अपडेट 
२०७७ माघ १४, बुधबार ०७:५३

नेकपा ओली समूहले कडा सुरक्षाबीच मंगलबार सप्तरीको सदरमुकाम राजविराजमा शक्ति प्रदर्शन गरेको छ ।

संसद विघटन बिरुद्ध विपक्षीले सडक तताइरहेको बेला सत्तापक्षीय पार्टीले सचिवालय सदस्य एवं उपप्रधानमन्त्री इश्वर पोखरेलको उपस्थितिमा शक्ति प्रदर्शन गरेको हो । नेकपा सप्तरी (ओली समूह) द्वारा राजरंगशालामा आयोजित बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सचिवालय सदस्य एवं उपप्रधानमन्त्री पोखरेलले पार्टी फुटाउने प्रयास गरेका प्रचण्ड र माधव नेपालले प्रधानमन्त्री केपी शर्मा ओली माथि लगाएको निराधार आरोप फिर्ता लिई मिलेर निर्वाचनमा  जान तयार भए समस्याको निकास निस्किन सक्ने बताएका छन् । निर्वाचन आयोगले हालै गरेको निर्णयबाट पनि प्रथम अध्यक्ष केपी ओली, द्वितीय अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेल रहेको पार्टी नै आधिकारीक हुने उल्लेख रहेको भन्दै उनले बिरोधमा उत्रेका प्रचण्ड र माधव नेपाललाई यी दुई सर्त पुरा गर्दै एकताबद्ध भई अघि बढ्न समेत दिए । आफूहरुको पार्टीले नै चुनाव चिन्ह सूर्य छाप पाउने तथा निर्वाचनमा उम्मेदवारीका लागि केपी ओलीद्वारा हस्ताक्षरित पत्र नै आधिकारीक हुने दाबीका साथ उपप्रधानमन्त्री पोखरेलले भने, हाम्रो सल्लाह मान्नुहुन्न भने तपाईहरुको भविष्य पनि सुनिश्चित हुने छैन् ।

प्रतिनिधिसभाको गत निर्वाचनमा केपी ओलीको नाममा भोट मागेको र विकास तथा समृद्धिको प्रतिबद्धता गरेकोमा दुई वर्ष नपुग्दै प्रधानमन्त्रीलाई धक्का मारेर हटाउने षड्यन्त्रमा प्रचण्ड लागेको उनको आरोप थियो । उहाँहरु पार्टी फुटाउन लाग्नु भो, ओलीलाई निस्कासनको षड्यन्त्र थाल्नु भयो यस्तो अनैतिक र षड्यन्त्रपूर्ण काम हामी कदापी स्वीकार्न तयार छैनौं ।
 आफ्ना अभिव्यक्ति मैथिलीमा राख्दै उनले राजविराजमा वरिष्ठ गणतन्त्रवादी नेता स्व. रामराजा प्रसाद सिंहको नाममा स्थापना हुने रामराजा स्वास्थ्य विज्ञान प्रतिष्ठानको शिलान्यास प्रधानमन्त्री ओलीबाटै चाडै हुने जानकारी पनि दिए ।

यसैगरि राजविराज औद्योगिक क्षेत्रको स्तरोन्तरीका लागि पनि सरकारले तयारी गरिरहेको भन्दै उनले कोरोनाका कारण लामो समयदेखि बन्द रहेको नाकाहरु समेत छिट्टै सूचारु गर्ने मन्त्रीपरिषदले निर्णय समेत गरिसकेको जानकारी दिए । कार्यक्रममा शहरी विकास मन्त्री प्रभु साहले प्रचण्ड पद बिना एक मिनेट पनि बाँच्न नसक्ने स्वभावका रहेको भन्दै सत्ता र पदकै लागि पार्टी फुटाउने षड्यन्त्रमा लागेको आरोप लगाए । प्रचण्ड ३० वर्षदेखि नियमित पदमै बसेका छन्, उनले भने, अहिले पनि पद र सत्ताकै लागि पार्टीमा भाडभैलो मच्चाएका हुन् । १७ हजार मानिसको हत्या हुँदा समेत नपुगेर फेरी साकाहारी आन्दोलनले काम नचलेको भन्दै प्रचण्ड हिडेका छन् उनले भने, अब उनको मांसाहारी आन्दोलन जनताले पत्याउने बाला छैन् । नेकपा सप्तरी (ओली समूह) का संयोजक ताराकान्त चौधरीको अध्यक्षतामा आयोजित बृहत भेलालाई कानून मन्त्री लिलानाथ श्रेष्ठ, महिला तथा बालबालिका मन्त्री जुली महतो, राष्ट्रिय सभा सदस्य सुमनराज प्याकुरेल, प्रदेश २ का इन्चार्ज सत्यनारायण मण्डल, सचिवालय सदस्य रघुबीर महासेठ, केन्द्रिय सदस्य सुखराम यादव, रन्जु ठाकुर, ज्वाला साह लगायतले सम्बोधन गर्दै प्रधानमन्त्री ओलीको कदमको बचाउ गर्दै अगामी निर्वाचनमा दुई तिहाई बहुमत ल्याउने दाबी गरेका थिए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि नेकपामा प्रवेश गरेका दुई दर्जन नेता कार्यकर्तालाई प्रमुख अतिथि पोखरेलले फुलमाला अविर लगाएर स्वागत गरेका थिए ।

Comment


Related News

Latest News

Trending News