अपडेट 
२०७७ पुष २८, मंगलवार ०७:२७

मानवीय समुदाय प्रागऐतिहासिक र ऐतिहासिक प्रवाहमा फिरन्ते, कबिलाई, जनपदीय, सामन्ती, राजतन्त्र र गणतन्त्रलगायत विविध प्राकृतिक र सामाजिक चरणबाट गुज्रेको इतिहास छ । वस्तुतः मानवीय चेतनाको विकासपनि यिनै प्राकृतिक र सामाजिक चरणहरुको विकासको क्रममा सामुदायिक अन्तुर्घुलन र अन्तद्र्वन्द्वको परिणाम हो ।

संस्कृति, राष्ट्रियता, देशभक्ति, अन्तर्राष्ट्रियतावाद, वर्गचेतना, समाजवाद, साम्यवाद, अधिनायकवाद, तानाशाही, न्याय, अन्याय, नैतिक, अनैतिक, स्वतन्त्रता, मुक्तिसंघर्षको चेत, अग्रगमन, पश्चगमन आदि सबै सामाजिक र राजनैतिक चेतनाहरु मानिसका यिनै ऐतिहासिक अन्तर्घुृलन र अन्तद्वन्द्वहरु विकसित मानवीय भावहरु र विचारधाराहरु हुन् । यी सबै, मानिसको आफ्नो सहजता र असहजताका बीच विकसित स्वीकृत र अस्वीकृत, त्यसतै औचित्यपूर्ण र अनौचित्यपूर्ण विचार र सामाजिक राजनैतिक ढाँचाहरु हुन् । समय जस्तै इतिहासपनि प्रवाहमान हो । एउटा निश्चित अनुकूल र प्रतिकूलताका बीचबाट विविध प्रकारका शासनतन्त्रहरुको विकास भएको हो । यहाँ उल्लेखनीय के छ भने कबिला, सामन्त, राजतन्त्र वा गणतन्त्रका विविध स्वरुपहरु सामाजिक विकासका क्रममा एउटा ऐतिहासिक अनिवार्यताका उपजहरु हुन् । त्यसैले समाज नयाँ स्थितिमा विकास गरेपछि पुरानो समाजको शासनतन्त्रले औचित्यता गुमाउँदो रहेछ र नयाँ शासनतन्त्रले त्यसको स्थान ग्रहण गर्छ ।

यस पुरानोको जानु र नयाँको आगमनको बीच पुराना व्यवस्थाका शासकहरुले अनेक उपाय गरेर यस अग्रगमनलाई रोक्ने कोशिस गर्छ । यस क्रममा विविध प्रकारका वैचारिक, साँस्कृतिक र भौतिक संघर्षहरु हुने गर्छ । तर सामाजिक औचित्य गुमाईसकेको र नयाँ सामाजिक चेतनासंग मेल न खाने पुरानो शासनतन्त्र त्यसरी नै समाप्त हुन्छ, जसरी प्रकृतिमा रहेको हरेक वस्तु जन्मन्छ, हुर्कन्छ, र पुरानो भएर मर्छ, र नयाँले उसको स्थान लिन्छ । तर मानवीय समुदाय एउटा चेतनशील प्राणी भएकोले पुरानो शासनतन्त्रमा हुर्केको र वर्ग र साँस्कृतिक मोह राख्ने अवशेषहरु पूर्णतः समाप्त नभएसम्म पुरातनलाई फर्काउने प्रयास गरिरहेका हुन्छन् । यो खास गरी पुरानो शासनतन्त्रमा शासन र समाज दुबैपंक्तिमा आर्थिक र सामाजिक दुबैरुपमा प्रतिष्ठा पाएको तर नयाँ राज्यव्यस्थामा बहिष्कृत हुने भय रहेकाहरु हुन्छन्, जस्ले जनसामान्यमापनि अनेक खाले भ्रम सिर्जना गरिरहेका हुन्छन् । हामी कहाँ हिन्दुत्व र राजतन्त्रको पक्षमा नारा उचाल्नेहरु यस्तै अवशेषहरु हुन्, जस्ले राजतन्त्रकालमा राजाका आश्रय पाएका थिए वा जस्ले राजामा देवत्व देखेका थिए, वा जो कुनै न कुनै किसिमबाट राजा वा उनका भारदार, मन्त्री वा बाबुसाहेबहरुबाट उपकृत भएका थिए ।

यस अतिरिक्त सिमित चेतनाको एउटा नयाँ समूह छ, जो वर्तमान गणतन्त्रका सञ्चालकहरुको कमजोरी र गैर जनवादीपनाको विकल्पमा नयाँ र अग्रगमन नसोँचेर ती पुरातन राजतन्त्रात्मकतालाई नै विकल्पको रुपमा हेर्छ । होइनभने कुनैपनि चेतनशीलले स्वतन्त्रताको विकल्पमा दासत्वको राजनीतिक व्यवस्था किन रोज्छ ? राजतन्त्र एउटा स्थायी दासत्वको व्यवस्था हो, जनता होइन, प्रजा हुने गर्छ । हजारौँको शहादत र अथक जनसंघर्षबाट प्राप्त यस गणतन्त्रको विरुद्ध राजतन्त्रको वकालत गर्नेहरु निश्चय नै कि त भ्रमितहरु हुन्, कि त इतिहासका ती प्रतिगामी दक्षिणपन्थीहरु । निश्चय नै नेपाली जनताको स्थिति अहिले जालबाट उछिट्टिएर भुङग्रोमा परेको माछा जस्तै भएको छ । एउटा शोषणमुक्त, न्यायिक र समानतामा आधारित तथा देशमा बहुसंख्यक रहेको मिहनेत गर्नेहरुको पक्षमा राज्यतन्त्रको सपनासहित ल्याइएको गणतन्त्र छिट्टै दलाल पूँजीपति तथा नौकरशाहहरुको वर्चस्वमा घोर शोषणकारी राज्यमा परिणत भएको छ । राजतन्त्रात्मक निरङकुशताबाट निस्केको नेपाली समाज पुँजीवादी अधिनायकत्वको चपेटामा परेका छ । जबकि उसले जनताको अधिनायककत्व चाहेको थियो ।

समाजवाद र लोकतन्त्रको नाममा ती पुराना बहुदलिय राजतन्त्रका चाकर राजनीतिक दलहरुले जसरी वर्तमान गणतन्त्रमा लूट खसोट र आपसमै काटाकाटको अराजकता सिर्जना गरेका छन्, त्यसले जनतामा दिक्दारीपना उत्पन्न हुनु स्वाभाविक नै हो । निर्वाचन र यसमा गर्धन छप्काएर होस वा पैसाले किनेर होस, जसरीपनि निर्वाचन जितेर सरकार बनाउनु र प्रतिपक्षमा बस्नु नै लोकतन्त्रको पहिचान बनेको छ । शासनतन्त्रमा कब्जा गरिसकेपछि सम्विधानको आफूखुशी अथ लगाउन सकिन्छ भन्ने तथ्य प्रधानमन्त्रीले संसद विघटन गरेर प्रस्तुत गरिसकेका छन् । सम्विधानका धाराहरु पढेपछि सामान्य मानिसले पनि संसदबाट सरकार बन्ने सम्भावना रहेसम्म संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई छैन भन्ने कुरा सहजै बुझ्न सक्छन् । प्रधानमन्त्रीले संसदमा यस्तो स्थितिको परिक्षण नै नगरी पार्टीभित्रको अन्तर्विरोधबाट बच्न संसद विघटन गरेकोपनि प्रष्टै छ । तर यी सबै प्रष्ट हुँदाहुँदैपनि सम्विधानको धाराको व्याख्या गर्न सम्वैधानिक अदालत र एमीकस क्यूरी गठन गरिएको छ । सम्विधानवादीहरुले यसलाई न्याय परिक्षणको विधि भनेर यस्को पक्ष लिन सक्छन् ।

जहाँ स्थिति अस्पष्ट छ, वा सम्विधानका अव्यक्त मर्महरुको व्याख्याको स्थिति आउँछ, त्यहाँ त यस्ता तामझामहरु उचित र स्वाभाविक नै हुन्छ । तर ऐना झैँ सफा रहेको स्थितिमा पनि यस्ता औपचारिकताहरु राजनैतिक व्यवहारका दृष्टिले हास्यास्पद स्थिति हुनजान्छ । यस्तै झञ्झटिलो स्थितिमा फँसेर ढीलोगरी प्राप्त हुने न्याय प्रभावहीन र औचित्यहीन हुनजान्छ । विघटित संसदको कारण कामचलाउ प्रधानमन्त्रीले जतिसुकै फलाकेपनि देशमा अराजकता बढदैछ । शासनतन्त्रका सबै अङ्ग नियन्त्रणभन्दा बाहिर हुँदैगएका छन् । यस्ले वर्तमान शासनतन्त्र, राजनीति होस वा कर्मचारीतन्त्र चरित्रगतरुपमा पूर्णतः असफल देखिन थालेको छ । निश्चय नै जनताको निम्ती यो दुःखदायी स्थिति हो । तर यसको अर्थ गणतन्त्रभन्दा राजतन्त्र (जुनसुकै स्वरुपमा भएपनि) कुनैपनि अवस्थामा उपयुक्त हुनसक्दैन ।

दलाल पूँजीपतिहरुको वर्चस्वमा परेको गणतन्त्रलाई वास्तविक अर्थमा जनतान्त्रिक बनाउन नयाँ प्रकारको जनवादी गणतन्त्रको विकल्प छनौट गर्नुको साटो राजतन्त्रको कुरा गर्नु भनेको जालबाट उछिट्टिएर भुङग्रोमा परेको माछो फेरी जालमा फर्कनु नै हुनेछ । विश्व इतिहासमा राज्य र राज्यव्यवस्था निर्माणका मूख्यतः दुईवटा प्रक्रियाहरु पाइन्छ । पहिलो, शासकको तरवारबाट र दोस्रो, जनताको व्रिदोह, क्रान्ति तथा जनसम्मतिबाट । हरेक राज्यले आफ्नो दीगोपना र जनसमर्थनको निम्ती आफू अनुकूलको राजनैतिक संस्कृतिको विकास गर्छ । यस्को निम्ती उसले साँस्कृतिक प्रतीक र बिम्बहरुका निर्माण गर्छ, जस्ले जनतामा त्यस राजनीतिक व्यवस्थाप्रति भावनात्मक विश्वास जगाउँछ । ंत्यो व्यवस्था ल्याउन गरिएका प्रयत्नहरु, जनसंघर्षहरु, शहिदहरु, जनचेतनाहरु नै साँस्कृतिक प्रतिक र बिम्बहरु हुन् । सामन्ती राजतन्त्रमा राजाका पुस्ताहरु, राजतन्त्रले लडेका लडाईँहरुमा भागलिएका वीर सामन्तहरु र योद्धाहरु, राजतन्त्रलाई मानवीय अर्थमा प्रस्तुत गर्ने तथा राजाका बखान गर्ने बौद्धिकवर्गहरु प्रतीकको रुपमा प्रस्तुत गरिएका हुन्छन् ।

गणतन्त्र वा जनतन्त्रमा यसको निम्ती संघर्ष गर्ने र बलिदान गर्ने जनताहरु र शहिदहरु, गणतन्त्रसमर्थक प्रेरक बौद्धिक र साँस्कृतिक व्यक्तित्वहरु यस व्यवस्थाका प्रतीक छन् भने यसका निम्ती संघर्ष गाथाहरु र जनसमुदायको सामूहिक छवि, जीवनशैली गणतन्त्रमा निहित साँस्कृतिक समानता तथा समावेशिताका बिम्बहरु हुन् । वर्तमान गणतन्त्रको दुःख भनेको यसका पश्चचेतनाका सञ्चालकहरु त छन् नै, यसको अतिरिक्त वर्तमान समाज र राजनीतिमा घुसेका पुरातन राजतन्त्रका अवशेष वर्गहरुको उपस्थितिपजि हो । पन्द्रवर्ष बितीसक्दापनि वर्तमान गणतन्त्रले आफ्ना शहीदहरु र बलिदानका गाथाहरु जनसमुदायबीच राम्ररी स्थापित गर्नसकेको छैन । अहिलेपनि दुर्गानन्द, रामवृक्ष, ऋषि देवकोटा, जानकीदेवी, कृष्णसेन, सरोज कोइराला, कामेश्वर– कुशेश्वर, निकु यादव र दिलिप यादव आदि असंख्य शहिदका गाथाहरु जनतामा स्थापित हुनसकेको छैन । जबकि गणतन्त्रमा समेत राष्ट्रिय एकताको प्रतिक पृथ्वीनारायण शाह हो भन्ने दावी सरकारी वृत्तबाट उठने गर्छ । अहिलेपनि राजा त्रिभूवनलाई राष्ट्रपिता मान्नेहरु छन् र अहिलेपनि नेपाल पज्ञा प्रतिष्ठानमा पञ्चायती तानाशाहीका प्रवत्र्तक राजा महेन्द्रको प्रतिमा पुनस्र्थापित छ ।

यो गम्भीर साँस्कृतिक चुनौती हो, जस्मा जनताको अथक संघर्ष र बलिदानबाट प्राप्त गणतन्त्र र संघीयताको स्थायीत्व र विकास निहित छ । ऐतिहासिक तथ्यले के भन्छन भने शाही इतिहासकारहरुले भनेको राजा पृथ्वीनारायण शाहको नेपालको एकीकरण अभियान वास्तवमा तरवारको बलमा उनको गोर्खाराज्यको विस्तारीकरण अभियान मात्र थियो । वस्तुतः उनलाई नेपालसंग होइन, आफूले ठूलो दुःख गरेर आर्जेको गोर्खामुलुकसंग मोहमायाँ थियो । त्यसैले उनले आफूलाई गोर्खाधीश भन्न नै रुचाए । उनले जिेतेका मुलुक विजित प्रदेश मात्र थियो, जसको श्रम र उत्पादन र प्राकृतिक सम्पदाबाट गोर्खा राज्य, गोर्खाली राजा, उनका भारदार र उनका लडाकू सेनाहरु पोषित हुन्थे । त्यतिबेला नेपाल भनेको काठमाँडौ उपत्यकाको तीन शहर थियो । काठमाँडौ, ललितपुर र भक्तपुरलाई संयुक्तरुपमा नेपाल खाल्डो भनिन्थ्यो । तराई मधेशमा एउटा उखान प्रचलित थियो –जायब नेपाल आ सङ्गे जायत कपार । यो गोर्खाधीशको उपाधि पृथ्वीनारायण शाहसम्म मात्र सीमित रहेन, उनको चौथो पुस्ता गिर्वाणयुद्धसम्म यो कायम रहयो ।

पृथ्वीनारायण र उनिपछिका उत्तराधिकारीहरुले स्थायी मुकाम गोर्खाबाट काठमाँडौ सारेपनि कागजहरुमा ‘मुकाम काठमाँडौ’ नै लेखिन्थ्यो । राजधानी त गोर्खा नै थियो । नेपालभन्दा गोर्खाको महत्व त राणाकालको अन्तसम्मपनि गोर्खाभाषा प्रकाशिनी समिति (पछि यो नेपालीभाषा प्रकाशिनी समितिमा परिणत भयो) गोर्खापत्र र गोर्खाली सँस्कृतिको प्रचारबाटपनि बुझ्नसकिन्छ । पृथ्वीनारायण शाह एउटा चतुर र महत्वाकांक्षी राजा थिए, उनले तरवारको बलमा स–साना भूरे टाकुरे तथा तराई मधेशका राज्यहरुलाई जीतेर एउटा केन्द्रिकृत राज्यको निर्माण गरे, यसमा दुईमत छैन । उनको यस अभियानलाई उनका कान्छा छोरा बहादुर शाहले अगाडी बढाएको तथा पनाती गिर्वाणयुद्धको पालामा अँग्रेजसंगको युद्धमा पराजयपछि यो अभियान रोकिएको, र यसैकारण जीतेको केहीभाग गुमाएर बचेको भाग नै नेपालको वर्तमानको सीमा हो भन्नेमा पनि दुईमत छैन । वास्तवमा एउटा देशको रुपमा नेपाल भनेर अँग्रेजहरुलेसन् १८१४पछि नेपालका शासकहरुलाई लेखेको पत्र तथा सम्झौतापत्रमा पहिलोपटक प्रयोग गरेको ऐतिहासिक यथार्थ धेरैको निम्ती कटु हुनसक्छ ।

पछि राजा महेन्द्रले पञ्चायती तानाशाही व्यवस्था लागू गर्दा यसै नेपालमा गोर्खाली शाही लडाकुपना (वीरता), र मध्यकालीन सामन्ती राजतन्त्रात्मक परम्परामा निहित उच्चजातिय संकीर्ण हिन्दुत्वको धार्मिक भावनाको समष्टिगतरुपलाई नेपालीपनाको रुपमा प्रस्तुत गरे । जस्मा शाहवंशीय शासनतन्त्रमा कुनै न कुनैरुपमा सामेल बाहेकका तराई मधेश, पहाड र हिमालका सबै जाति, जनजाति तथा समुदाय र वर्गहरु उत्पीडित थियो । तथापि तराईमधेशको तुलनामा पहाडमा शासकिय अहंको भ्रमित भावना सिर्जित गरेको थियो । वस्तुतः नेपाल र नेपालीत्वलाई सामन्ती राष्ट्रिय साँस्कृतिक संकीर्ण चेतनाको भावनात्मक स्वरुप दिने श्रेय राजा महेन्द्रलाई जान्छ । यस्तो प्रतीक जस्ले देशको एउटा समूहमा हिनता तथा आफू छुटेको बोध जन्माउँछ र अरुमा छुटेको प्रति हेयभाव जन्माउँछ, त्यो कसरी राष्ट्रिय एकताको प्रतीक हुनसक्छ । पृथ्वीनारायण शाहलाई एउटा निरङकुश साम्राज्यको संस्थापकको श्रेय दिनुपनि अनुचित हुँदैन । तर राजनैतिक संस्कृतिको अर्थमा निश्चय नै वर्तमान नेपाल पृथ्वीनारायण शाहको दुःखले आर्जेको नेपाल होइन । पृथ्वीनारायण शाहले आर्जेको नेपालमा शाहवंशीय राजाहरु र उनका भारदारहरुको रगत पसीना र श्रम बगेको थियो । तर वर्तमान गणतन्त्रात्मक नेपालमा पहाड, तराई मधेश र हिमाल सबै प्रदेशमा बस्ने सबै वर्ग, जाति, समुदायको रगत र पसीना बगेको हो ।

वर्तमान गणतन्त्र नेपालको ऐतिहासिक यथार्थ के हो भने राजतन्त्रको युगौँ पुरानो उत्पीडनमा परेका नेपाली जनताले पृथ्वीनारायण शाहको शाही उत्पीडनको परम्पराबाट मुक्त हुनलाई अथक संघर्ष लडेको हो । यस्तोमा पृथ्वीनारायण शाह वा अन्य राजाहरु राजतन्त्रात्मक पुस्तामा जन्मेका र मौज गरेकाहरु शाह, राणा, जमिन्दारवर्ग जस्ता राजसीसंस्कृतिमा गर्व गर्नेहरुको निम्ती प्रेरक र राष्ट्रिय एकताको प्रतीक हुनसक्छन् । आधुनिक नेपाल अर्थात गणतन्त्र नेपालको निम्ती त जनसंघर्षमा बलिदान गर्ने शहीदहरु र यसका निम्ती अथक संघर्ष गर्नेहरु तथा यस देशका श्रमजीविवर्ग तथा सबै जाति, जनजातिबीचको एकताको सामूहिक भावनै साँस्कृतिक एकताको प्रतीक हुनसक्छ । र नेपाली जनताको यस साँस्कृतिक एकताको विरुद्ध उभिनेहरु त्यो वर्तमान राजनीतिका धूर्त नेताहरु होउन, अथवा दक्षिणपन्थी निरङकुश राजतन्त्रवादीहरु, हानिकर तत्वहरु हुन् । यसको विरुद्ध सबै एकजूट हुनुपर्छ । गणतान्त्रिक देशमा जनतामात्र एकताको प्रतीक हुनसक्छ । सचेत होऔँ, पश्चगमन होइन अग्रगमनबारे सोँचौ ।

Comment


Related News

Latest News

Trending News