत स्वार्थ र पद नपाउदा प्रधानमन्त्रीलाई ‘धक्का–मुक्की’ गर्दा प्रतिनिधि सभा बिघटन गरी चुनावको मिति तोकिएको छ । नेकपाको छाप, झण्डा प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा रहेको पार्टीले पाउने ठोकुवागर्दै उनले कार्यकर्तालाई ढुक्क रहन विश्वास दिलाए । पार्टीको आधिकारिकता सम्बन्धी विवाद अहिले निर्वाचन आयोगमा विचाराधिन रहेकोछ ।

दुवै पक्षले सूय चिन्ह पाउने दावीगर्दै आएका छन् । नेकपा दुई पार्टी नभएपनि गतिविधिले एक स्थानमा बस्ने अवस्था नरहेको बताउदै आफुहरु एकताको पक्षमा रहेको पोखरेलले दावी गरे । तत्कालीन माओवादी र एमाले पार्टी एकताको खुशी ३ वर्ष सम्म पनि नटिक्नुमा प्रचण्ड र माधवकुमार नेपाल मुख्य दोषि रहेको उनको आरोप थियो । कार्याकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री प्रभु साहले तोकिएकै मितिमा निर्वाचन हुने बताए । ‘चुनावको विकल्प छैन’ उनले भने, ‘दाहाल–नेपाल भ्रमको राजनीतिमा लागेका डेटस्पायर नेता हुन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीसंग जनताको काम गर्ने जन नेताहरु रहेको उनले बताए । ‘दाहाल–नेपालसंग टीका लगाएको र पकेटका नेता मात्रै छन्’ उनले भने, प्रतिनिधि सभा विघटन निरंकुश नभएर लोकतान्त्रिक कदम हो । कानुन तथा न्याय मन्त्री लिलानाथ श्रेष्ठले मधेस र मधेसीलाई माया गर्ने नेता प्रधानमन्त्री ओली रहेकाले मधेस र मधेसीले साथ दिनुपर्ने बताए । माधव नेपाल, झलनाथ खनाल लगायतका नेताको भुलभुलैयामा नपरि ओलीको पार्टीमा लाग्न उनले आग्रह गरे ।

महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री जुली महतोले मुलधारका कम्युनिष्टलाई प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपामा सामेल हुन आग्रह गरिन् । गुटबन्दी र नेताको स्वार्थका कारण नेकपा पार्टीमा समस्या भएकोले मुलधारको पार्टीमा लाग्न उनले आग्रह गरिन् । कार्यक्रममा बोल्दै स्थायी कमिटी सदस्य रघुबीर महासेठले दाँत भाँच्ने नेताको घर सम्मै गएर भत्काइने दिने धम्की दिए ।गत हप्ता सोही स्थानमा नेकपा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको कार्यकर्ता भेलामा नेता रामचन्द्र झाले प्रधानमन्त्री ओलीलाई दिएको धम्कीको जवाफमा महासेठले धम्काए । कार्यकर्ता भेलामा नेता योगनारायण यादव ,नेकपाका प्रदेश सांसद ज्वाला साह, असर्फी भिनवार लगायतका नेताले सम्बोधन गरेका थिए । भेलाअघि नेता, कार्यकर्ताले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन समेत गरेका थिए । रेल्वे स्टेशनबाट सुरु भएको ¥याली नगर परिक्रमा गर्दै पार्टी कार्यालय पुगेका थिए ।

Comment


Related News

Latest News

Trending News