अपडेट 
२०७७ पुष २९, बुधबार ०८:०२

अहिले अत्यधिक जाडोको मौसम सुरु भएको छ । एक हिसाबले अत्यधिक जाडो सुरु भइसकेको छ । यो जाडोको चरम अवस्था हो । अहिलेको समयलाई सबैभन्दा बढी जाडोको दिन पनि भनिएको हो । सर्वसाधारणले पनि यही मानेका छन् कि सबैभन्दा बढी जाडो पुस र माघमा हुन्छ । यसपटक पुसमा खासै जाडो भएन भनियो । समय नै केही पछाडि छ भन्ने कुरा ग्रामीण समुदायमा प्रचलनमा रहेको छ ।

मंसिर महिनामा छठ भयो भने त पुसमा त जाडो भइहाल्छ नि । जाडो केही समय अलिक पछि सरेर पुसको अन्तिम र माघमा हुन्छ भन्ने स्वाभाविक स्वीकारोक्ति सर्वसाधारणको रहेको छ । यसै सोचाइलाई प्रकृतिले व्यवहारमा उतारेको देखिन्छ । अहिले प्रकृतिको जाडो रुपले आफ्नो कहर बर्साएको छ । गाउँघरमा कस्तो सोचाइ रहेको छ भने भदौमा जति दिन पश्चिमा हावा चलेको हुन्छ, उति दिन चाहिँ पुसमा कुहिरो लाग्छ रे । पुसमा कुहिरो नलागे माघमा त फरकै पर्दैन भन्छन् । अझ यो पनि विश्वास पाइन्छ कि हरेक वर्ष माघे संक्रान्तिको केही दिन पहिले धेरै जाडो हुन्छ, कुहिरो लाग्छ, एक दुई दिन त दिनभरि घाम लाग्दैन । यसै गरी श्रीपञ्चमीको समयलाई पनि भनिन्छ । श्रीपञ्चमीको समयलाई पनि केही बढी जाडोले सताउने समयको रुपमा लिइन्छ । यस वर्ष त समय नै केही पछाडि परेको भनिएको छ । यसले गर्दा यस वर्षको श्रीपञ्चमी पनि केही पछाडि नै सरेको छ । फागुनमा श्रीपञ्चमी परेको छ । हुन सक्छ, यस वर्ष श्रीपञ्चमीको समयमा केही जाडो कम भइसकेको हुनेछ । यद्यपि अहिले जाडोले आफ्नो जवानी देखाइरहेको छ । अहिले जाडोको मौसम छ, जाडो त भइरहन्छ ।

जाडो भएन भने त यस महिनाको महत्व नै कम हुन्छ । हुन त यसपटक जाडो नै भएन भनेर कतिपयले भनिरहेका थिए । जाडो नै भएन भन्नेहरुले पनि अहिले जाडो केही बढी भयो भन्न थालेका छन् । एक दुई दिन घाम नलाग्दा पनि जाडो भएको महसुस धेरै भएको छ र एक दुई दिन जाडो अलिक कम हुँदा मच्छर बढी लागेको छ । वास्तवमा समयप्रति मानिस बढी आलोचक हुन्छ भन्ने प्रवृत्ति हो । जाडो कम हुँदा पनि समयलाई दोष दिने र जाडो अलिक बढी हुँदा पनि समयलाई गाली गर्ने प्रवृत्ति मानिसलाई हुन्छ । मानिसले चाहेजस्तै प्रकृति भइदिने होइन । प्रकृतिको आफ्नो नियम छ र मानिसले विभिन्न कारणले वा स्वार्थले प्रकृतिमाथि हस्तक्षेप बढाउँदै लगेको छ । मानिसको हस्तक्षेपले अन्ततः मानिसलाई नै हानि गर्दै लगेको छ । यसमा मौसममाथि आरोप थुपार्नु आफैले अज्ञानता प्रकट गरेको ठहरिन्छ । मानिसले आफैमाथि अन्याय गरेको ठहरिने भए पनि तत्काल फाइदा जेमा हुन्छ त्यसैलाई राम्रो मानिरहेका हुन्छन् । यसै कारणले कतिपय मानिसले समयलाई दोषी मान्दछन् । समयलाई दोषी मानेर आफूलाई असल साबित गर्नेहरु पनि नभएका होइनन् । मौसमको सबालमा पनि यही भन्दछन् र अझ बढी यदि भन्न थाल्छन् भने हरेक मौसमको भविष्यवाणी गर्न पनि पछि पर्दैनन् । मौसमको बारेमा कोही विज्ञ नभए पनि अर्थात् मौसमको म पनि नपढेको भए पनि आलोचना सुरु गर्दछन् ।

वास्तवमा मौसमको बारेमा ग्रामीण अनुमान चाहिँ अनुमान मात्र हुँदैनन्, धेरै हदसम्म वर्षोै वा शताब्दियौँसम्मको अध्ययन र अनुसन्धानले ल्याएको अनुमान हुन्छ । जसमा धेरै हदसम्म सत्यता पनि हुन्छ । जाडोको बारेमा गरिने सामान्य ग्रामीण अनुमान यो पनि हो कि यदि साउन र भदौमा बढी पानी पर्दछ भने अन्य वर्षको तुलनामा जाडो कम हुन्छ तर दोमासको सबालमा यो कुरो लागू नहुन पनि सक्छ । हो, दोमास भएको वर्षमा जाडो बढी हुने, वर्षा बढी हुने र गर्मी पनि बढी हुने सामान्य भनाइ रहेको छ । दोमासको महिनामा जाडो, गमी र वर्षा बढी भएन भने कम हुन्छ, यसको अर्थ यो पनि हो कि दोमासको वर्षको मौसम सामान्यभन्दा केही फरक हुन्छ । अहिले अति जाडोको समयमा सबैभन्दा कष्ठकर जीवन गरिबहरुको हुने गरेको छ । रौतहटको एक गाउँमा एउटा एनजिओले सिरक वितरण गर्दा दलित समुदायका एक जना वृद्धले भनेका थिए – म आफ्नो पचासी वर्षको उमेरमा पहिलोचोटि रुई हालेको सिरक ओढेर सुत्ने अवसर पाउँदैछु । आज राति पहिलोचोटि रुई हालेको सिरक ओढेर सुत्ने अवसर पाउनेछु । यस प्रकारका विपन्न समुदायको लागि जाडो कटाउने विधि नै परम्परागत हुने गरेको छ र सबैभन्दा कठिन समय किन यो मौसम हुन्छ भने अन्य मौसमलाई जसरी पनि सहँदा हुन्छ तर यस मौसमलाई छल्नको लागि कि त बाक्लो न्यानो कपडा चाहिन्छ कि त निरन्तर आगोको सम्पर्कमा रहनुपर्दछ । गरिबहरुको अगाडि आगोको विकल्प सजिलो हुन्छ ।

घासपात तथा पराल र अन्य दाउराहरुलाई संकलन गरी गरिब किसानहरुले बिहान र बेलुकी घुर तापेर जाडोलाई छल्ने काम गर्दछन् र अझ महिलाहरु त भने खाना पकाउने चुलोको न्यानोले नै आफ्नो जाडो छल्ने गर्दछन् । गाउँघरका बालबालिका, वृद्धवृद्धा तथा बिरामी र सुत्केरीलाई जाडोको समय बढी डर यसकारण पनि हुन्छ कि स्वासप्रस्वाससँग सम्बन्धित रोग बढी मात्रामा बल्झिने समस्या चिसो र जाडोसित सम्बन्धित हुन्छ । यस कारण गाउँघरमा अहिलेसम्म के मानिँदै आएको छ भने बालबालिका, वृद्धवृद्धा, बिरामी तथा सुत्केरी मानिसलाई बचाउन सकियो भने हरेक मौसमभन्दा कम बिरामी हुने मौसम नै जाडो हुन्छ । मानिस कम बिरामी हुने तर जाडोले बढी सताउने मौसम हो । जाडोले गर्दा धेरै काम प्रभावित भएको हुन्छ गरिब समुदायको जीवन । जाडोको कठिन दिनलाई सानो महसुस गराउन गाउँघरमा अहिले पनि पुसको दिन फुसफास । आएको र गएको पत्तै नहुने भनी केही हदसम्म मनोवैज्ञानिक सान्त्वना दिइएको पनि पाइन्छ । उसै पनि पुस महिना कहिल्यै पनि तिस दिनको नहुने भनिन्छ । पुसको दिनलाई के पनि मानिन्छ भने धेरै ढिलो उठ्ने र धेरै छिटो सुत्ने समय हो । सबैभन्दा बढी समय ओछ्याउनमा बिताउने महिना भनेको जाडो हो ।

जाडोको समयमा सर्वसाधारण साँझको समयमा धेरै ढिलो नगरीकनै ओछ् यानमा जान्छन् र बिहान अलिक ढिलो नै उठ्ने गर्दछन् । एक त दिन सबैभन्दा सानो र रात सबैभन्दा ठूलो हुने समय हुन्छ, त्यसमा पनि सर्वसाधारणले काम गर्ने मूल समय पनि कम भएको हुन्छ । स्वाभाविक नै हो अत्यधिक जाडोको समयमा मानिसको दिन चाहिँ सानो भएको पनि महसुस हुन्छ । फुसको दिन फुसफास भन्ने कारण यो पनि हो । अत्यधिक जाडोको उत्कर्षको दिन भनेर पुसको अन्तिम दिनलाई ग्रामीण लोकजीवनले स्वीकारेको पाइन्छ । पुसपछि विस्तारै जाडो कम हुँदै जाने र दिनको अवधि पनि बढ्दै जाने जनविश्वास रहेको छ । यस जनविश्वासको पछाडि यो मनोविज्ञान रहेको देखिन्छ कि अब पुसको दिन छिटै सकिँदैछ र माघको दिन आउँदैछ । माघको अन्तिमतिर त जाडो त्यसै पनि कम हुन थाल्दछ । हो, विपन्न समुदायले जाडोबाट आफूलाई बचाउन आफ्नै किसिमको मनोवैज्ञानिक व्यवस्था परम्परादेखि नै गरेको छ । मूलतः श्रम गरेर जीवन बिताउने विपन्न समुदायको लागि सबैभन्दा कठिन दिन जाडो भए पनि सबैभन्दा कम समय जाडो मौसमको हुने मनोविज्ञान यसै कारण बनाएको हुनुपर्छ ।

अत्यधिक जाडोले कठांग्रिएर कुनै दुर्घटना नहुञ्जेल सामान्यतया कसैको ध्यान जाँदैन । अहिले अत्यधिक जाडोको समयमा केही एनजिओहरुले अति विपन्न समुदायलाई सकारात्मक सहयोग गर्ने वातावरण पनि बनेको छ । यद्यपि यो सबै विपन्न समुदायको पहुँचमा रहेको पाइँदैन । जाडोबाट आफूलाई सुरक्षा गर्न सक्ने सामथ्र्य नभएका विपन्न समुदायलाई न्यानो कपडाको सहयोगको आवश्यकता पर्ने हुन्छ । अति विपन्न समुदायको सहयोगको लागि यस प्रकारका सहयोगी एनजिओ, आइएनजिओ, विभिन्न व्यक्ति तथा अन्य संस्था, स्थानीय सरकार, प्रदेश र संघ सरकार समेत अगाडि आउनु पर्ने हो । वास्तविक सहयोगापेक्षीलाई सहयोग गर्ने वातावरण बनाउन बौद्धिक समाजले पनि वातावरण मिलाउने किसिमको भूमिका खेल्नु पर्दछ । जाडोको कारणले कोही आफ्नो स्वाभाविक जीवनको पटरीबाट फरक किसिमको वा जीवनलाई नकारात्मक असर पार्ने किसिमको बाटोमा जान नपरोस् । जाडोबाट कोही नराम्ररी प्रभावित नहोओस् भन्ने भावना राखेर सहयोग गर्ने वातावरण पनि बनाउनु आवश्यक छ । वास्तवमा मानवताको दृष्टिकोणले पनि सहयोगी व्यक्ति तथा संस्थाहरु अगाडि आउनु पर्दछ । गरिबलाई सहयोग गर्नु पर्दछ ।

Comment


Related News

Latest News

Trending News