अपडेट 
२०७७ पुष २९, बुधबार १६:०१

भारतका विभिन्न राज्यमा बर्ड फ्लुको संक्रमण बढेसँगै पर्सा जिल्लामा उच्च सतर्कता अपनाइएको छ । १ सय ७ किलोमटिर खुल्ला सीमाना रहेको पर्सामा वैध तथा अवैध दुवै हिसाबले पन्छी र पन्छीजन्य पदार्थ भित्रिने गरेको छ । बर्ड फ्लु भित्रिन नदिन सीमा क्षेत्रमा विशेष सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । भारतबाट आउने पन्छी र पन्छीजन्य सबै वस्तु नेपाल ल्याउनमा निषेध गरिएको प्रमुख जिल्ला अधिकारी आस्मान तामाङले जानकारी दिए ।

बर्ड फ्लुका बारेमा सञ्चारमाध्यमबाट प्रचार प्रसार गरेर सचेतना फैलाउने निर्णय पनि सरोकारवालाको बैठकले गरेको छ । विशेष गरि सीमा क्षेत्रमा भारतबाट पन्छी तथा पन्छीजन्य बस्तुहरु ल्याएर बिक्री हुने गरेकोले कडाइका साथ अनुगमन गर्न निर्देशन दिइएको प्रजिअ तामाङले बताए । बर्ड फ्लु नियन्त्रण आदेश २०६४ अनुसार जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बर्ड फ्लु नियन्त्रण प्राविधिक समिति रहन्छ । पुस २६ गते आईतबार नै समितिको बैठक बसेर आवश्यक निर्णयहरु भइसकेको छ । वीरगञ्जस्थित पशु क्वारेन्टिन कार्यालयले पर्सा, बारा र रौतहट गरी तीन वटै जिल्ला हेर्ने गर्छ । कार्यालय अन्तर्गत वीरगञ्जको सिर्सिया, बाराको मटिअर्वा र रौतहटको अरैयामा चेक पोष्ट र बाराको पथलैयामा आन्तरिक चेक पोष्ट छ । सबै चेकपोष्टहरुलाई सतर्क रहन निर्देशन दिइसकेको कार्यालयले जनाएको छ ।

नेपालमा भन्दा सस्तोमा पाईने हुँदा व्यापारीहरुले ब्रोईलर कुखुरा, कुखुराको मासु, अन्डा लगायत भारतबाट ल्याएर बिक्री गर्ने गरेका छन् । भारतबाट कुखुरा, कुखुराको मासु, अण्डा ल्याउन रोक लगाउन र सेतो अन्डा भेटिने वित्तिकै नष्ट गर्न सुरक्षाकर्मीहरुलाई समेत निर्देशन गरिएको छ । भारतीय सिमावर्ती बजारहरुबाट साईकल तथा मोटरसाईकलमा राखेर अवैध रुपमा कुखुरा भित्र्याउने गरिन्छ । भारतका मध्य प्रदेश, केरला, हरियाणा, राजस्थान, हिमाञ्चल प्रदेश र झारखण्डमा बर्ड फ्लुका कारण कुखुरा तथा पुशपन्छी मरेको पुष्टि भइसकेको छ । बर्ड फ्लु देखिएका ती राज्यमा कुखुरा, हाँस र माछा पसल खोल्नमा प्रतिबन्ध लगाइएको छ ।

Comment


Related News

Latest News

Trending News