नेपालमा आगामी १४ गते बुधवार बिहान १० बजे कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले बुधवार बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत खोप अभियानको सुरुवात गर्ने जानकारी दिनुभयो ।
भर्चुअल कार्यक्रममा सातवटै प्रदेशका प्रदेश अस्पताल र काठमाण्डौ उपत्यकाका प्रमुख अस्पतालहरू जोडिने पनि मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । बुधवार ६६ वटा अस्पतालका एक सय २० भन्दा धेरै खोप केन्द्रबाट खोप लगाउन सुरु गरिने र माघ १८ गतेभित्र ७७ वटै जिल्लाका अस्पतालहरूबाट खोप लगाउन सुरु गरिने उहाँले जानकारी दिनुभयो । पहिलो चरणको खोप कार्यक्रममा झण्डै चार लाख ३० हजार मानिसलाई खोप लगाउने तयारी रहेको र यो काम १० दिनभित्र सक्ने मन्त्री त्रिपाठीले बताउनुभयो । लक्षित वर्गलाई मात्र खोप दिएको यकिन गर्न खोप लगाउनेहरूको सूची सार्वजनिक गर्ने र खोप खेर जाने दर कम गर्न सबै तयारी गरिएको मन्त्रालयले जनाएको छ ।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको कोरोनाविरुद्धको १० लाख डोज खोप सातवटै प्रदेशमा पठाउने काम भइरहेको र यो खोपकाे तेस्राे चरणको परीक्षण सफलतापूर्वक सम्पन्न भएकाले ढुक्क भएर लगाउन मन्त्री त्रिपाठीले सबैलाई आग्रह गर्नुभयो । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स तथा शववाहन चालक, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा काम गर्ने कर्मचारीलगायतलाई खाेप दिने मन्त्रालयले जनाएको छ ।