अपडेट 
२०७७ पुष २७, सोमबार २०:४४

जनता समाजवादी पार्टीले जनकपुरधाममा विशाल शक्ति प्रदर्शन गरेको छ ।

जनता समाजवादी पार्टीले जनकपुरधाममा विशाल शक्ति प्रदर्शन गरेको छ । पार्टीका दुई जिल्ला धनुषा र महोत्तरीले संयुक्त रुपमा आयोजना गरेको विशाल जनप्रदर्शन तथा विरोधसभामा सोमबार मानवसागर नै उतारेको थियो । रेल्वे स्टेसनमा आयोजना गरिएको कार्यक्रममा जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले ओली तन्त्र भनेको मनपरीतन्त्र रहेको बताएका छन् । संविधानमा लेख्दैन लेखेको कुरालाई प्रयोग गरेर संसद विघटन गर्नु नै यसको प्रमुख उदाहरण भएको बताए । सातवटा संविधान बने पनि जनतालाई अधिकार दिँदैन यो कस्तो देश हो उनले भने ,केपी ओली यो कस्तो संबिधान बनाएको ? जनताको घाँटी रेटेर बनाएको संविधान यस्तै हुन्छ नि जुन टिक्दैन ।

नेता महतोले दुनियाको सबैभन्दा राम्रो संविधान भनिएपनि प्रतिगमन गरेर राम नाम सत्य गरेको बताए । उनले प्रश्न गर्दै भने जनताले दुईतिहाईको बहुमत दिए भने के उनले गल्ती गरे त ? मधेसी मोर्चासँग गरेको आठ बुंदे सम्झौता संविधान बनाउने बेलामा रद्दीको टोकरीमा फालेको बताउँदै उनले आन्दोलन गर्दा रेशम चौधरीलाई आजीवन कारावासको जेल सजाय दिइन्छ भने १७ हजारलाई मार्ने प्रचण्डलाई जेल पठाउनु पर्ने बताएका थिए । कार्यक्रममा जसपा का नेता शरतसिंह भण्डारीले पाच कक्षामा पढ्ने विद्यार्थीलाई संविधान पढन दिइयोस यदि प्रधानमन्त्रीलाई विघटन गर्ने अधिकार छ भने आफूले राजनीतिबाट सन्यास लिने घोषणा गरे । ओलीलाई देशप्रति अलिकति पनि माया भएको भए संसद् विघटन गर्ने सोच पनि नराखथे , नेता भण्डारीले भने, ६० वर्षपछि दुईतिहाइ बहुमतको दुरुपयोग गरेकोले ओलि जनताको दोषी हो । ओलि ले काम गर्ने वातावरण नरहेकोले जनादेश मा जाने फैसला गरेको अभिव्यक्तिमा उनले असफलतालाई लुकाउनका लागि ओली संसद बिघटन गरेर देशसँग गद्दारी गरेको बताए ।

संविधानको रक्षाका लागि जीने की तमन्ना है र अधिकारका लागि मर्ने का इरादा भन्दै जनतालाई संविधानको रक्षाका लागि तयार बस्न आग्रह गरे । उनले भने हामी पुनर्स्थापनाका पक्षमा छैनौं हामी जुन पनि परिस्थितिमा चुनावमा जान तयार छौं तर संविधानसँग खेलबाड गरेकालाई तह लगाउनु आवश्यक छ । कार्यक्रममा जनता समाजवादी पार्टीकी केन्द्रीय नेतृ रेणु यादवले देशमा रहेको संविधानलाई राष्ट्रपतिदेखि लिएर प्रधानमन्त्री सम्मले मान्नुपर्छ नमान्नेलाई छोड्न नहुने बताइन् । मधेसीले बलिदानी दिएर ल्याएको संविधानलाई समाप्त पार्ने चलखेल गरियो भने कुनै पनि हालतमा बरदास्त नगर्ने बताउँदै उनको घरको लडाइँलाई ठूलो बनाएर बदला लिने अभिप्रायले गरिएको संविधान मिच्ने कार्य सहन नहुने बताइन् । मदन भण्डारीको सपनालाई तुहाउन का लागि राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको कार्य दुखद रहेको बताएकी थिइन् । कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रीय नेता वृषेशचन्द्र लालले देशको सबैभन्दा ठूलो अदालत जनता रहेको र धोका दिनलाई घाँटी निमोठेर जनताले फाल्ने बताए ।

उनले देशका प्रमुख निकायले नै संविधान नमानेपछि लोकतन्त्रको अर्थ नै समाप्त हुने बताए । यता केन्द्रीय नेता उमाकान्त चौधरीले संविधानको धारा ७६ को १ प्रयोग गरी गठन भएको सरकार र त्यसलाई विघटनको अधिकार नभएको बताए । त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर २ का भौतिक योजनामन्त्री जितेन्द्र सोनलले केपी ओली र माधव नेपालमा कुनै पनि भिन्नता नरहेको बताउँदै मधेसले उठाएका मुद्दामा जबसम्म साथ दिँदैन तबसम्म सँगै आन्दोलन गर्न तयार नरहेको बताएका थिए । प्रदेश सभा सदस्य परमेश्वर साहको अध्यक्षतामा भएको कार्यक्रममा जसपाका केन्द्रिय नेताहरुले सम्बोधन गरेका थिए ।

Comment


Related News

Latest News

Trending News